
दमक / देशभरिका ५ सय ४२ सामुदायिक क्याम्पसमध्ये दमक बहुमुखी क्याम्पस पाँचौँ स्थानमा रहेको दाबी गर्दै क्याम्पसलाई विज्ञानको हबका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ । मंगलबार आयोजित क्याम्पसको १५औँ सभामा क्याम्पस प्रमुख यज्ञराज गिरीले करिब डेढ करोड रुपैयाँका विज्ञानसम्बन्धी सामग्री रहेको जानकारी दिँदै क्याम्पसले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए ।
गिरीका अनुसार विभिन्न पदमा रहेर काम गर्ने पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा अन्य सरोकारवालाको योगदानले क्याम्पसले वर्तमान अवस्था हासिल गरेको हो । दमक क्याम्पसको नाम देशभर परिचित हुँदै गएको उल्लेख गर्दै उनले क्याम्पसबाट हालसम्म तीन दर्जनभन्दा बढी पीएचडी उपाधि प्राप्त गरेका जनशक्ति उत्पादन भएको बताए ।

कार्यक्रममा समयसापेक्ष ऐन, कानुनहरु परिमार्जन हुन नसक्दा र बन्न नसक्दा परिणाम शिक्षा र आर्थिक क्षेत्रले व्यहोरिरहेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले बताए । उनले शुभकामना मन्तव्य दिँदै अबको शिक्षा रोजगार र शीपसँग जोडिएर आउनुपर्ने बताए । बजारले कस्तो कामदार खोजेको छ भन्ने अध्ययन गरेर सोही अनुसारको पठनपाठन हुन आवश्यक रहेको औंल्याए । अब पुस्तौली पेशाले नहुने भन्दै प्रविधिको जमानामा सोही अनुसारको शिक्षा शिकाई र नीति नियम हुन आवश्यक रहेको बताए ।

सो कार्यक्रममा विभिन्न संकायका टपर विद्यार्थीहरु विभिन्न सेमेष्टरबाट सम्मानित भएका थिए । कार्यक्रममा पिएचडी होल्डर प्राध्यापक डाक्टरहरु नेत्र बहादुर बुढाथोकी, व्यञ्जना शर्मा, अरुणकुमार श्रेष्ठ, नविनकुमार गुरुङ र भूमिप्रसाद दाहाललाई सम्मान गरिएको थियो । यसैगरी क्याम्पसका सुरक्षाकर्मी कर्मचारी खड्ग बहादुर सार्कीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियो । यसकासाथै क्याम्पसले गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका लागि स्थापित विभिन्न कोषका दाताहरु, जग्गा उपलब्ध गराउने दाताहरुसमेतलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा अध्यक्षको प्रगति प्रतिवेदन, शैक्षिक एवम् आर्थिक प्रतिवेदन र लेखा
समितिको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । सो प्रतिवेदनका अनुसार प्राध्यापकहरुमा ५ जना पिएचडी र ३ जना एमफिल गरिसकेका छन भने ८ जना प्राध्यापकहरु पिएचडी र ५ जनाले एमफिल गर्दै गरेको अवस्था देखाइएको छ ।
दमक बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या एक वर्षमा २८० ले बढेको प्रतिवेदनमा उल्लेख छ । क्याम्पसको पन्ूौँ क्याम्पससभामा प्रस्तुत शैक्षिक तथा आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ४ हजार १६१ विद्यार्थी रहेकामा २०८२/०८३ मा यो संख्या बढेर ४ हजार ४४१ पुगेको हो । यो अघिल्लो वर्षको तुलनामा ६.७३ प्रतिशत वृद्धि हो ।
क्याम्पसले आगामी शैक्षिक सत्र २०८३/०८४ मा भने विद्यार्थी संख्या ४ हजार ३०० रहने अनुमान गरेको छ । यो चालु शैक्षिक सत्रको तुलनामा १४१ अर्थात् करिब ३.१८ प्रतिशत कम हो । प्रतिवेदनअनुसार विद्यार्थी संख्या बढे पनि शैक्षिक नतिजामा अपेक्षित सुधार गर्नु क्याम्पसको प्रमुख चुनौतीका रूपमा रहेको छ ।
