डा. व्यन्जना शर्मा
प्रिय भाटभटेनी ! म तिमीलाई हरेक दिन, हरेक क्षण सम्झन्छु । जेन्जी आन्दोलन अगाडिसम्म तिम्रो अस्तित्वले अरु सबै खाले सुपर मार्केटहरुको अस्तित्वलाई ओझेलमा पारेको थियो । यस्तै चालिसौँको दशकतिर सर्वसाधारण जनताका लागि तिमी अप्राप्य थियौ । त्यो समयताका मलाई पनि भाटभटेनी भनेको सम्भ्रान्त परिवारका मान्छेहरु मात्र जाने ठाउँ हो कि जस्तो लाग्थ्यो । तिमी एक्लै नक्साल, काठमाडौँमा भाटभटेनी मन्दिरको नजीक ठडिएकाले त्यो ठाउँको नाम नै भाटभटेनी थियो ( तिम्रो आगमनपछि मन्दिरको भन्दा तिम्रो नाम प्रचलित भयो । बिस्तारै बिस्तारै तिमीले आफ्नो साम्राज्य बढाउँदै लगेउ ।
एउटा, दुईवटा गर्दै राजधानीका विभिन्न ठाउँमा तिम्रा शाखा खुले । अहिले त काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी जम्मा १३ वटा भाटभटेनी भैसके । बिस्तारै तिमी काठमाडौँ बाहिरका शहरतिर पनि पुग्न थालेउ ! अहिलेसम्ममा नेपालभरिमा तिम्रा २९ वटा शाखा छन् । यसरी तिमी आम मानिसको पहुँचमा पुग्यौ । हाम्रा छिमेकी शहरहरु विराटनगर, धरान, इटहरी र बिर्तामोडमा तिमीलाई भेट्न जाँदा म सधैँ मनैमन कल्पिने गर्थेँ, “दमकमा पनि हुनु नि भाटभटेनी ! मलाई किनमेल गर्न क िसजिलो हुन्थ्यो ! यहाँ आपूmले खोजेका सबै सामान पाइन्छ । अरु पसलमा गयो — कतै के छैन, कतै के छैन । सामान खोज्दै पसल पसल चहार्न दिक्क लाग्छ ।” दैवले मेरो कुरा सुनेजस्तै तिमी दमकमा पनि आउने समाचार आउन थाले । हेर्दाहेर्दै तिम्रो निर्माण कार्य शुरु भयो । हरेक पटक त्यो बाटो ओहोर दोहोर गर्दा मेरा आँखा अनायासै तिमीतिर पुग्थे । म धैर्यपूर्वक तिम्रो प्रतीक्षा गरिरहेकी थिएँ । आखिरमा तिम्रो उद्घाटन हुने दिन पनि आयो । यो बहुप्रतिक्षित दिन वि.सं. २०८० साल फाल्गुण महिनाको २३ गते थियो । तिमी २७ औँ शाखा बनेर यहाँ भित्रियौ ।
त्यो दिन मेरी दिदी र म तिमीलाई भेट्न गएका थियौँ । त्यहाँ दमकका मात्र होइन, पूर्वमा सुरुङ्गादेखिका र पश्चिममा पथरीदेखिका मानिसको भीड लागेको थियो तिम्रो भव्यतालाई नियाल्न । बाटैदेखि उनीहरु छरिएका थिए । मैले अध्यापन गर्ने क्याम्पसबाट पनि थुप्रै विद्यार्थी तिम्रो सुन्दरता हेर्न तँछाड र मछाड गर्दै गेटबाट छिरेका थिए । तिमी बेहुलीजत्तिकै सजिएकी थियौ । आगन्तुकको स्वागतमा तिमीले झाँकी देखायौ । खाजाको प्याकेट र पेय पदार्थ वितरण गरेर आफ्ना ग्राहकप्रति सम्मान प्रकट गरेउ । तिम्रो परिसरभित्रको रमाइलो वातावरण देखेर म मन्त्रमुग्ध भएकी थिएँ । योभन्दा बढी म आफ्नो शहरमा पनि तिमीलाई पाउँदा सन्तुष्ट भएकी थिएँ ।
