दमक/संविधान दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन २० परिवारलाई घर हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रम आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र चुच्चे नेपालको नक्साको आकारमा दीप प्रज्वलन गरी कानेपोखरी –२, प्रधान टोलमा २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण भएको हो ।
कानेपोखरी अध्यक्ष राजमती ईङ्नाम र मोरङ क्षेत्र –२ का संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलको प्रमुख आतिथ्यमा १० वटा पक्की दुई कोठे आवास निर्माण गरी गाउँपालिकाका अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
वि.सं २०७८ मा नै तत्कालीन गाउँपालिका– नेतृत्वले करिव १ विगाहा क्षेत्रफल खरीद गरेको स्थलमा आर्थिक वर्ष २०८०÷०८१ मा कूल १० वटा घर टहरा बनाई २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको थियो । १ करोड ३२ लाख रुपैयाँ बराबरको लागतमा आवास निर्माण भएको जानकारी गराइएको छ ।
सांसद् पोखरेलले सुकुम्बासी आयोग बन्ने क्रममा रहेको र नागरिकता सम्वन्धी समस्या समाधानका लागि एक समिति बनेको र हल हुने विश्वास ब्यक्त गरे । सोही क्रममा गाउँपालिका उपाध्यक्ष भोलानाथ अधिकारीले वर्षौदेखि लालपुर्जा विहीन जनताहरूलाई सुकुम्बासी समस्या समाधानका लागि संघीय सरकारले चाडो काम गर्न अनुरोध गरे । करिब १ हजार लालपुर्जा वितरण गर्न तयारी अवस्थामा राखिएको जनाउदै उच्चस्तरीय विशेष सुकुम्बासी समस्या आयोग निमार्ण भई भूमिहीनलाई लालपुर्जा प्रदान गर्न राज्यले भूमिहीन तथा सुकुम्बासी आयोग बनाउनुपर्ने भनाई राखे । कार्यक्रममा अति विपन्न राज कुमार राई लगायतका ५ जना अग्रज समाजसेवीलाई सम्मानित गरियो । सो अवसरमा विभिन्न सांस्कृतिक नृत्यहरू तथा नृत्य तथा विभिन्न जातिहरूको सांस्कृतिक नृत्यहरू प्रस्तुत भएका थिए ।