
भद्रपुर / सामुदायिक वन उपभोक्ता समूह चन्द्रगढी, झापाको २७औँ साधारणसभा आइतबार भद्रपुर–९ स्थित मुना सामुदायिक भवनमा सम्पन्न भएको छ।
साधारणसभामा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले चन्द्रगढी क्षेत्रको विकास तथा स्तरोन्नतिका लागि संघीय सरकारबाट चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ अनुदान प्राप्त भएको जानकारी दिए। आफ्नै पहलमा उक्त बजेट प्राप्त भएको उल्लेख गर्दै उनले चन्द्रगढीलाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न आफूले सक्दो प्रयास गरिरहेको बताए।
वन समितिले उपभोक्ताको हितमा गर्ने काममा नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै पोखरेलले वन संरक्षणसँगै क्षेत्रको विकासमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए।
साधारणसभामा समूहका अध्यक्ष अनुज खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समूहका गतिविधि, उपलब्धि तथा आगामी नीति र कार्ययोजनाबारे जानकारी गराए। उनले वन संरक्षण, उपभोक्ताको हित र सामुदायिक विकासका क्षेत्रमा समूहले गर्दै आएका गतिविधिबारे सभालाई अवगत गराएका थिए।
सभाको उद्घाटन प्रमुख अतिथि पोखरेलले बिरुवामा पानी हालेर गरेका थिए।
कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, राजेश निरौला, वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी र चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका कार्यवाहक अध्यक्ष घनश्याम अधिकारीलगायतले मन्तव्य राखेका थिए।
सो अवसरमा वन संरक्षणमा योगदान पुर्याउने कपिलमणि दाहाल र स्वर्गीय पुहान्तु चौधरीलाई सम्मान गरिएको थियो। उत्कृष्ट फुटबल खेलाडी कर्ण लिम्बू र बक्सिङ खेलाडी नारिका राईलाई पनि दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो।
समूहका अध्यक्ष खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कमला थापाले गरेकी थिइन् भने उपाध्यक्ष श्रीमननारायण पौडेलले स्वागत मन्तव्य राखेका थिए।
