अहिले संसारमा ओशो लाई महान यौन मनोविश्लेषक, दार्शनिक गुरु र युग निर्माता क्रान्तिकारी विचारकको रूपमा आदर र सम्मान प्राप्त भइरहेको छ। ओशो वास्तविक प्रेम सम्बन्ध बाट यसै संसारलाई स्वर्ग बनाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्दथे। उनले आफ्नो अवचेतन मनभित्र लुकेर बसिरहेको यौन अतृप्ति र काम भावना र भावनात्मक संवेग लाई अर्थात् सेक्स डीजाएर लाई इच्छा विपरीत दबाएर बसेका प्रेमी प्रेमिकाहरुलाई समाजको अगाडि निडर भएर विद्रोह गर्न सिकाए।उनको विचारमा प्रेम गर्न साहस गर्ने युवा युवतीहरुलाई मात्र जीवनमा खुशी र आनन्द प्राप्त हुन्छ। ओशोको विचारमा समाजले सेक्सलाई आनन्द वा इञ्जोयको रूपमा न भएर मनभित्र दबाएर कुण्ठित पारेर राख्न दबाव दिन्छ। त्यसैले समाजमा महिला र पुरुष बीच धेरै नै विभेद हुने गरेको छ । अहिले उनले प्रतिपादन गरेको , सेक्सुवल लिबरलिजम र मल्टिपल लभ रिलेसनसिप,सम्बन्धी विचारलाई विश्वव्यापी रूपमा सामाजिक मान्यता प्राप्त हुन थालेको छ र नयाँ पुस्ताहरूले निर्धक्कसँग आफ्ना मन मिलेका जोडी संग परस्पर प्रेमालाप र प्रेम सम्बन्ध स्वीकार गर्न थालिसकेको छ। ओशोले मानिसको जीवनमा प्रेम र आनन्दको स्वर्गको अनुभूति गराउने र मानिसलाई बाँचुन्जेलसम्म जीवनको महान सत्य सम्भोग क्रीडा अर्थात् प्रेम र आनन्दको सागरमा मन र आत्मालाई विलीन हुन दिने र चिर युवा बनिरहने विचार र दर्शन संसारलाई दिएर युगान्तकारी परिवर्तन गराउने कार्यमा महान योगदान दिएका छन्। ओशोले निर्माण गरेका विचारहरू थुप्रै अडियो भिडियो र प्रवचनहरूपबाट सुन्न सकिन्छ।उनले लेखेका हजारौं पुस्तकहरू विश्वका प्रायजसो सबै भाषाहरूमा अनुवाद गरिएको छ, तथा उक्त पुस्तकहरु लाई अहिलेका युवायुवतीहरूले एउटा ठूलो मार्गदर्शक विचार र नयाँ क्रान्तिकारी धर्मको रुपमा ग्रहण गर्न थालिसकेका छन् । संसारमा निडर भएर युवायुवतीहरू प्रेमपथका सन्यासी र सन्यासिनी जस्तै आफ्नो जीवनका व्यवहारहरू संसारको अगाडि निर्धकसँग राख्न थालेका छन्। संसारमा अहिले यौन स्वतन्त्रताहरू बढ्दै गइरहेको छ।अब दुई जना एडल्ट जोडीहरू बीच स्वेच्छा पूर्वक परस्पर सहमतिमा स्थापित भएको प्रेम सम्बन्धलाई अवैध , कानुन विपरीत वा संस्कृति र संस्कार बिगार्ने छाडा कार्य मानिँदैन । लिभ इन रिलेसनशिप अब सामान्य बन्दै सहरिया पहिचान र आधुनिकी करणको पहिचान बन्न थालेको छ। ओशोको विचारमा महिला र पुरुष बीचको यौन स्वतन्त्रतालाई पति र पत्नी बीचको यौन सम्बन्ध मात्र स्थापित रहने विचार र परम्पराहरू अनावश्यक, काम नलाग्ने, अवैज्ञानिक र अव्यवहारिक छन्।
विश्वका सबैजसो समाजमा समय र परिस्थिति अनुसार नयाँ नियमहरू बसाल्न थालिएको छ र नयाँ कुराहरूलाई स्वीकार गर्न थालिएको छ । संसारैभरि युवावस्थामा पुगेका महिला र पुरुषहरु स्वतन्त्रता पूर्वक विवाहै नगरिकन पनि पतिपत्नी जस्तो जीवन व्यवहार चलाउन सक्छन् भन्ने जस्ता अनेकौं प्रयोगहरू पश्चिमेली राष्ट्रहरुबाट पूर्वेली राष्ट्रहरूतिर पनि सर्दै र प्रयोग हुँदै आइरहेको छ।
