सम्पादकीय

गुणस्तरमा निरन्तरता आवश्यक

सम्पादकीय

झापास्थित दमक अस्पतालले हालै स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा ८९ प्रतिशत अंकका साथ ‘ग्रिन कोड’ हासिल गरेको छ । यो स्थानीय नागरिककालागि खुशीको विषय पनि हो ।
स्वास्थ्य निर्देशनालयको प्राविधिक टोलीले गरेको स्थलगत निरीक्षणपछि प्राप्त यो उपलब्धि केवल एउटा अस्पतालको प्राविधिक अंक मात्र होइन, बरु दृढ इच्छाशक्ति र सही व्यवस्थापन भएमा सरकारी स्वास्थ्य संस्थालाई पनि उत्कृष्ट र भरोसायोग्य बनाउन सकिन्छ भन्ने बलियो प्रमाण पनि हो ।
दमक अस्पतालको यो प्रगति क्रमिक र निरन्तर सुधारको सुखद परिणाम हो । आर्थिक वर्ष २०७९÷८० मा ४५ प्रतिशत मात्र मूल्यांकन अंक पाएको यस अस्पतालले त्यसपछिका वर्षहरूमा क्रमशः ७१ र ८४ प्रतिशत हुँदै चालु आर्थिक वर्ष २०८२÷८३ मा ८९ प्रतिशतको उचाइ छोएको छ । बितेका चार वर्षमा ४५ प्रतिशतबाट ८९ प्रतिशतको यात्रा तय गर्नुले अस्पताल व्यवस्थापन समिति, नेतृत्व, चिकित्सक र समग्र कर्मचारी प्रशासनको गतिशीलता तथा उत्तरदायित्वलाई छर्लङ्ग पार्छ ।
छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरेर नागरिकको विश्वास जित्न सफल हुनु दमकवासीका लागि मात्र नभएर समग्र प्रादेशिक स्वास्थ्य क्षेत्रकै लागि गौरवको विषय हो ।
विगतमा १५ शैयाबाट सुरु भएको यो अस्पताल हाल ७८ शैयामा विस्तार हुनु र यसमा २८ जना कन्सल्टेन्ट चिकित्सकसहित २ सय ३५ जनाको दक्ष जनशक्ति क्रियाशील हुनुले सेवाको फराकिलो दायरालाई पुष्टि गर्छ । स्वास्थ्य बीमा बोर्डमा रहेको बक्यौतासहित अस्पतालले वार्षिक करिब अर्बको हाराहारीमा गरिरहेको आम्दानीले यो संस्था आर्थिक रूपमा पनि आत्मनिर्भर र सबल बन्दै गएको संकेत गर्छ । आर्थिक सबलताले अस्पताललाई थप आधुनिक उपकरण खरिद गर्न र सेवा विस्तार गर्न राज्यको मुख मात्र ताक्नुपर्ने अवस्थाबाट मुक्त गराउँछ, जुन स्वास्थ्य संस्था दिगो हुनका लागि अपरिहार्य सर्त हो ।
तर, यो सफलतासँगै दमक अस्पतालको काँधमा थप जिम्मेवारी र चुनौती पनि थपिएका छन् । मूल्यांकनमा उत्कृष्ट अंक प्राप्त गर्नु एउटा पाटो हो, तर त्यस गरिमालाई निरन्तरता दिनु र शतप्रतिशत नागरिक सन्तुष्टिमा बदल्नु अर्को महत्वपूर्ण पाटो हो । ‘ग्रिन कोड’ को साख जोगाउँदै अस्पताललाई देशकै अब्बल सरकारी अस्पतालका रूपमा स्थापित गर्न सेवाहरूलाई अझै प्रविधिमैत्री, सहज र गरिबमैत्री बनाउनुपर्ने देखिन्छ । पूर्वी नेपालकै भरपर्दो स्वास्थ्य संस्थाका रूपमा विकास हुँदै गर्दा आगामी दिनमा बढ्न सक्ने बिरामीको चापलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार र सेवाको गुणस्तरमा निरन्तरता दिनु आवश्यक छ ।

Author

You may also like