कला/साहित्य/संस्कृति देश–समाज राष्ट्रिय समाचार स्थानीय

जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

९३ वर्षको उमेरमा सोमबार दिवंगत भएका श्रेष्ठलाई नेपाली साहित्य र संगीत क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै अन्तिम बिदाइ गरिएको हो। गृहमन्त्री सुधन गुरुङको पहलमा राष्ट्रिय सम्मान दिने निर्णय भएको थियो। 

उनको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा गायिका आनी छोइङ डोल्मालगायत साहित्य, कला र संगीत क्षेत्रका व्यक्ति सहभागी थिए। 

दुर्गालाल श्रेष्ठको जन्म सन् १९३५ जुलाईमा काठमाडौंको न्हैकन्तला टोलमा भएको थियो। उनी मध्यमवर्गीय नेवार परिवारमा जन्मिएका थिए। उनको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो। किशोर अवस्थादेखि नै साहित्यतर्फ आकर्षित भएका श्रेष्ठले सन १९४९ बाट लेखन शुरु गरेका थिए।

उनको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो। कविता, गीत, बालसाहित्य, नाटक तथा नेपाल भाषाको प्रवर्धनमा उनको योगदान करिब सात दशक लामो रह्यो।

मदन पुरस्कार गुठीले पनि उनलाई नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मय समृद्ध बनाएको योगदानका लागि ‘जगदम्बा–श्री’बाट सम्मानित गरेको थियो।

Author

You may also like