दमकबासीका लागि तिमी एक आकर्षण थियौ, अझ भनौँ पुग्नैपर्ने एक गन्तव्य थियौ । त्यहाँ किनमेल गर्नेभन्दा बढी घुम्न जाने, केटाकेटीलाई खेलाउन लाने, फोटो खिच्ने, भिडियो बनाउने र रेस्टुरेन्टमा गएर खाने मान्छेको जमात ठूलो थियो । शुरु शुरुमा बिजुली भ¥याङ्ग चढ्ने र ओर्लनेको भीड पनि हेर्न लायकको थियो । कसैको घरमा पाहुना आयोे, घुमाउन लाने एक अपरिहार्य पर्यटन स्थल बन्यो दमकको भाटभटेनी सुपर मार्केट । हरेक हप्ताको शुक्रबार किनमेल गर्न त्यहाँ जानु हाम्रो परिवारको पनि दिनचर्या बन्यो ।
कुन पापीको आँखा लाग्यो कुन्नि ! पोहोर साल भदौ २४ गते जेन–जी आन्दोलनको नाममा नेपालभरिका १२ वटा भाटभटेनीका भवन पूर्ण रुपमा ध्वस्त र ९ वटा क्षत विक्षप्त बनाइए । त्यतिमात्र होइन, त्यहाँ निर्मम रुपले लुटपाट मच्चियो, आगजनी भयो र दुर्भाग्यवश् केही मानिसको जलेर मृत्यु समेत भयो । भाग्यवश् दुई चार ठाउँमा आमजनताले डटेर आक्रमणकारीको सामना गरे र तिमीलाई जोगाए । ती जोगिने भाग्यमानीमध्य इटहरीको पनि एउटा हो । दुःखको कुरो, दमकमा हामीले तिमीलाई जोगाउन सकेनौँ । यहाँ खुलेको दुई वर्षमै क्रुर हत्याराहरुले तिम्रो हत्या गरे । तिमी त जनताको सेवामै थियौ, उनीहरुलाई भरपूर मनोरन्जन प्रदान गरेकै थियौ । तर भीड बौलाएपछि केही लाग्दो रहेनछ । यसको मनोविज्ञान विचित्रको हुँदोरहेछ । के गर्नु ?
तिमी हार मान्ने त कहाँ थियौ र भाटभटेनी ! तिम्रा अभिभावकले तिमीलाई एक वर्षभित्रमा अझ सबल रुपमा हाम्रासामू प्रस्तुत् गर्ने प्रतिवद्धता व्यक्त गरे । ग्रीक पौराणिक कथामा वर्णित खरानीबाट पुनः उठेको फिनिक्स चरोभैmँ एक एक गर्दै तिमी उठ्न थालेउ । काम नलाग्ने भएका २१ वटा तिम्रा भवनमध्ये १७ वटा त हालसम्म चालू भैसके ।
हाम्रै वरिपरि विर्तामोडमा, विराटनगरमा र धरानमा तिमी अझ सुन्दर रुप लिएर सन्चालनमा आइसक्यौ, भाटभटेनी । म धैर्यपूर्वक तिमीलाई दमकमा पर्खिरहेछु । सुन्दैछु, दशैँसम्म त तिमी तयार हुन्छेउ रे । जुन दिन तिम्रो पुनः यहाँ उद्घाटन हुन्छ, त्यो दिन यो शहरभरिकी सबभन्दा खुशी व्यक्ति शायद म नै हुन्छु होला । त्यति प्रिय छौ तिमी मलाई । म आशा गर्छु, अब शत्रुले तिमीलाई ढाल्न नसकुन् । कुनै पनि अपराधीका आँखा तिमीतिर लाग्दै नलागुन् भन्ने हार्दिक कामना गर्दछु म ।
000