खेल देश–समाज समाचार स्थानीय

दमक नगरपालिकामा दशैतिहारमा ब्याडमिन्टन प्रतियोगिता

दमक/ दमक नगरपालिकाले कर्मचारीको क्षमता अभिबृद्धि गर्दै उनीहरुको व्यक्तित्व विकास, अनुशासन तथा स्वस्थ रहनका लागि चाडपर्व लक्षित डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । बडादशैं र शुभ दिपावली तथा छठ पर्वको अवसरमा छुट्टाछुट्टै ब्याडमिन्टन खेलकुद प्रतियोगिता सञ्चालन गरेर विजेता टिमलाई पुरस्कृत समेत गरेको छ ।
पछिल्लो प्रतियोगिता दीपावली तथा छठ पर्वका अवसरमा आयोजना गरिएको थियो । दमक नगरपालिका परिसरमा पुरुष डबल ब्याडमिन्टन लिग प्रतियोगिता सञ्चालन गरिएको छ । दमक नगरपालिकामा कार्यरत कर्मचारीबीचको सो प्रतियोगिता तीन समुहमा विभाजित गरिएको थियो । नियमित रुपमा खेलिरहेका खेलाडीहरुसमेत सहभागी भएको सो प्रतियोगितामा समूह ‘ए’, वी’ र ’सी’ गरी ३ वटा डिभिजनमा वर्गीकरण गरि खेलाइएको थियो । लिगको आधारमा समूह प्रथम र दोश्रो हुने टिमलाई फाइनल खेलाइएको थियो । ‘ए’ डिभिजनमा ४ टीम, ‘वी’ डिभिजनमा ५ टीम, र ‘सी’ डिभिजनमा ४ टीमको सहभागीता रहेको थियो ।
प्राप्त खेल नतिजा अनुसार ‘ए’ डिभिजनबाट रोहन तामाङ र सर्जु धिमालको जोडी प्रथम भए भने धनकुमार योङया लिम्बु र मदन खत्रीको टीम दोस्रो भएको थियो । ‘बी’ डिभिजनबाट अनन्त सेनेहाङ र याम थुलुङको जोडी प्रथम तथा गणेश कार्की र प्रकाश बस्नेतको जोडी दोस्रो भएका थिए । यस्तै ‘सी’ डिभिजनबाट ब्रजेशकुमार मेहता र ओम प्रकाश राईको जोडी प्रथम भए भने सुनिल साहु र नरेश खवासको जोडी दोस्रो भएका थिए । प्रतियोगिता कै उत्कृष्ट र अनुशासित खेलाडीको पुरस्कारको ट्रफी प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले हात पारे । उक्त प्रतियोगिताको समापन कार्यक्रमको अध्यक्षता कार्यकारी प्रमुख कार्कीले गरेका थिए । सो समापन कार्यक्रमको प्रमुख आतिथ्यता नगरप्रमुख रामकुमार थापाले गरेका थिए । वडा नं. १ का वडाअध्यक्ष हरिप्रसाद न्यौपाने अतिथि रहेको सो कार्यक्रममा खेलाडी, खेलप्रेमी, कर्मचारी, नगरबासीहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । अनन्त सेनेहाङ खेल संयोजक रहेको उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख थापाले व्याडमिन्टन प्रतियोगिता खेलको महत्वको बारेमा प्रकाश पार्दै आगामी दिनमा यसको विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीले ब्याडमिन्टन खेलले नगर प्रहरी, कर्मचारीलगायत अन्य कर्मचारीहरुको शारीरिक तथा मानसिक विकासमा मद्दत पुगी चुस्त, दुरुस्त कार्य सम्पादन गर्न सकिने बताए । उनले कर्मचारी, जनप्रतिनिधिलगायत नागरिक– हरुसँग काम गर्न अनाुशासन र सकारात्मक सोच व्यवहारको विकास हुने कुरा सँगै आगामी दिनमा सबै कर्मचारी तथा जनप्रतिनिधिहरुले यो खेल खेल्नु पर्ने बताए । कार्यक्रम सञ्चालन नमूना ब्याडामिन्टन एकेडेमीका उपाध्यक्ष श्याम कार्कीले गरेका थिए ।

Author

You may also like