देश–समाज राजनीति समाचार स्थानीय

रवि र बालेनसँग सम्वन्ध बढाउँदै छिमेकी मुलुक

दमक/ हालै सम्पन्न निर्वाचनबाट रास्वपा पहिलो शक्ति बनेसँगै छिमेकी राष्ट्रहरुले सम्वन्ध बढाउन चाहेको व्यक्त गरेका छन् । यसै क्रममा नजिकको छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन् । सोमबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै मोदीले यसबारे जानकारी दिएका हुन् । मोदीले दुई नेतासँग ’न्यानो’ वार्ता भएको भन्दै निर्वाचनमा उनीहरूको जित र रास्वपाले हासिल गरेको सफलताका निम्ति बधाइ दिएको बताएको छन् ।
त्यस्तै आगामी नयाँ सरकार गठनका लागि आफूले शुभकामना दिएको उनले लेखेका छन् । दुवै देशको आपसी समृद्धि, प्रगति र कल्याणका लागि भारत उनीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश आफूले दिएको पनि मोदीले बताएका छन् । ‘हाम्रो संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा रहेको बताएका छन् । सोमबार मोदीले सामाजिक सञ्जालमा लेखेको पोस्टमा जबाफ लेख्दै रविले यस्तो बताएका हुन् । मोदीले रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेको र उनीहरूको जित र रास्वपाले हासिल गरेको सफलताका निम्ति बधाइ दिएको बताएका थिए ।
सोही पोस्टमा जबाफ फर्काउँदै सभापति रविले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू, तपाईंको शुभकामना र नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई सम्मानपूर्वक स्वीकार गर्नुभएकोमा धन्यवाद। रास्वपा र हाम्रो सरकार आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहनेछ। यसका लागि रास्वपाले विकास कूटनीतिलाई प्राथमिकता दिनेछ ।’ उनले सहकार्य अझ सुदृढ गर्दै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा राखेको पनि बताएका छन् ।
यसै गरि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएकामा रवि र बालेनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ‘नेपालको आमचुनावमा भारी विजय हासिल गर्नुभएकोमा बालेन शाह र रवि लामिछानेलाई बधाई छ । सफल चुनावको लागि म नेपाली जनतालाई पनि बधाई दिन्छु । हामी दुई देशहरूबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छौँ,’ भुटानका प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । यस्तै बंङ्लादेशका प्रधानमन्त्री तारिक रहमानले नेपाल र बांङ्लादेशबीच दीर्घकालदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई आगामी दिनमा थप सुदृढ बनाउन चाहेको पनि बताएका छन् । यसका लागि उनले नेपालको नयाँ सरकार तथा नेपाली जनतासँग सहकार्य गर्दै अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ।
उनले नेपालमा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई पनि दिएका छन् । मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सन्देश जारी गर्दै उनले उक्त निर्वाचनलाई सफल लोकतान्त्रिक अभ्यासका रूपमा उल्लेख गरेका हुन् ।
यस्तै पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । पाकिस्तानका उपप्रधानमन्त्रीले आफ्ना समकक्षी तथा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवद्र्धनका लागि मिलेर काम गर्ने सन्देशमा उल्लेख गरेका छन् ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इशाक दारले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् । पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै उनले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
चासो पराराष्ट्र सम्वन्ध बारे
दुई शक्तिशाली राष्ट्रहरु चीन र भारतको विचमा रहेको नेपालको नयाँ संसद, नयाँ सरकारले कस्तो कुटनीतिक सम्वन्ध स्थापित गर्ला भन्ने विषय अहिले धेरैको चासोको विषय बनेको छ । हालैको निर्वाचनपछि एकल सरकार सञ्चालन गर्ने गरि रास्वपा स्थापित भएको छ । यस्तै संसदमा धेरै नयाँ अनुहारहरू प्रवेश गर्ने भएपछि नेपालको विदेश नीतिमा के कस्ता प्राथमिकता निर्धारण गरिनेछ भन्ने विषय धेरैको चासो बनि रहेको छ । विशेषगरी चीन र भारतसँग नेपालको सम्बन्ध ऐतिहासिक, आर्थिक, सांस्कृतिक र रणनीतिक दृष्टिले महत्वपूर्ण भएकाले नयाँ सरकारको कूटनीतिक कदमहरूलाई नजिकबाट हेरिने अपेक्षा गरिएको छ ।
यस्तै भारतसँग नेपालको खुला सीमा, गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध, व्यापार र रोजगारीको ठूलो सम्बन्ध रहेको छ । लाखौं नेपाली भारतमा रोजगारीका लागि जाने तथा व्यापारिक निर्भरता पनि उल्लेख्य रहेकाले भारतसँगको सम्बन्ध नेपालको अर्थतन्त्र र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएको छ । त्यसैगरी चीनसँग पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, व्यापार, पर्यटन तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य बढ्दै गएको छ । विश्लेषकहरूका अनुसार नेपालको स्थायित्व, विकास र समृद्धिका लागि दुवै छिमेकीसँग विश्वासको वातावरण कायम राख्दै सहकार्य बढाउनु अपरिहार्य छ । त्यसैले नयाँ सरकार र संसदले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै शक्तिशाली छिमेकीसँग सन्तुलित र परिपक्व कूटनीतिक सम्बन्ध कायम गर्ने दिशामा कस्ता कदम चाल्छन् भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुँदै जानेछ ।

Author

You may also like