दमक । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । यो समाचार तयार पार्दा अर्थात बुधबार राती ११ बजेसम्मको अपडेट अनुसार नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक तथा पहिचान नखुलेका २० जनाको शव फेला परेको विभिन्न सञ्चार माध्यमले जनाएको छ ।
बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, रसुवाका विभिन्न स्थानमा खटिएका २८ जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको मृत्यु भएको छ ।
धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनासहित १६ जनाको शव फेला परेको छ ।
त्यस्तै, चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनासहित ३३ जनाको शव फेला परेको छ ।
तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक गरी ५ जनाको तथा नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकासहित ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
६३ जना अस्पतालमा उपचाररत
बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना उपचाररत छन् ।
त्यस्तै, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२८ प्रहरी सम्पर्कविहीन
बाढीपछि उद्धार तथा सुरक्षाका लागि खटिएका प्रहरीसमेत सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक र हाकुबाट एक गरी २८ जना प्रहरी सम्पर्कविहीन छन् ।
बाढीका कारण कतिपय क्षेत्रमा सडक, पुल तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजीमा कठिनाइ भइरहेको छ ।
भोटेकोशीमा आएको बाढीको प्रभाव रसुवाबाट तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वसम्म देखिएको छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन तथा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।