देश–समाज

धितो चाहिँदैन, सवा २ प्रतिशत ब्याजमै ऋण

काठमाण्डौं , तपाईंलाई व्यावसायिक कृषि तथा पशुपन्छी वा अन्य कुनै व्यवसाय गर्ने मन छ मन भए पनि धन नभएर त्यसै मन मारेर बस्नुभएको छ ,छ भने यसको गतिलो विकल्प छ ।

नेपाल सरकारले विभिन्न ६ प्रकारका कर्जामा ब्याज अनुदान दिने गरेको छ । सरकारले दिने ब्याज अनुदान प्राप्त गर्दा तोकिएका यी ६ प्रकारका कर्जाको ब्याजदर २.२३ प्रतिशतदेखि ३.२३ प्रतिशतसम्म मात्रै पर्छ । र, यस्तो कर्जा लिन घरजग्गा वा सुनचाँदी धितो चाहिँदैन ।

यस्तो ऋणको मात्रा कम होला, व्यवसाय गर्न पुग्दैन होला भन्ने तपाईंलाई लाग्न सक्छ । त्यसो होइन । अहिले २.२३ प्रतिशत मात्रै ब्याज तिर्दा हुने कर्जाको सीमा १५ लाख रुपैयाँसम्म छ । यस्तै, ३.२३ प्रतिशत मात्रै ब्याज तिर्दा हुने कर्जाको सीमा ५ करोड रुपैयाँसम्म छ ।

सरकारले घोषणा गरेर के गर्नु, बैंकले ऋण दिने होइन भन्ने तपाईंलाई लागेको छ भने त्यो गलत हो । तोकेका यी कर्जामा कुनै पनि बैंक वा वित्तीय संस्थाले ऋण दिन्न भन्नै पाउँदैनन् । ऋण दिएनन् भने त्यस्ता बैंकलाई कारबाही गरिने नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बताउँछन् ।

‘सरकारले ब्याज अनुदान दिने भनेर तोकिएका कर्जा दिन्न भनेर कुनै पनि बैंक वा वित्तीय संस्थाले भन्न पाउँदैनन्, ऋण माग्न जादा कुनै बैंक वा वित्तीय संस्थाले दिएनन् भने हामीलाई खबर गर्नुस्, राष्ट्र बैंकले कारबाही गर्छ,’ वरिष्ठ डेपुटी गभर्नर शिवाकोटीले शिलापत्रसँग भने ।

यी हुन् तोकिएका कर्जा, यस्तो छ सुविधा

सरकारले व्यवसाय गर्नका लागि ६ प्रकारका कर्जामा ब्याज अनुदान दिन्छ । यसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा एउटा हो ।

कृषि तथा पशुपन्छी कर्जा

व्यावसायिक कृति तथा पशुपन्छी पालन व्यवसाय गर्न ५ प्रतिशत ब्याज अनुदान पाइने गरी ५ करोड रुपैयाँसम्म ऋण लिन पाइन्छ । यस्तो ऋणमा १० लाख रुपैयाँसम्म ऋण लिने हो भने सामूहिक जमानीमा लिन पाइन्छ ।

कसैलाई ५ करोड रुपैयाँभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा लिनु पर्नेछ भने ५ करोड रुपैयाँभन्दा बढीको ऋणको २ प्रतिशत मात्रै ब्याज अनुदान पाइन्छ । गत असार मसान्तसम्ममा बैंक वा वित्तीय संस्थाले १ हजार ७ सयभन्दा बढी ऋणीलाई यो शीर्षकमा ३२ अर्ब १८ करोड रुपैयाँभन्दा बढी ऋण दिइसकेका छन् ।

शिक्षित युवा स्वरोजगार कर्जा

शिक्षित युवा स्वरोजगार कर्जामा ५ प्रतिशत ब्याज अनुदान पाइन्छ । यस्तो कर्जा बढीमा ७ लाख रुपैयाँसम्म लिन सकिन्छ । यस्तो कर्जाको धितो भनेको शैक्षिक योग्यताका सक्कली प्रमाणपत्रहरू नै हुन् । शिक्षित युवा बेरोजगार कर्जा शीर्षकमा गत असार मसान्तसम्म २४ जनाले १ करोड १५ लाख रुपैयाँभन्दा बढी ऋण लिइसकेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

विदेशबाट फर्केका युवा परियोजना कर्जा

विदेशमा काम गरेर फर्केको ३ वर्ष नपुगेको र आफूले गर्न चाहेको कामको विषयमा कम्तिमा ६ महिना तालिम लिएको व्यक्ति यस्तो ऋण लिन योग्य हुनेछ । यस्तो कर्जाको सीमा बढीमा १० लाख रुपैयाँ हो ।

विदेशबाट फर्केका युवाले कुनै व्यवसाय गर्न चाहे भने १० लाख रुपैयाँसम्म ऋण लिन कुनै धितो दिनु पर्दैन । यस्तो कर्जाको ब्याजमा ५ प्रतिशत अनुदान सरकारले दिन्छ । विदेशमा काम गरेर फर्केको प्रमाणका रूपमा भिसा लागेको पासपोर्टलगायतका प्रमाण भने पेश गर्नुपर्ने हुन्छ । यो शीर्षकमा गत असार मसान्तसम्ममा ४९ ऋणीले ३ करोड २९ लाख रुपैयाँभन्दा बढी ऋण लिएका छन् ।

