कला/साहित्य/संस्कृति देश–समाज विचार/वहस स्थानीय

नवरात्रमा शक्तिपुजा र दुर्गा भवानीको आराधना

सनातन संस्कृतिमा प्राचीन काल देखि नै शिव र शक्तिको पूजा गर्ने प्रचलन रहैँदै आएको छ । वैदिक काल भन्दा पनि अगाडि नै लेखिएका कतिपय ग्रन्थहरू लगायत वेद, उपनिषद, पुराणहरू, रामायण तथा महाभारत जस्ता पवित्र ग्रन्थहरूमा पञ्चमहाभूत शक्तिको रूपमा यस भुमण्डलमा सम्व्याप्त देवी देवताहरूको लागि मन्त्र पाठ, पूजा, हवन र बलि चढाउने तथा देवी देवताहरूलाई खुसी पारेर सिद्धि प्राप्त गर्ने र देवीबाट वरदान र आशीर्वाद ग्रहण गर्ने परम्पराहरू अखण्ड भारतवर्षका सबै जसो मुलुकहरूमा हिन्दू धर्मावलम्बीहरूको दैनिकी र जीवन दर्शनमा एउटा अनिवार्य र विशिष्ट धार्मिक कृत्यको रूपमा हुने गर्दछ ।
नवरात्राभरि नै विश्वभरि छरिएर रहेको देवीदेवताहरूका प्रसिद्ध मन्दिर तथा शक्ति पीठहरूमा श्रद्धालु भक्तजनहरुबाट मन्त्र उच्चारपूर्वक देव देवीहरूको आराधना र पूजा अर्चना गर्ने गरिन्छ । जसरी संसारको सृष्टि कर्ता पालनपोषण कर्ता र संहार कर्ताको ठाउँमा ब्रह्मा विष्णु र महेशको अपरिहार्य भूमिका रहेको छ, त्यसरी नै संसारको निर्माण संरक्षण र विनाशमा ब्रह्मा विष्णु र शिवकी अर्धांगिनी ब्रह्माणी रुद्राणी र वैष्णवी देवीको अग्रगामी र अपरिहार्य भूमिका रहने गरेको छ ।
ब्रह्मा र सरस्वतीको संयुक्त प्रयासमा संसारको निर्माण हुन्छ । भगवान विष्णु र लक्ष्मीको सहकार्यमा सृष्टिका सम्पूर्ण जडचेतन प्राणीहरूको पालनपोषण र संरक्षण हुन्छ तथा दैवी चक्रको विधानअनुसार संसारको सृष्टि चक्रमा असन्तुलन उत्पन्न भएपछि भगवान शिव र आदि शक्ति दुर्गा भवानीको संयुक्त प्रयासमा संसारको महाविनाश प्रारम्भ हुन्छ। कालक्रमले पुनः संसारको निर्माण हुन्छ । युगौँ युगौँ देखि यसरी नै संसारमा सृष्टिक्रम स्थापित हुने र संसारको प्रलय भएपछि सृष्टि क्रमको विसर्जन हुने प्रक्रिया निरन्तर चलिरहेको छ । महाकाल शिव र महाकाली दुर्गा तारा भवानीको समष्टि रूप नै अर्ध नारीश्वर रूपमा ईश्वरीय शक्तिको रूपमा यस संसारमा दृश्य र अदृश्य रुपमा विराजमान हुनुहुन्छ । संसारमा सृष्टिको प्रारम्भकालदेखि नै संसारलाई कसरी चलाउने भन्ने सम्बन्धमा विभिन्न किसिमका मूल्य मान्यता र परम्परा हरू रहँदै आएको छ । तथा ती मूल्य मान्यता र परम्पराहरू बीच परस्पर संघर्ष र युद्धको अवस्था पनि मानव समाजले भोग्दै आइरहेको छ । एउटै ऋषिका सन्तानबाट जन्मिएका देवता तथा दानवहरूले दुई किसिमको संस्कार धारण गरेपछि संसारमा देव संस्कृति र असुर संस्कृतिको विकास भएको पाइन्छ । देव संस्कृति अनुसार धार्मिक मूल्य मान्यता परम्परा रीतिथिति र संस्कार अनुसारका सामाजिक कार्यहरू गर्ने तथा धार्मिक कर्मकाण्डहरू लाई पूर्णता दिने विधान रहेको छ भने आसुरी संस्कृति अनुसार धार्मिक