देश–समाज विचार/वहस स्थानीय

नेपालको अर्थ राजनीति र प्राकृतिक संसाधनहरूको दोहन

नेपालको अर्थ राजनीति र प्रकृतिप्रदत्त संसाधनमाथि समय समयमा ठूलो बज्रपात हुँदै गरेको कुरा कसैको सामु लुकेको छैन । प्राकृतिक संकटको विभिषिकाले नेपालको राजधानी काठमाडौँ लाई जोड्ने हिमाल पहाड र तराईका सबै सबैजसो क्षेत्रहरूमा बेलाबेलामा प्राकृतिक आपदा निम्त्याउने गरेको छ र देशको विद्यमान संसाधनहरूको सदुपयोग गर्दै जाने निहुमा प्राकृतिक संसाधनहरूको अकल्पनीय दोहन पनि गर्दै लगेको यथार्थ हामी समक्ष छर्लङ्ग छ । आज देशका सिमसार क्षेत्रहरू साँघुरिँदै छन् । सिमसार भित्र परापूर्वकालदेखि रहेका जैविक विविधताहरू सखाप र सर्वनाश हुँदैछन् । बाढी नियन्त्रण र नदी नियन्त्रण गर्ने निहुमा नदीका फराकिला जल बहाव र जलाधार क्षेत्रहरू घटाइँदैछ र नदीका मुहानहरू समेत थुनिँदै गइरहेको अवस्थालाई सरकारले आफै आत्मसात गरिरहेको अवस्था छ । देशका ठूलठूला नदीहरूमा पहाडी क्षेत्रबाट हुँदै तराई क्षेत्रमा बग्ने अविरल जलधारहरूले बेलाबेलामा ठूलो संकट र चुनौती पनि थपिँदै लगिरहेको छ ।
भर्खरै नेपालका प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्दा नेपालमा हालसालै भएको जलप्रलय र त्यस बाट भएको क्षतिबारे संसारलाई जानकारी गराइरहँदा सर्वसाधारण नेपाली नागरिकहरूले समेत उनले बोलेका कुराहरूमा गहिरो चासो राखेर त्यसको बारेमा व्यक्त गरेका अभिमतहरु समेत संचार माध्यमहरुमा आइरहेको छ । विश्वका वातावरण वैज्ञानिकहरूले नेपालका हिमाली क्षेत्रहरूलाई भविष्यमा प्राकृतिक संकटहरूले छताछुल्ल पार्ने र ठूलो संकट निम्त्याउने भविष्यवाणीहरू पटकपटक गर्दै आइरहेको छ तर हामी नेपाली नागरिकहरु अझै पनि त्यसप्रति पूर्णरुपमा संवेदनशील बन्न सकिरहेका छैनौं ।
नेपाली नागरिकहरूले आफ्नै अग्रसरतामा नदी किनारहरूमा र नदीका तटबन्धहरूमा बाक्लो बस्ती बसाएर बस्ने प्रक्रियालाई अझ दिनप्रतिदिन बढाउँदै लगिरहेका छन् । भूमिहीन र सुकुम्बासी नागरिकहरूलाई उपलब्ध गराउने सुविधाहरूलाई विस्तार गर्न सरकारले आफै पनि देशको लागि बहुउपयोगी हुने सरकारी जग्गाहरू क्षणिक राजनीतिक स्वार्थको लोभमा परेर व्यक्तिहरुलाई सुम्पिदै जाने अभियानलाई रोक्न सकेका छैनन् ।
गिरिजाप्रसाद कोइराला देखि लिएर शेरबहादुर देउवासम्म र माधवकुमार नेपालदेखि लिएर केपी ओलीसम्मका सरकारहरूले अङ्गीकार गरेको जल जंगल र जमिनलाई टुक्रा टुक्रा पार्दै राजनीतिक स्वार्थ र राजनीतिक अभिष्ट पुरा गर्ने कार्य योजनाहरू अहिलेसम्म पनि सक्रिय नै राखेको हुनाले यसको बारेमा पुनर्विचार गर्नु जरुरी छ । पहाडका चट्टानहरूलाई फुटाउँदै राजमार्गहरू र सडक सुविधाहरू विस्तार गर्दै जाने योजनाहरूमा सरकारले आफै पनि बजेटहरू निकासा गरिरहँदासम्म पहाडी क्षेत्रहरूमा चट्टानहरू फुट्दै टुट्दै पहिरो जाने र मानव बस्तीहरू तथा खेतीयोग्य जमिनहरू भासिँदै जाने तथा देशको अमूल्य सम्पदा मानिने देशको उर्वर माटो बगेर भारतको हिन्द महासागर क्षेत्रमा पुग्ने जस्ता संकटहरूको सवालमा नेपालका शीर्ष राजनीतिक नेतृत्वहरूले आँखा चिम्म गरेर बसिरहन अलिकति पनि सुहाउँदैन ।
