हरेक वर्ष नयाँ–नयाँ अवसरको खोजी गर्दै चुनौतिका पहाडसँग लड्न सक्ने सामथ्र्य बोकेर नयाँ वर्ष भित्रने गर्दछ । आज फेरि हाम्रा घरघरका भित्तामा क्यालेन्डर फेरियो । नयाँ वर्ष २०८२ सुरू भएको छ । पुराना वर्ष त्यति सहज नदेखिए पनि, पुरानो वर्षभित्र गरिएको गतिविधि त्यति चित्त बुझ्दा नभए पनि नयाँ वर्ष ०८२ ले पक्कै पनि त्यसलाई सार्थकता पूर्वक साकार बनाउने छ भन्ने आशा त मरेको छैन । छुट्टै महिमा र ऐतिहासिकता तथा धार्मिकता बोकेको बसन्त ऋातुको पर्खाईलाई नयाँ वर्षले पुरा गर्ने भएकोले पनि अन्य सम्वत्को भन्दा दुर्लभ पनि मानिन्छ । संसारभरिको बसन्त हाम्रो जस्तै हुन्छ भन्न सकिँदैन । तर, हाम्रो वसन्त ऋतुका कयौं खास विशेषता छन् ।
जाडो तुरिएको हुन्छ, तर गर्मी चर्को भइसकेको हुँदैन । बोट विरुवामा नयाँ पालुवा पलाउँछन् । कयौं फूलहरू फक्रिएर हाँस्छन् यो ऋतुमा । ठूला चाडपर्वको घञ्चमञ्च हुँदैन । अतिरिक्त खर्चका अन्य पाटाहरू यतिखेर कमै आउँछन् र नयाँ वर्षको उल्लासमा आर्थिक सहजता थपिदिन्छन् । बिहेका लगन बाक्ला हुन्छन यही बेला । लाखौं युवायुवती जीवनको लगन–गाँठो कस्दछन् । सहयात्रा र साझा सपनाको जाल बुन्न थाल्दछन् ।
हामी नेपालीले बढो गज्जबको एक मानक बनाएका छौं विश्वमा गरिबी, बेथिति, भ्रष्टाचार, कुशासन, बेरोजगारी र अल्पआयस्तरमा बाँचेर पनि हामी खुसी हुन सक्दछौं । खुसी हुन सक्ने हाम्रो स्वभाव, हाम्रो तकात बढो विचित्रको छ । सम्भवतः हामीलाई खुसी हुन धन र भौतिक सम्पतिले हैन, अभौतिक सम्पदा र संस्कृतिले मद्दत गरेका छन् । अन्यथा हाम्रो खुसीको रहस्य फेला पार्न संसारलाई निक्कै गाह्रो पर्नेछ । स्वयम् हामी आफैँलाई गाह्रो पर्नेछ ।
व्यक्तिकै चरित्रको समुच्चयले राष्ट्रको चरित्र बन्ने हो । नयाँ वर्ष दुबैको हो– व्यक्तिको पनि, राष्ट्रको पनि । व्यक्ति जस्तै राष्ट्रले पनि नयाँ वर्षको खुसीयाली मनाउँछ । विगतको समीक्षा र सिंहावलोकन गर्दछ । नयाँ सपना बुन्छ । नयाँ योजना निर्माण गर्दछ । नयाँ संकल्प र इच्छाशक्ति जोगाड गर्दछ । देखेका सपनाहरुर्ला सार्थक तुल्याउनुको सट्टा बेच्न माहिर पनि छौं । शायद त्यसैको भुँमरीबाट उठेको हुनसक्छ अहिले सडकमा छरपष्ट रुपमा देखिएका असन्तुष्टिका आवाजहरु । शायद नयाँ वर्षले यि पुरा गर्ला भन्ने आशा, विश्वास र भरोसा पनि टुटिसकेको छैन । दुःखका साथ भन्नुपर्छ, बितेको वर्ष हाम्रा लागि खासै उपलब्धिपूर्ण रहेन । २०८१ मा हामीले राजनीतिमा चरम अवसरवाद र अनैतिकताको अभ्यासलाई निरन्तरता दियौं । सत्ता र शक्ति भन्दा बाहिर निस्कनै सकेनौं । त्यसैको चक्रब्युँहमा फसेका छौं । भ्रष्टाचार, सुशासनसहित देशमा धेरै विकृति र विसंगतिका डंगुर लागे । यसको निदान अब होला भन्ने पनि आशा बोकेकै छौं । आशावादी हुनुको के विकल्प छ ? नयाँ वर्षमा प्रवेश त गर्नै पर्दछ । नयाँ वर्ष साँचो अर्थमा खुसी र उमंग बन्ने दिन प्रतिक्षामै नेपालीको सैयौ वर्ष बितेका छन र त्यो दिनको पखाईमा रहँदै कामना गरौं कि आजको दिन नै त्यस्तो दिनको सुरुवात बनोस् । नयाँ वर्ष २०८२ साँच्चै सुशासन र स्वशासन र सामाजिक न्यायको वर्ष बनोस् । सबैको स्वाभिमान र सबैको समृद्धिको वर्ष बनोस् । नयाँ वर्ष २०८२ को हार्दिक तथा मंगलमय शुभकामना ।

Author

You may also like