देश–समाज समाचार स्थानीय

मतदाता शिक्षा र चुनावी प्रचार सकियो, मौन अवधी शुरु

दमक/चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सकिएको छ ।
आयोगले देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि शुरू भएको मतदाता शिक्षा कार्यक्रम देशभरका ७ सय ५३ पालिकाका सबै वडामा हिजो सकिएको हो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आम नागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जानकारी दिईन् । उनले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको बताएकी छन् ।
मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को चुनावदेखि जिम्मा दिन थालिएको थियो । आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रका माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ ।
यसैबीच सोमबार राति १२ बजेदेखि मौन अवधि शुरू भएको छ । यो समयमा चुनाब प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।
आयोगले यस अवधिमा चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने जनाएको छ  । त्यस्तै मतदानस्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न पाइने छैन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्षमा मत माग्न पाइदैन । चुनावलाई नै असर पर्ने गरी कुनै उम्मेदवारले गतिविधि गरेमा मनोनयनपत्र नै खारेज पनि हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
एकसाताको विदा
नेपालीहरूको पर्व फागुपूर्णिमा (होली), आसन्न प्रतिनिधिसभा निर्वाचन र अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सोमबार देखि देशभर लगातार सात दिन सार्वजनिक बिदा सुरु भएको छ ।
विभिन्न चाडपर्व र निर्वाचनको बिदा एकैसाथ परेकाले आज फागुन १८ गतेदेखि आगामी फागुन २४ गतेसम्म सरकारी कार्यालय, शिक्षण संस्था तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् । फागुन १८ गते पहाडी जिल्लाहरूमा होलीको सार्वजनिक बिदा दिइएको छ भने आज फागुन १९ गते तराईका जिल्लाहरूमा होलीको बिदा रहनेछ । होलीलगत्तै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ । निर्वाचनको बिदा सकिएलगत्तै फागुन २३ गते शनिबार परेको छ भने फागुन २४ गते ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक बिदा परेको छ ।

Author

You may also like