दमक/ पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । तर वर्षायाम शुरु भएसँगै पानी धेरै भएपछि खुर्सानीका बोट मर्न थालेको किसानको गुनासो छ । भान्सामा स्वाद र पिरोका लागि रुचाइएको अकबरे खुर्सानीको पछिल्लो समयमा स्वदेशी र बिदेशी बजारमा पनि माग बढ्दै गएको छ । अकबरे खुर्सानी बढी पिरो हुने भएपनि स्वास्थ्यमा असर नगरेर फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा उक्त खुर्सानी पर्दै आएको छ ।
कोशी प्रदेशको पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा र भोजपुरमा अकबरेको व्यावसायिक खेती हुँदै आएको छ । प्रदेश कृषि मन्त्रालयले जनाएको छ । कोशी प्रदेशको एक हजार १५ हेक्टरमा अकबरेको व्यावसायिक खेती हुँदै आएको छ ।
प्रदेशका पहाडी जिल्लामा अकबरेको व्यावसायिक खेतीप्रति किसानको आर्कषण बढ्दो छ । प्रदेशका १४ जिल्लामध्ये भोजपुरमा ४५० हेक्टर, पाँचथरमा २०० हेक्टर, इलाममा १७० हेक्टर र धनकुटामा ८८ हेक्टरमा अकबरे खेती हुँदै आएको छ । अन्य जिल्लामा भने व्यावसायिक खेती भएको छैन ।
लगाएको छोटो अवधिमै आम्दानी लिन सकिने र बजारको अभाव नभएकाले अकबरे खेतीमा किसानको आकर्षण बढेको इलामको मंगलबारेका कृषक रामप्रसाद खनाल बताउँछन् । स्वदेश तथा विदेशमा पनि यसको माग राम्रो छ । अकबरेको खेती विस्तारसँगै प्रदेश सरकार यसको पकेट क्षेत्र घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
कोशी प्रदेश कृषि मन्त्रालयको तथ्यांकअनुसार इलाममा प्रत्येक वर्ष चार दशमलव दुई प्रतिशतका दरले अकबरेको खेती विस्तार भइरहेको छ । आव २०७५÷७६ मा १६३ हेक्टरमा खेती भएको थियो । उक्त वर्ष ५९६ मेट्रिक टन अकबरे उत्पादन भएको थियो । यस्तै, आव २०७६÷७७ मा १६५ हेक्टरमा अबकरे खेती हुँदा ६६० मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । आव २०७७÷७८ मा १७० हेक्टरमा ७१४ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८÷७९ मा १८० हेक्टरमा ९१८ मेट्रिक टन उत्पादन भएको थियो । आव २०८०÷८१ मा खेती विस्तार भइ उत्पादनमा पनि बृद्धी भएको भएपनि यो वर्षको उत्पादन तथ्यांक आइनसकेको मन्त्रालयले जनाएको छ ।
थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यहाँका किसानको रोजाइमा अकबरे खुर्सानी परेको हो । यस्तै, अकबरे खरीदका लागि व्यापारीहरू बारीमा नै पुग्ने भएकाले पनि किसानहरू यसको खेतीमा आकर्षित भएका हुन् ।
अकबरे उत्पादनको एक उदाहरण जिल्ला हो इलाम । घर वरिपरि लटरम्म फलेको अकबरे खुर्सानी । देख्नेलाई टपक्क टिपौँ र खाउँ जस्तो लाग्छ तर अकबरेको पिरो सहन जोकोहीलाई त्यति सहज हुँदैन । हदैसम्मको पिरो हुने अकबरेको गुन भने यो चाख्नेले नै अनुभव गरिरहेका हुन्छन् । त्यसैले यसको बिउको माग अधिक बढेको छ ।
इलामको सूर्योदय नगरपालिका–१२ का किसान मदन राईको घरबारीमा पुग्दा राई परिवारको परिश्रम र पसिना सबै अकबरेको बोटमा झुलेको देखिन्छ । करिब १५ वर्षयतादेखि अकबरेको खेती गर्दै आएका राईले पछिल्ला वर्षमा अकबरेको बियाँ उत्पादन गरेर बिक्री गर्दै आएको बताए । उनले भने – “गत वर्ष करिब १३ लाख रुपियाँको अकबरे बियाँ र फल बिक्री भएको थियो । यो वर्ष झन् चार सय किलो बियाँको माग आएको छ ।
सात रोपनी जमिनमा लगाइएको विभिन्न जातका अकबरेलाई एकआपसमा परागसेचन गराई नयाँ जात उत्पादन गरिएको राई बताउँछन् । जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको १५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क छ ।