विद्यार्थी संख्याको विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा वार्षिक प्रणालीतर्फ २ हजार ४८५, सेमेस्टर प्रणालीतर्फ ९२८ र कक्षा ११ तथा १२ मा ७४८ विद्यार्थी थिए । २०८२/०८३ मा वार्षिक प्रणालीतर्फ २ हजार ७९७, सेमेस्टर प्रणालीतर्फ ९६४ र कक्षा ११ तथा १२ मा ६८० विद्यार्थी रहेको प्रतिवेदनमा उल्लेख छ । आगामी वर्ष वार्षिक प्रणालीतर्फ २ हजार ७५०, सेमेस्टर प्रणालीतर्फ ७५५ र कक्षा ११ तथा १२ मा ७९५ विद्यार्थी रहने अनुमान गरिएको छ ।
२०३८ सालमा ४४० विद्यार्थीबाट सुरु भएको क्याम्पसमा हाल व्यवस्थापन, मानविकी, शिक्षा र विज्ञान संकायअन्तर्गत विभिन्न तहका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । प्रतिवेदनअनुसार क्याम्पसबाट हालसम्म २३ हजार ५०० भन्दा बढी विद्यार्थीले विभिन्न तहको अध्ययन पूरा गरिसकेका छन् ।
विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न क्याम्पसले छात्रवृत्ति तथा सहुलियतका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा लक्षित समुदायका विद्यार्थीलाई ५१ लाख २४ हजार ४०० रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । गरिब, जेहेन्दार, दलित, जनजाति तथा अवसरबाट वञ्चित विद्यार्थीलाई सहुलियत उपलब्ध गराउने नीति पनि क्याम्पसले अवलम्बन गरेको छ ।
भौतिक पूर्वाधारतर्फ विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा करिब आठ करोड रुपैयाँ बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । कक्षाकोठामा एसी, स्मार्ट बोर्ड तथा टेलिभिजन जडान, प्रयोगशाला सुधार, फर्निचर व्यवस्थापन र ई(लाइब्रेरी विस्तारलाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारको तीन करोड रुपैयाँ अनुदान सहयोगमा सुविधासम्पन्न पुस्तकालय भवन निर्माणको कामसमेत भइरहेको छ ।
अनुसन्धानतर्फ गत शैक्षिक सत्रमा १९ वटा लघु अनुसन्धान सम्पन्न भएका छन् भने क्याम्पसले नियमित रूपमा प्रकाशन गर्दै आएको जर्नलका १४ अंक प्रकाशित भइसकेका छन् । आगामी दिनमा क्याम्पसलाई शैक्षिक परामर्श तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
विद्यार्थी संख्या, पूर्वाधार र अनुसन्धानका क्षेत्रमा प्रगति देखिए पनि उत्तीर्ण प्रतिशत र प्राप्तांक बढाउने, आर्थिक अवस्था सुदृढ गर्ने, प्राध्यापक तथा कर्मचारीलाई समयानुकूल पारिश्रमिक उपलब्ध गराउने र विद्यार्थीका लागि छात्रावास निर्माण गर्ने चुनौती बाँकी छन् । त्यसैले विद्यार्थी सङ्ख्या बढाउनुसँगै शिक्षणको गुणस्तर र नतिजा सुधारमा जोड दिनुपर्ने देखिन्छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा दमक नगरप्रमुख रामकुमार थापाले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । क्याम्पसको सभाहलमा आयोजित सो कार्यक्रममा संविधान सभा सदस्य महेन्द्रा कुमारी सुब्बा, पूर्व तथा वर्तमान कोशी प्रदेशका सभा सदस्यहरु, क्याम्पसका पूर्वअध्यक्षहरु, पूर्व क्याम्पस प्रमुखहरु, स्वतन्त्र विद्यार्थी युनियन, कर्मचारी संघ, कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधी, जनप्रतिनिधि, विद्यार्थीलगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।