देशको माटोलाई बग्नबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरामा पनि सुविचार गर्नु जरुरी छ । संयुक्त राष्ट्र संघका बहालवाला अध्यक्ष गुटुरेजले नेपालको संवेदनशीलता र दुखान्त कथालाई संयुक्त राष्ट्र संघको मञ्चमा प्रष्टसँग राख्दा पनि विश्व राजनीतिमा प्रभाव जमाउने शक्ति केन्द्रमा भएका मुलुकहरु नेपालप्रति सकारात्मक र संवेदनशील व्यवहार गर्छ भन्ने आधारहरू अहिलेसम्म खुल्न सकेको छैन ।
नेपालका नवनिर्वाचित युवा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालसालै आएको जल प्रलय र हिमताल विस्फोटले गर्दा नेपालमा हजारौं मानिसहरू हताहत भएको र अर्बौं खर्बौं रुपैयाँ बराबरको नोक्सानी पुगेको र त्यसलाई भरपाई गर्ने संसाधन नेपाल सरकारसँग समेत नरहेकोले यस्तो किसिमको प्राकृतिक संकटहरूबाट संसारलाई जोगाउन र जलवायु संकटबाट समेत विश्वलाई छुटकारा दिलाउनको लागि जस जसले जलवायुको सन्तुलन बिगार्न प्राकृतिक स्रोत साधनहरूको अन्धाधुन्द उपयोग गरिरहेका छन् ती देशहरूले जलवायु क्षतिपूर्ति कोषमा योगदान गर्न अगाडि आउनुपर्ने र नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा हुने गरेको प्राकृतिक आपदाको जिम्मेवारी समेत लिएर नोक्सानी बापतको क्षतिपूर्ति रकम समेत क्षति पुगेको देशलाई जिम्मा लगाउनुपर्ने कुराहरूबारे विश्वलाई नै ध्यानाकर्षण गराउनुभएको थियो ।
खासगरी हिमालय क्षेत्रमा हुने गरेको वातावरणीय असन्तुलनका घटनाहरू नेपालीहरूले गर्दा नभएर वैश्विक रुपमै प्रकृतिमाथि गरिएको अन्यायको कारणले हुन गएको हो । यस कारणले सारा संसारको ध्यान जलवायु न्यायमा केन्द्रित हुनुपर्दछ । विश्वका धनी र शक्तिशाली राष्ट्रहरूले जलवायु न्यायमा विवेकशील भएर लाग्यो भने मात्र जलवायु परिवर्तनबाट भएको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । प्रधानमन्त्री बालेन्द्र शाहले चीन नेपाल र भारतलाई खास गरेर यस भारतीय उपमहाद्वीपमा हुने गरेको भौगर्भिक उथलपुथलबाट हुनसक्ने प्राकृतिक संकटलाई समाधान गर्नको लागि एउटा साझा मञ्चमा आउन र त्यसको लागि योगदान गर्न समेत अनुरोध गरेका थिए ।
चीनको तिब्बत क्षेत्र अहिले प्राकृतिक रूपले बढी चिन्ताजनक अवस्थामा रहेको विज्ञहरूले औल्याइरहँदा चीन नेपाल र भारतमा ठुलठुलो भूकम्प आउन सक्ने हिमताल विस्फोट हुन सक्ने जस्ता घटनाहरुले मानव अस्तित्वलाई समेत अझ जोखिममा पार्न सक्ने हुनाले यस्ता घटनाहरुले यी गरिब देशहरुलाई विकासको बाटोमा जान थुप्रै नै अवरोध खडा गर्ने निश्चित छ र यस्ता समस्याहरुलाई कुनै पनि देशले एक्ला एक्लै समाधान पनि गर्न सक्दैन । तिब्बतबाट बगेको पानी नेपालमा आउँछ र नेपालबाट भारतको ठूलो भूभागमा नोक्सानी पु¥याउँदै हिन्द महासागरमा प्रवेश गर्दछ । यस्तो विकराल समस्यालाई तीनटै देशले मिलेर समाधान गर्नु नै यसको उत्तम विकल्प हुन सक्छ । यथार्थमा चीन र भारतले यस्ता कुराहरुमा बढी चासो राख्नु र संवेदनशील हुनु पनि जरुरी छ ।
