दमक, साताको प्रत्येक बुधबार दमक–७ को पशुहाटमा पशुचौपायाको ठूलो भीडभाड लाग्ने गर्दथ्यो । एक हजार बढीको सङ्ख्यामा पशुपालकहरुले पशुचौपाया बिक्री गर्न ल्याउने गर्दथे । पशुचौपाया बिक्री र खरिद गर्ने मानिसहरुको पनि उल्लेखनीय उपस्थितिहुने गर्दथ्यो ।
तर, बुधबार भने सो पशुबजार सुनसानजस्तै थियो । बजारमा करिब २ सयको संख्यामा मात्र पशुचौपाया ल्याइएका थिए । यसबाट नेपालकै ठूलो भनिएको दमकको पशुबजार एकाएक खस्किएको देखिन थालेको छ । ‘यस्तो भएको करिब दुई महिनाजति भयो, झन् अहिले आएर त पशुबजार खस्किएको छ,’दमक–१ बाट बजारमा आएर पशु व्यापार गर्ने गरेका काशीनाथ खनालले भने,‘भारतका नाकामा पशु लैजानमा कडाइ गरेकाले पनि यस्तो भएको हो ।’
दमककाे पशुहाबजार क्षेत्रमा पाल टाँगेर पशु चाैपायाकाे कर उठाइदै ।
अहिले पशुव्यापारका लागि अफ सिजन भएकाले पनि यस्तो भएको व्यापारीहरुको बुझाइ छ । भारततर्फ पशुचौपायानिकासी गर्दै आएका जमालले पनि भारतको पशु बजारमा मन्दी आएकाले यहाँ पनि पशुचौपायाको व्यापार घटेको बताए। ‘भारतमा अहिले बजार ठप्प छ । अर्कातर्फ झन् अहिले देखापरेको कोरोना भाइरसको सङ्क्रमणपछि त झन् व्यापार चौपट छ,’ पशु व्यापारी जमालले भने, ‘भारतमा
यतिबेला बन्द हड्ताल पनि छ । यी सबैको असर दमकको पशुबजारमा परेको छ ।’
दमकका पशुबजार खासगरी कात्तिकदेखि माघसम्म बढी जम्ने गर्दछ । बाँकी महिनामा व्यापार खस्किने नै गरेको पशु व्यापारीहरु बताउँछन्। अर्कातर्फ यतिबेला पशुचौपाया बजार ल्याउन र घर लैजान पनि समस्या छ । ट्राफिक प्रहरीले पनि पशुचौपाया चढाएको गाडीलाई आवागमनमा कडाइ गर्न थालेको व्यापारीहरुको गुनासो छ ।
नगरपालिकाले सम्झौता पालन गरेनः ठेकदार
दमकको पशुबजार अहिले लथालिङ्ग अवस्थामा पुगेको सो बजारमा पशुचौपायाको ठेक्का लिएको नितु कन्स्ट्रक्सनले जनाएकोछ । ठेकेदारमध्येका एक सनम खड्गीले दमक नगरपालिकाले आफूहरुसँग गरेको सम्झौताअनुसारको कुनै पनि सुविधा नदिएको बताए । पशु बजारमा न अहिले खानेपानीको व्यवस्था छ, न त शौचालयकोनै । पशुपालक किसान पनि पशुबजार आउँदा यो समस्याबाट वाक्कदिक्क हुने गरेका छन् ।
नगरपालिकाले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको आधुनिक पशुहाटमा पशुबजार सार्ने भने पनि अहिलेसम्म सो काम हुन नसकेको ठेकेदार खड्गीले जानकारी गराए। ‘हामी ठेकदारलाई बस्ने एउटा कोठा सम्म पनि छैन,’ उनले भने,‘हामी एउटा पालमा बसेर पशुचौपायाको कर उठाइरहेका छौँ। यसरी कहिलेसम्म बस्ने ?’
नितु कन्स्ट्रक्सनले नगरपालिकालाई बुझाउनुपर्ने ठेक्काको रकम १ करोड ६५ लाख ५१ हजार रmपैयाँ भने गएको साउनमै बुझाइसकेको छ । तर, सम्झौतामा साउनदेखि नै पशुबजार सुविधासम्पन्न पशुहाटमा सारिने भनिएको छ । खानेपानी, शौचालय र विश्रामस्थलको सुविधा दिइने भनेको थियो । तर, अहिलेसम्म पनियो व्यवस्था नहुँदा त्यसको असर पशु व्यापारमा समेत परेको उनले गुनासो गरे ।
यस सम्बन्धमा बुझ्न दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौडेललाई सम्पर्क गर्दा उनले पुरानो पशुबजारलाई चाँडै नै नयाँपशु बजारमा सारिने बताए । उनका अनुसार पशुबजारको मैदानमा वर्षाको समयमा पानी जम्मा हुने भएकाले सो ठाउँ पुरेपछि त्यसलगत्तै पशु बजार सारिनेछ ।