दमक । देशमा धेरै ठूला ठूला आन्दोलन भए तर एकै दिन सरकारी दमनबाट यति धेरै मानबीय क्षति भएको उदाहरण छैन । देशमा भएको बेथिति, भ्रष्टाचार, अनियमितताबाट आक्रोशित युवा पंक्ति जुन जेन जीको नामबाट सोमबार प्रदर्शनमा उत्रियो । आन्दोलनलाई अझ बल दिने काम सामाजिक सञ्जाल बन्द गराउनुलाई पनि लिइएको छ । देशका विभिन्न सहरमा आक्रमक प्रदर्शन, तोड्फोड्, आगजनी समेत भएका छन् । यता सरकारी पक्षले पनि निर्मम तरिकाले गोली प्रहार ग¥यो । यो समाचार तयार पारुञ्जेलसम्म १९ युवाहरुको ज्यान गईसकेको छ । सैयौ घाइते भएका छन । मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धमा चर्का नारा लगाइएको छ ।


जेन जी पुस्ताका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,’ यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ । लाखौँ नयाँ पुस्ता सडकमा आइसकेका सन्दर्भमा, अब वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य भइसकेको छ । त्यसैले हामी प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन स्पष्ट आग्रह गर्दछौँ ।’
जेन जीको आयोजना स्वस्फुर्त रुपमा निस्किएको २८ वर्ष मुनिका युवाहरुको समूहको देशव्यापी आन्दोलन हिंसात्मक बन्यो । विभिन्न ठाउँमा प्रहरीसँग झडप भएका छन् । सबैभन्दा धेरै राजधानी काठमाडौंमा भएको छ । स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको मात्र छैन धेरै ठाउँमा निषेधाज्ञा जारी गरिएको छ । विशेष गरेर सहरी क्षेत्रहरु काठमाडौं, पोखरा, हेटौडा, इटहरी, दमक, बिर्तामोडलगायतका स्थानहरुमा सैयौ आन्दोलनकारी युवाहरु घाइते भएका छन् ।
सुनसरीको इटहरीमा २ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।
खास गरेर काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले चलाएको गोली चलाएपछि १७ जनाको ज्यान गएको विभिन्न सञ्चारमाध्यमहरु उल्लेख गरिएको छ । गोली लागेपछि एकजनाको घटनास्थल र अन्यको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २२ जनाको स्थिति गम्भिर रहेको बताइएको छ।
दमकमा बृहत प्रदर्शन
बिहान १०ः३० देखि नै जेन जी समूह दमक चोकमा भेला हुन थालेका थिए । विभिन्न नारासहित प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीहरु नगरपालिका अगाडि पुगिसक्दा ठूलो समूह बनिसकेको थियो । त्यही समूह आक्रमक भएर अगाडि बढ्दा प्रहरीसँग झडप भएको थियो । प्रदर्शनकारीले प्रहरी तर्फ ढुंगाको बर्षा गरे भने प्रहरीले भिडलाई नियन्त्रण गर्न अश्रुग्याँस तथा गोली समेत प्रहार गरेको थियो । भिडन्तमा प्रहरी सहित दर्जन बढी घाइते भएका छन् । सामान्य घाइतेको उपचार पछि घर फर्किसकेका छन भने गम्भिर घाइते ५ जनालाई बिर्तामोड, धरान र विराटनगर रिफर गरिएको जानकारी प्राप्त भएको छ । प्रदर्शनकारीको तर्फबाट गेटमा रहेका दुई वटा मोटरसाइकल र कम्पाउण्डभित्र पार्किङ अवस्थामा रहेका ४ वटा गरी ६ वटा मोटरसाइकलमा आगजनी गरेका छन् । साथै गेट नजिक रहेको सीसी टिभी मनिटरिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ । यो स्टेशनको दुई दिनपछि उद्घाटन हुने कार्यक्रम रहेको थियो । यस स्टेशनबाट नगरका १० वटै वडामा रहेका सीसी क्यामेरा अवरुद्ध भएका छन् ।

Author

You may also like