दमक । शुक्रबार राति आएको हावाहुरी र असिनापानीले झापाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ। तीव्र हावाका कारण घरका छाना उड्नुका साथै कृषि बाली नष्ट भएको छ भने बिजुलीका पोल ढल्दा विद्युत् सेवा समेत प्रभावित बनेको छ। जिल्लाभरि भौतिक संरचना र जनजीवनमा उल्लेख्य असर परेको जनाइएको छ । शिवसताक्षी नगरपालिका–६ अन्तर्गत शिवगन्ज बजार आसपासका क्षेत्रमा सबैभन्दा बढी क्षति देखिएको छ ।
वडाध्यक्ष मनोज खुलालका अनुसार धेरै घर तथा विद्यालयका छाना उडेका छन् । सडकमा रुख ढल्दा यातायात अवरुद्ध बनेको छ भने कृषिमा पनि ठूलो नोक्सानी पुगेको प्रारम्भिक आकलन गरिएको छ । हाल क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।
भद्रपुर नगरपालिका–३ मा पनि हावाहुरीले स्थानीयका घरमा असर पु¥याएको छ। टिनको छानो भएका घरमा क्षति हुनुका साथै कुखुरापालनमा समेत नोक्सानी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार केही घरधनीका आवासमा क्षति पुग्नुका साथै असिनापानीले थप असर गरेको छ ।
यसैबीच दमक, कमल र हल्दिबारी क्षेत्रमा पनि घरका छाना उड्नुका साथै अन्य संरचनामा क्षति पुगेको छ । हल्दिबारी–१ मा मात्रै केही घर पूर्णरूपमा प्रभावित भएका छन्। जिल्लाभरि क्षतिको यथार्थ विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
मेचीनगर र गौरादहमा पनि हावाहुरीले ठूलो आर्थिक नोक्सानी गरेको छ। मेचीनगर-१० मा रहेको एक गोदामको जस्तापाता उड्दा भित्रका सामग्री भिजेर नष्ट हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । गौरादहका विभिन्न वडामा घर, भान्साघर तथा पशुचौपायाका संरचनामा क्षति पुगेको छ, जहाँ लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरणमा उल्लेख छ । यद्यपि, यस घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ । स्थानीय प्रशासन र प्रहरी टोलीले प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै थप विवरण संकलन तथा मूल्यांकन कार्यलाई तीव्रता दिएका छन् ।