भारतीय रहस्यवादी दार्शनिक र विचारक तथा आधुनिक भौतिकतावादी गुरुको रूपमा संसारमै प्रख्यात रहेका ओशोको बाल्यकालको नाम रजनीश चन्द्रमोहन जैन थियो ।उनको जन्म भारत मध्यप्रदेशको कुचवाडा भन्ने गाउँमा सन् ११ डिसेम्बर १९३१मा एउटा रूढिवादी मध्यमवर्गीय जैन धर्मावलम्बी परिवारमा भएको थियो र मृत्यु १९ जनवरी सन् १९९० मा महाराष्ट्रको पुणेमा भएको थियो। उनी हाइस्कुलमा कक्षा दसमा पढ्दा खेरी नै आफ्नै सगोत्री नातामा पर्ने बहिनीको सहज प्रेम आकर्षणमा परी शारीरिक सम्बन्ध समेत गाँसेर प्रचलित धार्मिक, सामाजिक, मान्यता तथा परम्परालाई कुरीति र रूढीवादी मान्यता भन्दै विद्रोह गर्नुभएको थियो। उनी सानै देखि नै स्वतन्त्र विचारका र सामाजिक मूल्य मान्यता र परम्परा प्रति विद्रोह गर्ने स्वभावका थिए ।उनले भारत मध्य प्रदेशको सागर विश्वविद्यालय बाट दर्शन शास्त्रमा प्रथम श्रेणीमा प्रथम स्थान प्राप्त गरेकोले त्यही विश्वविद्यालयमा दर्शन शास्त्र र मनोविज्ञान विषयको प्रोफेसर र विभागीय प्रमुखको रूपमा प्राध्यापन कार्यमा संलग्न भएका थिए। विश्वविद्यालयमा प्राध्यापकको रूपमा कार्य गर्दा गर्दै उनी भारत भरिनै आचार्य रजनीशको नाउँबाट प्रेम र यौन स्वतन्त्रता ,लव एण्ड सेक्स लीबरलिजम र मल्टिपल लभ सम्बन्धी आफ्नो विचारहरु व्याख्यान मार्फत दिएर स्कूल र कलेज पढ्ने युवा युवतीहरु माँझ ठूलो लोकप्रियता हासिल गरी सकेका थिए । ओशोले ध्यान शिविरमा सेक्स थेरापी मार्फत नृत्य र ध्यान गर्नका लागि दीक्षा दिने र उनीहरूलाई ओशो सन्यासी र सन्यासिनीको पहिचान दिई ओशोको फोटोको लोगो भएको लकेट लगाई दिएर ओशो धर्ममा प्रशिक्षित हुने गरी गुरु परम्पराको शुरुवात गर्नु भएको थियो । उनले आफ्नो आश्रमका युवा सन्यासीहरूलाई ,स्वामी, भन्ने गर्दथे र महिला शिष्याहरूलाई ,मा, भनेर सम्बोधन गर्ने गर्दथे। शुरुमा आचार्य रजनिशका नाम बाट सयकडौं पुस्तक लेखेर त्यसबाट प्रसिद्धि पाउँदै उनले मुम्बई, पुणे, पुना लगायत भारत भरिका हरेक जसो शहर र बजार क्षेत्रहरूमा ओशो ध्यान केन्द्र र आश्रम खोलेर लाखौँ लाख युवा युवतीहरुलाई ओशो सन्यासी र सन्यासिनीको रूपमा दीक्षा दिन थाले पछि आचार्य रजनीश बाट उनी भगवान रजनिशमा रूपान्तरण भए । उनले विश्वविद्यालयमा पढाउने कार्यलाई छोडेर पूर्णकालिनरूपमा ओशो ध्यान शिविरमा समय दिन थाल्नु भयो र विश्वव्यापी रूपमा यौन स्वतन्त्रता चाहने लाखौं लाख देशी र विदेशी युवा युवतीहरु , बुद्धिजीवीहरू,लेखक र कविहरु ,फिल्म निर्माता, कलाकारहरु, हीरो हिरोइनहरु लगायत ठूलो बौद्धिक वर्गहरू समेत उनका शिष्य, समर्थक र प्रशंसक बनेका थिए।