महिला उद्यमशील कर्जा

व्यवसाय गर्न चाहनेका लागि सबैभन्दा बढी फाइदा यो शीर्षकको कर्जामा छ । किनभने कुनै पनि घरमा महिला नहुने भन्ने हुँदैन । आमा, हजुरआमा, श्रीमती, बुहारी, छोरी, बहिनी वा कुनै न कुनै नाताको रूपमा महिला हुन्छन् नै ।

महिला उद्यमशीलता कर्जा शीर्षकमा बढीमा १५ लाख रुपैयाँसम्म ऋण लिन पाइन्छ । यस्तो ऋणको ब्याजमा ६ प्रतिशत अनुदान सरकारले दिन्छ । व्यक्तिगत घरजग्गा धितो राख्नु पर्दैन ।

पुरुषले पनि यो कर्जा सुविधा उपभोग गर्न सकिन्छ । महिलालाई परियोजना संचालन गर्न प्रेरणा र सहयोग गरेर यस्तो ऋण लियो भने ऋण पनि धेरै ९१५ लाख रुपैयाँसम्म० पाइन्छ, ब्याज अनुदान पनि अरुभन्दा धेरै अरुमा ५ प्रतिशत, महिला उद्यमशीलतामा ६ प्रतिशत पाइन्छ । गत असार मसान्तसम्ममा ७ सय ९६ ऋणीले ५१ करोड २१ लाख रुपैयाँभन्दा बढी ऋण लिइसकेका छन् ।

दलित समुदाय व्यवसाय विकास कर्जा

दलित समुदाय व्यवसाय विकास कर्जामा पनि ५ प्रतिशत ब्याज अनुदान पाइन्छ । यस्तो कर्जा बढीमा १० लाख रुपैयाँसम्म लिन पाइन्छ । तर, यस्तो कर्जा लिनका लागि भने दलित समुदायमा पर्ने व्यक्ति भने हुनुपर्ने हुन्छ । यो शीर्षकको कर्जा लिन पनि व्यक्तिगत घर जग्गा वा सुनचाँदी धितो चाहिँदैन । गत असार मसान्तसम्ममा यो शीर्षकमा ७० ऋणीले ३ करोड ६२ लाख रुपैयाँभन्दा बढी ऋण लिएका छन् ।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा

यो शीर्षकको कर्जा लिने भनेको पढ्नका लागि मात्रै हो । तीन प्रकारका विषय अध्ययन गर्नका लागि यस्तो कर्जा लिन पाइन्छ । यसमा उच्च शिक्षा, प्राविधिक शिक्षा र व्यावसायिक शिक्षा अध्ययन गर्नका लागि ऋण पाइने व्यवस्था गरिएको छ ।

यस्तो कर्जामा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिन्छ । यस्तो कर्जा बढीमा ५ लाख रुपैयाँसम्म मात्रै लिन सकिन्छ । यो शीर्षकको कर्जा लिन पनि व्यक्तिगत घर जग्गा वा सुनचाँदी धितो चाहिँदैन । गत असार मसान्तसम्ममा ६० जना ऋणीले १ करोड ४४ लाख रुपैयाँभन्दा बढी ऋण लिएका छन् ।

कसरी पाइन्छ सवा २ प्रतिशत ब्याजमा ऋण

हो, यसका लागि भने तपाईंले केही चलाखी गर्नुपर्ने हुन्छ । अरु चलाखी गर्ने भनेको होइन । बैंक छनोट गर्न चलाखी गर्नुपर्ने हो ।

सरकारले कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार यी ६ वटा शीर्षकका कर्जामा बैंक वा वित्तीय संस्थाले आफ्नो आधार दरमा बढीमा २ प्रतिशत जोडेर ब्याज तोक्न पाउने भनिएको छ । अरू कुनै पनि प्रकारको शुल्क वा फि लिन पाइँदैन ।

अरू बैंक वा वित्तीय संस्थाको आधार दर १० प्रतिशतको हाराहारीमा छ । तर, राष्ट्रिय वाणिज्य बैंकको गत साउन महिनाको आधार दर ६.२३ प्रतिशत छ ।

माथि उल्लेख गरिएका ६ प्रकारका कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट लिने हो भने उसको आधार दर ६.२३ मा २ प्रतिशत थप गरेर ८.२३ प्रतिशत तय हुन्छ । राष्ट्रिय वाणिज्य बैंकले तोकेको ८.२३ प्रतिशत ब्याजमा सरकारले दिने ५ प्रतिशत ब्याज अनुदान घटाउँदा ऋण लिने व्यक्तिले ३.२३ प्रतिशत मात्रै ब्याज तिरे हुन्छ ।

अझ महिला उद्यमशील कर्जा लिने हो भने ब्याज अझ कम पर्छ । सरकारले यो शीर्षकमा ६ प्रतिशत ब्याज अनुदान दिन्छ । त्यसो हुँदा ऋण लिने व्यक्तिले २.२३ प्रतिशत ब्याज मात्रै तिर्नुपर्ने हुन्छ ।

यी ६ प्रकारकै कर्जाको सावाँ ब्याज तिर्ने अवधि बढीमा ५ वर्षको हुन्छ । अर्थात् ऋण लिएको ५ वर्षभित्रमा किस्ताबन्दी रूपमा सावा ब्याज तिरे हुन्छ । यी ६ प्रकारकै कर्जा लिने व्यक्तिले विर्सन नहुने अर्को कुरा के हो भने बैंक वा वित्तीय संस्थालाई कर्जाको ब्याज तिर्दा सरकारले दिने ब्याज अनुदान घटाएर मात्रै दिने हो ।

Author

You may also like