विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगरको पुरानो गुद्री मैदानमा निःशुल्क फ्यान जोन सञ्चालन गरिने भएको छ। प्रतियोगिताको उद्घाटन आज हुँदैछ भने उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुने भएका छन्। एक्सट्रीम इनर्जी ड्रिंकले कात्तिक ९ देखि मंसिर ५ गतेसम्म विराटनगरसहित देशका नौ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्न लागेको हो।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ५ बजे सुरु हुने तालिका छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सफलताको शुभकामना दिँदै नेपाली क्रिकेटको विकास र आयोजकको प्रयासको प्रशंसा गरेका छन्।
फ्यान जोनमा ठूला एलईडी स्क्रिनमार्फत एनपीएलका खेलको प्रत्यक्ष प्रसारण गरिनेछ। दर्शकले यी स्थानमा निःशुल्क प्रवेश गरी सामूहिक रूपमा खेल हेर्न र आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न पाउनेछन्। रंगशालासम्म पुग्न नसक्ने क्रिकेटप्रेमीलाई आफ्नै सहरमा खेलको उत्साह अनुभव गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
विराटनगरको पुरानो गुद्री मैदानबाहेक काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिवि क्रिकेट मैदानको गेट नम्बर २ अगाडिको मैदानमा पनि फ्यान जोन सञ्चालन हुनेछन्। त्यसैगरी धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसर र जनकपुरको बाह्रबिघा चौरमा समेत खेल हेर्ने व्यवस्था मिलाइनेछ।
कम्पनीका अनुसार फ्यान जोनमा खेलको प्रत्यक्ष प्रसारणसँगै सांगीतिक प्रस्तुति, विभिन्न खेलकुद गतिविधि र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछन्। दर्शकको सहभागिता बढाउन गिभअवे कार्यक्रममार्फत विभिन्न उपहारसमेत प्रदान गरिनेछ।
एनपीएललाई खेल प्रसारणमा मात्र सीमित नराखी संगीत, मनोरञ्जन र सामूहिक सहभागितासँग जोड्ने लक्ष्यसहित फ्यान जोन सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। यसबाट विभिन्न सहरका क्रिकेटप्रेमीले एकै ठाउँमा भेला भएर प्रतियोगिताको रोमाञ्च र उत्सव साटासाट गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।