देश–समाज मुख्य समाचार स्थानीय

उत्तरकुमार खत्री नेपाल सरकारको सचिव पदमा बढुवा

दमक । नेपाल सरकारका वरिष्ठ सहसचिव उत्तरकुमार खत्री सचिव (विशिष्ट श्रेणी)मा बढुवा भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खत्रीलाई सचिव पदमा बढुवा गरेको हो । भोजपुरको तत्कालिन प्याउली गाउ पञ्चायतमा जन्मिएका खत्री स्थानीय श्री शारदा माविबाट एसएलसी उत्तीर्ण गरेपछि झापाको दमकस्थित दमक क्याम्पसमा २ वर्षको अध्यायन पछि राजधानीमा उच्च शिक्षा हासिल गरेका हुन् । उनले नेपाल सरकारका विभिन्न पदमा रही कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्दै नेपाल सरकारको विशिष्ट श्रेणीमा बढुवा भएका खत्री लगभग १ वर्ष झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालिसकेका हुन । सविच पदमा बढुवा भएका उत्तरकुमार खत्रीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि हाम्रो शुभकामना ।
तीन जनामध्ये पहिलो नम्बरमा थिए खत्री
सचिव बढुवा सिफारिस समितिको बुधबार बिहान बसेको बैठकले रिक्त एक सचिव पदमा बढुवाका लागि उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।
तीन जनामध्ये पहिलो नम्बरमा सिफारिस भएका खत्रीलाई मन्त्रिपरिषद्ले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
खत्री हाल अर्थ मन्त्रालयमा कार्यरत थिए। उनी मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
दोस्रो नम्बरमा सिफारिस भएका पराजुली राष्ट्रिय महिला आयोगको सचिवका रूपमा कार्यरत छन्। यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका उनी केही साताअघि मात्रै राष्ट्रिय महिला आयोगमा सरुवा भएका थिए।
तेस्रो नम्बरमा रहेका तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्।
अघिल्लो सिफारिसमा पनि प्रतिस्पर्धामा थिए खत्री
खत्री पछिल्लो सचिव बढुवा प्रक्रियामा पनि प्रतिस्पर्धामा थिए। गत १५ भदौमा रिक्त सचिव पदका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र बिनोद बहादुर कुँवर क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए।
पहिलो नम्बरमा रहेका नेपाल ५८ वर्षे उमेर हदका कारण सचिवमा बढुवा हुनुअघि नै अनिवार्य अवकाशमा गएपछि सिफारिसको क्रम फेरिएको थियो। त्यसपछि नारायणप्रसाद भट्ट पहिलो, बिनोद बहादुर कुँवर दोस्रो र उत्तरकुमार खत्री तेस्रो नम्बरमा आएका थिए।
उक्त प्रक्रियाबाट भट्ट सचिवमा बढुवा भई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन भएका थिए।
त्यसपछि बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले अर्को रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिव बिनोद बहादुर कुँवरलाई ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट एकल सिफारिस गरेको थियो। थप रिक्त पदका लागि खत्री, पराजुली र तामाङको नाम क्रमशस् सिफारिस गरिएको थियो।
कुँवर लुम्बिनीको प्रमुख सचिव, खत्री सुदूरपश्चिममा
आजकै मन्त्रिपरिषद् बैठकले बिनोद बहादुर कुँवरलाई पनि नेपाल सरकारको सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।
यससँगै बुधबार सचिव बढुवाका लागि भएका दुई छुट्टाछुट्टै सिफारिसबाट कुँवर र खत्री दुवै विशिष्ट श्रेणीमा उक्लिएका छन्। कुँवर लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्री सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवका रूपमा प्रशासनिक नेतृत्व सम्हाल्ने भएका छन्।

Author

You may also like