देश–समाज मुख्य राजनीति समाचार स्थानीय

राप्रपा कोशी प्रदेशको दोस्रो अधिवेशन : नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको दोस्रो अधिवेशन आज दमकमा हुँदैछ । अधिवेशनमा प्रदेशका १४ वटै जिल्लाबाट करिब ७ सय प्रतिनिधि सहभागी हुँदैछन् । अधिवेशनले प्रदेश अध्यक्षसहित नयाँ कार्यसमिति चयन गर्नेछ ।
प्रदेश अध्यक्ष रामकुमार थापाका अनुसार अधिवेशनमा सहभागी हुन प्रतिनिधिहरू मंगलबारदेखि नै आउने क्रम सुरु भएको छ । बुधबार दिउँसो १२ बजेसम्म सबै जिल्लाबाट प्रतिनिधि कार्यक्रमस्थल कस्मिक पार्टी प्यालेस दमकमा आइपुग्ने उनले बताए ।
अधिवेशनमा जिल्ला, प्रदेश, निर्वाचन क्षेत्र तथा गाउँ-नगर तहबाट प्रतिनिधि सहभागी हुनेछन् । जिल्लाबाट अध्यक्षसहित आठ जना, प्रदेशबाट अध्यक्षसहित पाँच जना र क्षेत्रीय समितिबाट अध्यक्षसहित छ जना प्रतिनिधि रहने व्यवस्था गरिएको थापाले जानकारी दिए । गाउँ तथा नगर तहका पदाधिकारी तथा प्रतिनिधिसमेत सहभागी हुनेछन् ।
प्रदेश कार्यसमिति चयनका क्रममा सर्वसम्मतिको प्रयास गरिने राप्रपा कोशी प्रदेश समितिले जनाएको छ । थापाका अनुसार निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले २९ जना चयन गर्ने तयारी छ । झापा, मोरङ, सुनसरी र उदयपुरबाट एक–एक जना महिलासहित ३३ जनालाई सर्वसम्मत चयन गर्ने प्रयास हुनेछ । सर्वसम्मति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ ।
अधिवेशनको उ्घाटन सत्र दिउँसो २ बजेसम्म सक्ने तयारी छ । त्यसपछि २ देखि ३ बजेसम्म निर्वाचनसम्बन्धी प्रक्रिया पूरा गरिने र ४ बजेपछि मतदान तथा मतगणना गर्ने कार्यतालिका बनाइएको थापाले बताए । प्रदेश अध्यक्षसहित कार्यसमितिका लागि निर्वाचन हुने भएकाले सर्वसम्मति नभएको अवस्थामा मतदानबाट नेतृत्व चयन हुनेछ । मतदान दमक अर्गानिक सब्जी बजारको भवनमा हुने भएको छ ।
राप्रपाको केन्द्रीय निर्वाचन समितिले कोशी प्रदेश अधिवेशनका लागि भरत पाठकलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकेको छ । पार्टीले सातै प्रदेशको अधिवेशन आजै गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्नेछ ।
राप्रपाले जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाएको हो । पार्टीका अनुसार ७२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ तथा अधिवेशन गर्न बाँकी रहेका जुम्ला र धनकुटालाई असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्न समय दिइएको थियो ।
राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । प्रदेश अधिवेशनबाट निर्वाचित नेतृत्व र छनोट हुने प्रतिनिधिका आधारमा त्यसपछि केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाइनेछ ।
कोशी प्रदेश अध्यक्ष थापाले अधिवेशनको खुला सत्रमा जिल्ला सभापति, प्रदेश तथा क्षेत्रीय पदाधिकारी, गाउँ–नगरका पदाधिकारी तथा प्रतिनिधि, पार्टीका शुभेच्छुक, शुभचिन्तक र सञ्चारकर्मीलाई उपस्थित हुन आग्रह गरेका छन् ।

Author

You may also like