नेपालले सन् २०२५ लाई पर्यटन वर्षका रुपमा मनाइरहँदा अलि अलि पर्यटक भित्रिदा पनि खुशी हुनुपर्ने अवस्था आएको छ । शनिबार पूर्वी नाका काँकडभिट्टाबाट भित्रिएका पर्यटकको तथ्याङ्क बाहिरियो । त्यो समाचारबाटै यो क्षेत्र मात्र नभएर सामान्य मानिस पनि हर्षित भए । दुई महिनामा ८ सय ९० पर्यटक तेस्रो मुलुकबाट भित्रिएको अध्यागमन कार्यालय काँकडभिट्टाले सार्वजनिक ग¥र्यो । अक्टुबरमा विगत महिनाभन्दा नेपाल भित्रिने पर्यटकको संख्या बढेको बताएको छ । यस्तै अर्को तथ्याङ कोशी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको पनि आएको छ । एकै महिना असोजमा ९ हजार पर्यटक सगरमाथा क्षेत्र पुगेको बताइएको छ । यसरी पर्यटक आवागमन बढिरहँदा सरकारीतर्फबाट तिनीहरुको सुरक्षा, वस्तु, सेवा, सुविधाका बन्दोबस्ती, उचित व्यवहारसहितका नेपालप्रतिको दृष्टिकोणमा नकारात्मक प्रभाव नपर्ने खालको व्यवस्थापन मिलाउन आवश्यक देखिन्छ । जहाँ हरेक वर्ष लाखौं पर्यटक आउने गरेका र त्यहाँबाट प्रशस्त रोजगारी सृजना भएको पर्यटकीय स्थलको विषयमा पनि सरकार चिन्तित हुन आवश्यक छ ।
नेपालको अर्थव्यवस्थालाई टेको दिँदै नेपाललाई विश्वमाझ पु¥याउने ल्याकत बोकेको अर्थव्यवस्थाको महत्वपूर्ण पाटो हो पर्यटन । पर्यटनका क्षेत्रमा यस अगाडिका सरकारहरुले बडो महत्वका साथ बजेटिङ गर्दै आएकै हुन् । तर ति नेपाल भ्रमण वर्षका रुपमा मनाइएका ति वर्षहरु पर्यटनका लागि उपलब्धीमूलक बन्न नसकेपनि बजेट पनि सकिएका छन् । २०२० मा पर्यटन भित्र्याउने लक्ष्यको थोरै हिस्सा पनि समेट्न सकेन । अहिले २०२५ लाई पर्यटन वर्ष र २०८० लाई पर्यटक दशकका रुपमा लिइने उद्घोषका साथ सरकार अगाडि बढेको छ । त्यसो त अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीन तहकै सरकारहरुले पर्यटनलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । कोशी प्रदेशले पनि पर्यटन वर्ष २०८२ लाई मानेर यतिखेर निकै दौडधुप गरिरहेको छ । शेरधन राई मुख्यमन्त्री हुँदा पनि तत्कालिन प्रदेश १ ले निकै तमझामका साथ पर्यटनलाई अगाडि नबढाएको होइन तर यि सबै सिकाइका रुपमा अगाडि बढेका छन् प्रतिफल अहिलेसम्म देख्न सकिएको छैन । हिजोका दिनमा भएका गल्ति, कमी र कमजोरी केलाएर अगाडि बढ्ने भन्दा पनि बजेटिङ गरेर कसरी सिध्याउने भन्ने ध्याउन्न मात्र हो भने यसको कुनै औचित्य सकिन्छ । साँच्चिकै इमान्दारीता पूर्वक पर्यटन क्षेत्र विकास, संरक्षण र सम्बद्र्धनबाट नेपालको अर्थव्यस्थाका लागि एउटा महत्वपूर्ण क्षेत्र बन्छ भनेर लाग्ने हो यसमा ठूला ठूला दीर्घकालिन सम्भावनाहरु छन् । स्थानीय स्तरका ठाउँविशेषलाई माथि उठाउन र राज्यका निम्ति आयआर्जनको माध्यम बन्ने यो क्षेत्रको संरक्षण र सम्बद्र्धनमा इमान्दारिताको खाँचो छ ।
पर्यटन उत्सव नै नमनाउँदा पनि नेपालमा पर्यटकको खाँचो भने खासै भएको छैन । जस्तासुकै महामारी, विपत्तिमा पनि पर्यटकहरु नेपाल हेर्न लालयित देखिन्छन तर सरकारले पर्यटनलाई उत्सवका रुपमा लिएर जाँदाको नतिजा भने फरक आउनुपर्दछ । त्यसले त्यो क्षेत्रलाई उठाउन सक्नुपर्दछ । रोजगारी सृजना हुनुपर्दछ । तब मात्रै त्यसको सार्थकता हुने देखिन्छ ।