चीनले आफ्नो भूभागभित्रका ठूला ठूला नदीहरू र महानदीहरूलाई समेत नियन्त्रण गर्न सफलता पाइरहेको अवस्था छ भने भारतले पनि भारतभित्रका नदीहरुलाई नियन्त्रण गर्ने प्रयास लगातार रुपमा गर्दै लगिरहेको छ । भारत सरकारले नेपाल र भारतबीच बग्ने नदीहरूलाई नियन्त्रण गर्नको लागि र व्यवस्थापन गर्नको लागि तथा बाढीबाट हुन सक्ने सम्भावित जोखिमहरुलाई कम गर्नको लागि र कृषि क्षेत्रहरुलाई समेत सिचाईको सुविधा उपलब्ध गराउनको लागि उच्च बाँध परियोजनाका खाकाहरूबारे समेत विगतमा नेपाल सरकारलाई जानकारी गराएको र मार्गचित्रहरू उपलब्ध गराउने पर्खाइमा रहेकोले नेपाल सरकारले पनि यस सम्बन्धमा स्पष्ट दृष्टिकोण र देश हितमा हुन सक्ने जल सम्झौताहरूलाई अंगीकार गर्नु जरुरी छ ।
जलवायु परिवर्तनले गर्दा वैश्विक रुपमै अत्यन्त जोखिमपूर्ण अवस्थामा बाँचिरहेका दुर्लभ जीवजन्तु वन्यजन्तु र जैविक विविधताहरु तथा बोटबिरुवाहरुलाई संरक्षण गर्नका लागि जलवायु सम्मेलनहरू पटक–पटक आयोजना हुँदै गरेको सन्दर्भमा संसारमा नै दुर्लभ हुँदै गइरहेका जीवनहरुलाई संरक्षण गर्नको लागि ठुलठुला आयोजनाहरू कार्यान्वयन भइरहेको छ । तर आश्चर्यको कुरो के छ भने नेपालमा यसैपालीको प्राकृतिक आपदा र बाढी संकटले नेपालका हजारौं मानिसहरु बेपत्ता भइरहेका छन्, हजारौं मानिसहरुले आफ्नो जीवन गुमाइसकेका छन् र हजारौं लाखौं मानिसहरु अहिले पनि आफ्नो जीवन र अस्तित्व समेत गुमाउन सक्ने जोखिमको अवस्थामा पुग्न लागेको देखिँदैछन् ।
सरकारले मानिसहरूको जीवन र मानिसहरूको भविष्यलाई प्रकृतिको संरक्षण सँगै कसरी सुरक्षित बनाउँछ भन्ने कुरामा नै देशको अस्तित्व र देशको भविष्य निर्धारण हुने निश्चित प्राय हुन्छ । नेपालको अर्थ राजनीति र प्राकृतिक संकटको दोहन वर्तमान राजनीतिको समस्या मात्र होइन । प्रकृतिले स्वयं नेपाली माटो र र संस्कृतिप्रति खेलबाड गरिरहेको छ ।
भगवान शिव र माता पार्वतीको निवासस्थल हिमालय पर्वत श्रृङ्खला र सगरमाथा क्षेत्र अहिले संकटको भुमरीमा फस्दैछ । हामीले देशको राजनीति मात्र सपार्नु छैन, देशको संस्कृतिलाई पनि सुरक्षित बनाउनु छ, संस्कारलाई पनि जोगाउनु छ, देशको अर्थ राजनीतिलाई पनि उँधो लाग्नुबाट रोकेर उँभो लाग्ने दिशातिर उत्प्रेरित गराउनुपर्छ ।
हामीले काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष मन, बुद्धि र अहंकार जस्ता मानवीय दुर्गुणलाई बिर्सेर मानवताकै संरक्षण गर्नेतिर ध्यान दिनुपर्दछ । देशमा दिनप्रतिदिन चिन्ताजनक अवस्थामा पुग्दै गइरहेको वातावरणीय सन्तुलनलाई जोगाएर प्रकृतिसँग मिलेर बाँच्ने कला सिक्नुपर्दछ र संसारलाई नै संरक्षण गर्ने कार्यहरू गरेर नेपालको भविष्य सपार्नमा सहयोग पु¥याउनु पर्दछ ।

Author

You may also like