मूल्य मान्यता परम्परा रीतिरिवाज र संस्कार लाई विरोध गर्ने तथा सामाजिक आचार विचार समेत नमान्ने र बल पूर्वक भएपनि आसुरी तन्त्र खडा गर्ने अवस्थालाई पनि ठुलठुला महाबली राक्षस राजहरूले निरन्तरता दिँदै आएको हुनाले संसारमा अशान्ति र हिंसाको वातावरण पटकपटक सिर्जना हुँदै गएको देखिन्छ । असुरहरूले धर्मलाई हानि पु¥याउने र अधर्मलाई बढावा दिइरहने हुनाले त्यस्तो पापपूर्ण र अधार्मिक कार्यहरूलाई देवताहरूले आफ्नै बलबुतोमा रोक्न नसकेपछि देवताहरूको आह्वानमा भगवती दुर्गाको प्राकट्य हुने समय र अवस्थालाई नै नवरात्र भनेर बुझ्ने गरिन्छ ।
भगवान विष्णु क्षीर समुद्रमा कमल फुलको आसनमा निदाइरहेको अवस्थामा भगवान विष्णुको कानबाट निस्केका सुम्भ र निशुम्भ नाम गरेका महाबलशाली दैत्यहरूले पाँच हजार वर्षसम्म भगवान विष्णुसँग बाहुयुद्ध गरेका थिए । कालान्तरमा जब सबै देवताहरू मिलेर पनि दानवहरूसँग युद्धमा पराजित भएपछि उनीहरूले आदि भवानी दुर्गालाई संसारको रक्षाको लागि अगाडि आउन र धर्मको स्थापना गर्न सहयोगको लागि प्रार्थना गरेपछि भगवती दुर्गाको प्रादुर्भाव हुन गएको देखिन्छ । भगवती दुर्गा असुरहरूको विनाश गर्न सक्षम हुनुहुन्छ । कुनै पनि किसिमको आसुरी शक्तिको विनाश गरी संसारमा धर्मको स्थापना र शान्तिको स्थापना गर्नको लागि तत्पर हुनुहुन्छ, । त्यसकारणले संसारका सबै प्राणीहरूले आफ्नो आत्मकल्याणको लागि र संसारको संरक्षणको लागि भगवती दुर्गाको आराधना भक्ति भावपूर्वक गरिरहेको पाइन्छ ।
भगवती महामायाको कृपाले आस्तिक र धार्मिक व्यक्तिहरूको त के कुरा नास्तिक तथा दुराचारीहरूले समेत पुण्यको प्राप्ति गर्न सक्दछन् र अर्थ धर्म काम र मोक्षको प्राप्ति गर्न सक्दछन् । सबै जातजाति र धर्मका मानिसहरूले दुर्गा भवानीको पूजा गर्न सक्दछन। मानिसको जीवनमा कुनै पनि कार्य गर्नको लागि शक्ति बलको आवश्यकता हुने गर्दछ । शक्ति बिना मानिसहरूले केही पनि गर्न सक्दैनन् । शक्तिबिना शिव पनि शव समान हुन्छन् । त्यसकारणले मानिसको जीवनमा विद्या, बल, बुद्धि, धनसम्पत्ति, शान्ति, आरोग्यता र प्रतिष्ठा प्राप्त गर्नको लागि दुर्गा भवानीको चरणमा शिर निहुर्याउनु र अविचल भक्तिभावले क्षमायाचना सहित महाकाली सँग वरदान प्राप्त गरी मोक्ष प्राप्तिको लागि कठिनभन्दा कठिन तपस्या तथा मानवीय सेवाभाव र कार्य गरी आफ्नो जीवनको उद्देश्य लाई पूरा गर्न सक्नुपर्दछ ।