उनको सबै भन्दा प्रशंसित र सबै भन्दा आलोचित पुस्तक , सम्भोग देखि समाधि सम्म,प्रकाशन उपरान्त उनी आचार्य र भगवान बाट आफूलाई ओशो धर्मगुरुको रूपमा स्थापित गर्नुभयो । उनले सन् १९८१मा अमेरिकाको ओरेगनमा विशाल र भव्य रजनिशपुरम नाम गरेको ओशो आश्रमको को स्थापना गर्न लगाउनु भयो । ओसोले नेपालमा आएर पनि आफ्नो आश्रम खोल्न लगाएका थिए। अहिले नेपालको काठमाडौँमा ओशो तपोवन ध्यान केन्द्रमा स्वामी आनन्द अरुणले ओशो सम्बन्धी विचार र कार्यक्रमहरूको सञ्चालन निरन्तर रूपमा गरिरहनु भएको छ। रजनिशका दार्शनिक विचारहरू मुख्य रूपमा ध्यान ,सेक्स र प्रेममा आधारित छ । रजनीश मूल रूपमा फ्रायडको विचार धाराबाट प्रभावित थिए। ओशोले युवा युवतीहरुलाई प्रेम र सेक्स गर्न पूर्ण स्वतन्त्रता दिनुको साटो समाजमा त्यसलाई पापपूर्ण कार्य मानिएको र त्यस्तो सम्बन्धलाई अवैध र अपराधको श्रेणीमामा राखिएको हुनाले यौन चाहनालाई कुण्ठित पारेर सामाजिक परम्परा बसाल्नु उचित होइन भन्ने उनले विद्रोह गरेका थिए। मन पराएको साथीसँग प्रेम गर्नु पाप होइन धर्म हो।एक अर्कालाई मन पराउने र प्रेम गर्ने महिला र पुरुष बीचको प्रेम सम्बन्ध अवैध सम्बन्ध होईन, पवित्र सम्बन्ध हो । प्रणय जोडीहरू बीच स्थापित भएको प्रेमिल सम्बन्ध बाट जुन सुख प्राप्त हुन्छ र मन भित्र जुन आनन्द र खुसीको तरङ्ग उठ्छ, त्यसको तुलना इन्द्र लोकको स्वर्ग सुख भन्दा बढी हुन्छ । प्रणय मिलनबाट प्राप्त हुने सुख ,शान्ति र आनन्दले नै स्वर्ग सुखको अनुभूति गराउँदछ । ओशो रजनिशका विचारहरूहरूको मुख्य केन्द्रीय विषय वस्तु चाहिँ प्रेम, ध्यान, मृत्यु र स्त्री र पुरुषबीचको सम्बन्धमा सहजता र स्वतन्त्रता जस्ता विषय रहेको छ । ओसोले आफ्नो दार्शनिक व्याख्यानहरूमा आफ्ना शिष्य र शिष्याहरूलाई ,जोर्वा द बुद्धको ,जस्तो जीवन बिताउन सिकाउनुहुन्थ्यो र जीवनमा भौतिकवाद र आध्यात्मिकता बीच सन्तुलन ल्याउने कुराहरुमा पनि जोड दिनुहुन्थ्यो। ओशो कम्युनहरूमा आश्रममा रहेकी महिलाहरुलाई पूर्ण रूपमा यौन साथीहरूको छनौट गर्ने स्वन्त्रतता प्रदान गर्ने गरिन्थ्यो। सेक्स थेरेपिजको माध्यमबाट समाधिको अवस्थामा समेत पुग्न सक्ने र पूर्णरूपमा यौन सन्तुष्टिको आनन्दको अनुभूति गर्न सक्ने विचारलाई धेरै नै महत्व दिएको थियो। ओसोले आफ्नो दर्शनमा पूर्वीय दर्शनका विचारहरू तथा विश्व प्रसिद्ध मनोवैज्ञानिक प्रायडका विचारहरूको मनोविश्लेषण गरी अनौठो किसिमबाट समन्वय गरेका छन् र विश्वको अगाडि खुल्लमखुल्ला सेक्सुअल लिबर्टीको वकालत गरेका छन्। तर यसै मुद्दामा आएर ओशो रजनीश सबैभन्दा बढी आलोचित हुनुपर्यो र खासगरी पूर्वेली समाजमा अनैतिकता पूर्ण यौन सम्बन्धहरूबाट मानिस नास्तिक र धर्मभ्रष्ट हुने भयो भनेर उनलाई धार्मिक र सामाजिक संस्थाहरूबाट ठूलो विरोध , आलोचना र निन्दा गर्ने कार्य पनि बढ्दै गयो । तर अहिले समाजमा खुलापन बढ्दै गइरहेको छ र ओशोका विचारहरू समसामयिक रुपले युवाहरू युवतीहरूमा लोकप्रिय पनि बन्दै गइरहेको छ । साँच्चिकै अर्थमा ओशो एउटा यस्ता स्वतन्त्र विचारका भौतिकवादी दार्शनिक र विद्रोही स्वभावका गुरु थिए जसले मुख्य रूपमा जीवन प्रेम र आनन्दको उत्सव पर्व हो यसलाई तिरस्कार होइन स्वीकार गर्नुपर्दछ, जीवनको आनन्द लिनुपर्दछ भन्ने कुराहरू सिकाएका थिए।