भद्रपुर । झापाको चन्द्रगढीमा २१ वर्षीया लेखिका श्रेया पोखरेलद्वारा लिखित पहिलो अंग्रेजी उपन्यास विमोचन गरिएको छ। युवा उमेरमै साहित्यिक क्षेत्रमा प्रवेश गरी कृति प्रकाशन गर्न सफल भएकामा कार्यक्रममा वक्ताहरूले उनको प्रशंसा गर्दै आगामी साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरे ।
मेची बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख जीवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल प्रमुख अतिथि तथा सन्तोष पोखरेल विशेष अतिथि थिए ।
कार्यक्रममा लेखिका श्रेयाले आफ्नो पहिलो कृतिको लेखन अनुभव र सिर्जनात्मक यात्राबारे जानकारी गराएकी थिइन्। उपन्यासमाथि सोनु पुडासैनी र च्यवनमणि पोखरेलले समीक्षा प्रस्तुत गर्दै कृतिका विभिन्न पक्ष र साहित्यिक महत्त्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा गोविन्द कोइराला, सन्तोष कोइराला र नगरप्रमुख गणेश पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले श्रेयाको सिर्जनात्मक प्रयासको प्रशंसा गर्दै साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय रहन शुभकामना दिए।
भद्रपुर नगरपालिका–७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुभाष भट्टराईले गरेका थिए। लेखिकाका बुवा बसन्त पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए ।
सानै उमेरमा पहिलो कृति प्रकाशन गर्न सफल श्रेयाको प्रयासलाई सहभागीहरूले उल्लेखनीय उपलब्धिका रूपमा लिएका थिए ।