नवरात्राको नौ दिनमा पहिलो दिनमा देवीको शैलपुत्री भगवतीको रुपमा पूजा गरिन्छ। दोस्रो दिनमा देवीको ब्रह्मचारिणी स्वरूपमा आराधना गरिन्छ तेस्रो दिनमा माता चन्द्रघण्टाको रुपमा तथा चौथो दिनमा कुस्माण्डा देवीको रूपमा पूजा गरिन्छ । नवरात्रको पाँचौं दिनमा देवीको स्कन्द माता स्वरूपको पूजा गरिन्छ तथा नवरात्रको छैठौ दिनमा माता कात्यायनी देवीको रूपमा असीम श्रद्धा र विश्वासका साथ भक्तिभावले पूजा गर्ने गरिन्छ । नवरात्रको सातौं दिन देवीको महाकाली स्वरूप कालरात्री को रुपमा पूजा गरिन्छ तथा नवरात्रको आठौं दिनमा माता भगवतीको महागौरी रुपमा विशेष पूजा गर्ने गरिन्छ ।नवरात्रको नवौं दिनमा भगवती दुर्गा सिद्धिदात्री देवीको पूजा हुन्छ । यी नौ दिनमा नौवटा देवीको स्वरूपको पूजा हुन्छ । तर वास्तवमा अखिल ब्रह्माण्डमा व्याप्त देवीका यी नौवटै स्वरूपहरु तथा अन्य अनेकौं योगिनी स्वरूपहरू देवीको मायाबाट सिर्जित शक्तिहरु हुन् र अखण्ड रुपमा माता दुर्गा भवानी एकल स्वरूपमा नै विराजमान रहिरहनु भएको छ ।
देवीको यी नौवटै स्वरूपको नौ दिनसम्म पूजा घरमा जमरा अर्थात् जयन्ती राखेर नित्य श्रद्धाभक्ति र विश्वासपूर्वक देवीको आराधना गरेमा भगवती दुर्गाले सबै किसिमका आपतविपत तथा संकटबाट भक्तजनहरूलाई मुक्त पार्ने तथा तथा जीवनमा सुख समृद्धि सुस्वास्थ्य तथा हर्ष र आनन्द पूर्वक जीवन बिताउने आशिर्वचन र वरदान प्रदान गर्नुहुन्छ ।
देवी पूजाको नवरात्रको समापन भएपछि दशौँ दिनमा भगवती दुर्गा भवानीको प्रसादको रुपमा जमरा टीका ग्रहण गरेपछि दुर्गा पूजाको अनुष्ठान पूर्ण भएको मानिन्छ। भगवती दुर्गाको शरणमा गएपछि कुनै पनि किसिमको अमङ्गल हुँदैन । संकटमा परेका मानिसहरू माथि पनि कुनै विपत्ति आउन सक्दैन । आगोमा जलिरहेको मानिसको प्राण रक्षा पनि भगवती दुर्गा भवानीको कृपाले सम्भव हुन्छ ।
युद्ध क्षेत्रमा चारैतिरबाट शत्रुहरूबाट घेरिएको अवस्थामा पनि भगवती महाकालीको कृपाले शत्रुहरू माथि विजय प्राप्त गर्न सकिन्छ । यसकारणले मानिसको जीवनमा शक्ति पूजाको ठूलो महत्व रहेको छ । भगवती दुर्गाको स्मरण र चिन्तन गर्ने व्यक्तिहरूको अभ्युदय हुन्छ तथा मानिसहरूलाई शोक दुःख र भय को प्राप्ति हुँदैन । अथर्ववेदमा श्री देव्यथर्वशीर्षममा देवताहरूले सोधेको प्रश्नमा महादेवी दुर्गा भवानीले यसरी भन्नुभएको छ – म ब्रह्म स्वरूप छु ।
सम्पूर्ण दृश्य र अदृश्य प्रकृति र पुरुषरूपमा रहेको संसारको उत्पत्ति मबाटै भएको छ । म आनन्द र अनानन्द स्वरूपको छु । मै विज्ञान र अविज्ञान रुपमा रहेकी छु । पञ्चीकृत र अपञ्चीकृत महाभूत म भित्रै अन्तर्निहित छ । यो सारा दृश्य र अदृश्य जगत भनेको म नै हुँ । वेद र अवेद भनेको मै हुँ । विद्या र अविद्या पनि मै छु । ब्रह्मा विष्णुलाई पनि मैले नै आफूभित्र धारण गरेकी छु । म नै सम्पूर्ण जगतकी परमेश्वरी छु । मबाट नै आकाश इत्यादिको उत्पत्ति भएको छ । यसरी देवी दुर्गा भवानी परमात्माकी शक्ति रुपिणी देवी हुन् । यी देवी नै विश्वमोहिनी देवीका स्वरूप हुन् र माता जगदम्बाको रूपमा पुजित हुनुहुन्छ ।
या देवी सर्वभूतेसु शक्ति रूपेण संस्थिता ः
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः

Author

You may also like