दमक । नेपालीहरूको महान् पर्व बडादसैँलाई लक्षित गर्दै दमक नगरपालिकाले आर्थिक रूपमा विपन्न, असहाय तथा न्यून आय भएका परिवारलाई जहाँ विपन्न त्यहाँ खाद्यान्न कार्यक्रम अन्तर्गत खाद्यान्न (चामल) वितरण गरेको छ । चाडपर्वका बेला आर्थिक अभावका कारण खाद्यान्नको जोहो गर्न कठिनाइ भोगिरहेका नागरिकलाई सहयोग पु¥याउने र सबैले हर्षोल्लासका साथ दसैँ मनाउन सकून् भन्ने उद्देश्यले नगरपालिकाले विभिन्न वडामा चामल वितरण गरेको जनाएको छ ।
दमक नगरपालिकाले दसैँजस्तो धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्वमा कुनै पनि परिवार खाद्यान्नको अभावमा पर्न नपरोस् भन्ने मानवीय उद्देश्यका साथ राहत वितरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । चाडपर्वका बेला खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खर्च बढ्ने हुँदा आर्थिक अवस्था कमजोर भएका परिवारलाई केही राहत मिल्ने अपेक्षासहित नगरपालिकाले उक्त कार्यक्रम अघि बढाएको हो ।
नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख केशव प्रसाईंका अनुसार वडा नं. १, ५, ६, ७ र ८ का लागि २५ केजीका ५५ बोरा चामल वितरण गरिएको छ । त्यसैगरी वडा नं. २, ३, ४, ९ र १० का लागि २५ केजीका ७५ बोरा चामल वितरण गरिएको उउनले जानकारी गराए । यसअनुसार नगरपालिकाले दसैँ लक्षित राहत कार्यक्रमअन्तर्गत जम्मा १३० बोरा अर्थात् ३ हजार २५० केजी चामल वितरण गरेको छ । नगरप्रमुख रामकुमार थापाले जनाए अनुसार १० वटै वडा र नमूना बस्ति गरेर करिब ८०० जना विपन्नलाई दशैंमा राहत दिने जानकारी समेत गराए ।
राहत वितरणले चाडपर्वका बेला आर्थिक कठिनाइमा रहेका परिवारलाई खाद्यान्नको व्यवस्थापन गर्न सहयोग पुग्ने नगरपालिकाको अपेक्षा रहेको नगरप्रमुख रामुकमार थापाले बताए । दसैँ सबै नेपालीले आ–आफ्नो परम्परा, संस्कृति र पारिवारिक रीतिरिवाजअनुसार मनाउने साझा पर्व भएकाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समेत पर्वको खुसीमा सहभागी गराउनु स्थानीय सरकारको सामाजिक दायित्व भएको उनको भनाई छ ।
थापाले दसैँ सबै नेपालीको साझा र महत्वपूर्ण पर्व भएकाले आर्थिक अभावका कारण कसैले पनि चाडपर्व मनाउनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको बताए । नगरप्रमुख थापाले
दमक…चाडपर्वको वास्तविक खुसी सबै समुदाय र वर्गका नागरिकले अनुभूत गर्न पाउनुमा रहेको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर परिवारप्रति समाज र स्थानीय सरकारले सहयोगी भावना राख्नुपर्नेमा जोड दिए ।
उनले भने, “दसैँ खुसी, सद्भाव, आपसी सहयोग र पारिवारिक मिलनको पर्व हो। आर्थिक अवस्था कमजोर भएका परिवारले पनि सम्मानपूर्वक दसैँ मनाउन सकून् भन्ने उद्देश्यले नगरपालिकाले आफ्नो तर्फबाट सहयोग गरेको हो। स्थानीय सरकार नागरिकको सुखदुःखमा साथमा रहनुपर्छ भन्ने मान्यताअनुसार आवश्यकतामा रहेका परिवारलाई राहत उपलब्ध गराइएको हो ।” स्थानीय सरकारको जिम्मेवारी सडक, भौतिक पूर्वाधार र विकास निर्माणमा मात्र सीमित नभई नागरिकको दैनिक जीवन, सामाजिक सुरक्षा र मानवीय आवश्यकतासँग पनि जोडिएको छ। त्यसैले आवश्यकता पहिचान गरी लक्षित वर्गसम्म सहयोग पु¥याउने कार्यलाई नगरपालिकाले महत्व दिएको बताए।
दसैँका बेला परिवारका सदस्य भेला हुने, मीठोमसिनो खाने, नयाँ लुगा लगाउने, टीका–जमरा ग्रहण गर्ने र आफन्तसँग खुसी साटासाट गर्ने परम्परा छ। तर आर्थिक रूपमा कमजोर परिवारका लागि यस्ता आधारभूत आवश्यकता पूरा गर्नु चुनौतीपूर्ण बन्न सक्छ। यस्तो अवस्थामा स्थानीय तहबाट उपलब्ध हुने खाद्यान्न सहयोगले दैनिक खर्चको भार कम गर्नुका साथै चाडपर्व मनाउने वातावरण सहज बनाउन मद्दत पु¥याउने अपेक्षा गरिएको उल्लेख गरे ।
दमक नगरपालिकाको यस पहलले विपन्न तथा असहाय नागरिकप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयासलाई प्रतिबिम्बित गरेको छ। चाडपर्वलाई सबैको साझा खुसी बनाउने उद्देश्यसहित सञ्चालन गरिएका यस्ता राहत कार्यक्रमलाई आगामी दिनमा पनि आवश्यकताका आधारमा निरन्तरता दिन सके आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका परिवारलाई थप सहयोग पुग्ने देखिन्छ।