दमक । महिलाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र नेतृत्व क्षमता उजागर गर्ने उद्देश्यले पशुपति आध्यात्मिक महिला समूहले तीनदिने उद्घोषण तालिम आइतबार सम्पन्न गरेको छ ।
दमक–६ स्थित पशुपति मन्दिर परिसरमा असार १२ देखि १४ गतेसम्म सञ्चालन भएको तालिममा ५० जना महिलाको सहभागिता रहेको थियो । दमक नगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा सहभागी महिलालाई सार्वजनिक रूपमा बोल्ने कला, प्रभावकारी सञ्चार, कार्यक्रम सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको अध्यक्ष रिता थापाले बताईन ।
समूहकी अध्यक्ष थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दमक नगरपालिकाको बालबालिका शाखाकी अधिकृत सरिता गिरी प्रमुख अतिथि रहेकी थिइन् । समापन कार्यक्रममा सोही शाखाकी अधिकृत जमुना पौडेलको प्रमुख आतिथ्यता रहेको जानकारी थापाले गराईन ।
थापाका अनुसार तालिमको सहजीकरण चन्द्रसूर्य संस्थाका प्रोप्राइटर विश्व अधिकारी र प्रशिक्षक भवानी रेग्मीले गरेका थिए । उनीहरूले उद्घोषण कला, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी प्रस्तुतीकरण र सञ्चार सीपका विविध पक्षबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा समूहकी पूर्वअध्यक्ष डोयना दाहाल, बिमला केसी, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका महासचिव कृष्ण तिमिल्सना तथा सचिव निर्मला भट्टराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समूहकी सदस्य बिमला पोखरेलले गरेकी थिइन् ।
समापन समारोहमा बोल्दै अध्यक्ष थापाले महिलाहरूलाई घरको घेराभित्र मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक र सार्वजनिक क्षेत्रमा सक्रिय बनाउन यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताइन् । उनले तालिमले सहभागी महिलामा आत्मविश्वास वृद्धि हुनुका साथै आफ्ना विचार निर्धक्क रूपमा व्यक्त गर्ने क्षमता विकास हुने विश्वास व्यक्त गरिन् ।
२०६८ सालमा स्थापना भएको पशुपति आध्यात्मिक महिला समूहमा हाल करिब ३०० महिला आबद्ध छन् । समूहले महिला सशक्तीकरणसँगै सामाजिक, धार्मिक तथा सामुदायिक हितका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष थापाले जानकारी दिइन् ।