दमक । सुनसरीको दुहबीमा मंगलबार राति हावाहुरीसँगै उडेर आएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । राति करिब १० बजे दुहबी नगरपालिका–४ मलहटीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मोरङको बूढीगंगाबाट दुहबीतर्फ जाँदै गरेको को २९ प ८५४६ नम्बरको मोटरसाइकलमा वर्षासँगै आएको तीव्र हावाहुरीले उडाएर ल्याएको जस्तापाता ठोक्किएको थियो । जस्तापाता ठोक्किएपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक दुहबी–४ का २८ वर्षीय मोहम्मद जाहिद गम्भीर घाइते भएका थिए ।
घटनाको जानकारी स्थानीयले राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय दुहबीलाई दिएका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक पुखमान कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । गम्भीर घाइते जाहिदलाई तत्काल उद्दार गरी बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैबीच, झापामा गएराति आएको पानीसहितको हावाहुरीले व्यापक भौतिक क्षति पु¥याएको छ । विशेषगरी दमक नगरपालिका–१० मा रहेको गरिमा इँटाभट्टाको भवनमा ठूलो क्षति पुगेको छ । गुणराज थापाले सञ्चालन गरेको उक्त इँटा भट्टाको टिनको छाना उक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।
हावाहुरीले जिल्लाका विभिन्न स्थानीय तहमा घरका छाना उडाउनुका साथै कुखुरा फार्म, उद्योग, सवारीसाधन र विद्युत् संरचनामा समेत क्षति पु¥याएको छ । गौरादह नगरपालिका–७ डाँडागाउँमा पर्शुराम दाहालको कुखुरा फार्म पूर्ण रूपमा क्षति हुँदा २५ वटा ब्रोइलर कुखुरा मरेका छन् । घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
हल्दीबारी गाउँपालिका–२ मा तीन जनाको घरको छाना उड्दा करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । गौरादह–६ मा श्यामलाल बैसरा र हुकुमसिंह राईका घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै गौरादह–६ आरतीनगरमा मानबहादुर पराजुलीको भान्सा घरको छाना उड्दा भित्र राखिएको २० मन धान र २० मन मकै पानीले भिजेर करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
हावाहुरीसँगै परेको चट्याङका कारण गौरादह–८ मा इन्द्रमणि प्रसाईंका दुई घरमा आगलागी भएको छ । आगलागीबाट विद्युतीय सामग्री तथा कागजात जलेर करिब १ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मेचीनगर–१५ मा रहेको जय माँ कामाक्ष इण्डष्ट्रिज प्रालिको गोदाम र मेसको जस्तापाताको छाना उड्दा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मेचीनगर–८ स्थित सूर्योदय कम्पनीको पार्किङ भवनको छाना उडेर दुई बसको अगाडिको सिसा फुटेको छ ।
यता बिर्तामोडका विभिन्न स्थानमा विद्युत् पोल ढल्दा सडक अवरुद्ध भएको थियो । बाह्रदशी–५ मा पृथ्वीलाल राजवंशीको घरको छाना पूर्ण रूपमा उड्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन ।
३ करोड बढीको केरामा क्षति
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठुलो क्षति पुगेको छ ।
विशेष गरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा हावाहुरीले नोक्सान पु¥याएको हो । स्थानीयका अनुसार करिब ६० बिघा क्षेत्रफलमा लगाइएका केराका बोटहरू हावाहुरीले ढालेर नष्ट गरेको छ । यस प्राकृतिक विपद्बाट करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
उत्पादन बजार पठाउने तयारीमा रहेका बेला केरा खेती नष्ट भएपछि यस क्षेत्रका किसानहरू चिन्तित बनेका छन् । यसैबिच, क्षतिको वस्तुस्थितिबारे जानकारी लिन झापाका प्रमुख जिल्ला अधिकारीसहित गाउँपालिकाको प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीले क्षतिको विवरण संकलन गरिरहेको बताइएको छ ।