नेपालमा हुने जात्रा हिजोसम्म एउटा जाती विशेषमा सीमित थियो तर अब त्यो दायरा फराकिलो हुँदै सबै समुदायमाझमा पुगिसकेको छ । अब राष्ट्रिय सम्पत्तिका रुपमा रहेका नेपालका सांस्कृतिक धरोहरको उन्नयनका लागि फलदायी र प्रभावकारी ढंगले मनाउने उद्देश्य हुन आवश्यक देखिएको छ । खास गरेर हामीले मनाउने जात्राहरुलाई जात्राकै रुपमा मात्र नलिएर आयआर्जनको माध्यमसँग जोडेर लाने उद्देश्य राखिनुपर्दछ । यसको दायरा फराकिलो भएसँग अब यसलाई पर्यटनमुखी बनाउन सक्नु पर्दछ । हरेक जात्रामा विदेशी पर्यटकको आगमन गराउने कार्यक्रम तय हुनुपर्दछ ।
खास गरेर काठमाडौं र भक्तपुरका नेवारी समुदायबाट उब्जिएका यस्ता अमूल्य नेपाली सांस्कृतिक निधीहरुको संरक्षणमा अब फरक ढंगबाट लाग्न जरुरी देखिन्छ । नेवार समुदायभित्रको मौलिक संस्कृति बोकेका गाईजात्रा, रोपाईजात्रालगायतका दर्जन बढी जात्राहरु अब एउटा जाती विशेषमै सीमित रहेन । गाईजात्राका अवसरमा हुने विभिन्न जातजाति धर्म र समुदायले मनाउने तरिकाहरुले पनि अब यसलाई आयआर्जनसँग जोडेर पर्यटनमुखी मौलिक सांस्कृतिक पर्वका रुपमा रुपान्तरण गर्न सक्नुपर्दछ ।
गाईजात्रा नेवार जातिको मौलिक पर्व हो यसमा दुई मत छैन । तर आजभोलि गाईजात्रामात्र नभएर अन्य जात्रा र पर्वहरु पनि पर्यटनका लागि अध्ययन, अनुसन्धान र रोमाञ्चको विषयमा रुपान्तरित हुँदै गएका छन् । विक्रम सम्बत १६४१ मा प्रताप मल्लले आफ्नो छोरा मरेको वियोगमा रानीको विक्षिप्त मनलाई सामान्य अवस्थामा फर्काउन राजा प्रताप मल्लले वर्षभरिमा राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्ने गरी जात्रा निकाल्न आह्वान गरेपछि यसको सुरुआत भएको ऐतिहासिकता भेटिन्छ ।
गाईजात्रा नेवार जातिको धर्म संस्कृति र घटना जोडिएको छ । लाखेजात्रा, रोपाईंजात्रा, इन्द्रजात्रा, मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा, हाँडीगाउँको जात्रा, बोडेको जात्रा, गाईजात्रा, घोडेजात्रा, नालाको लोकेश्वरजात्रा, इन्द्रजात्रालगायत उपत्यकामा अहिले पनि धेरै जात्राहरु हुने गर्दछन् । उपत्यकाबाहिर पनि धेरै जात्रा अर्थात् मेलाहरुको सुरुआत भुरेटाकुरे राजाहरुको पालाबाट सुरुआत भएको पाइन्छ । अब यि सबै जाज्ञाहरुलाई पर्यटनमुखी बनाउने अभियानमा सबै लाग्न आवश्यक देखिन्छ ।
चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरुलाई अनुमति थिएन । सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एन्ड सनमार्फत् नेपालमा विदेशी पर्यटकहरु ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको अनुमतिसँगै संस्थागत रुपमा नेपालमा विदेशी पर्यटक भित्रिन सुरु भएको इतिहासलाई स्मरण गर्दै अब देशमा मनाईने हरेक पर्वहरु समाज परिवर्तन र आर्थिक उन्नतिमा लगानी गर्न सक्नु पर्दछ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार बन्न थालेको छ । पर्यटनको क्षेत्रमा नेपाल भित्रिने पर्यटकहरु नेपालीहरुले मान्ने चाड पर्व र संस्कृतिमा रमाउन थालेका छन । नेपालीहरुको धर्म संस्कृति प्रकृतिसँग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसँग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला र अन्य सांस्कृतिक उत्सवहरुमा पर्यटकहरु रमाउँछन् ।
शदियौंदेखि मौलिक रीतिरिवाज, भाषा, लिपि, पहिरन र जीवनशैली आज पनि विश्वको आकर्षणको केन्द्र भएर रहेको छ । यिनै सांस्कृतिक सम्पदालाई नजिकबाट हेर्न, ज्ञान लिन र त्यसको माध्यमबाट जीवनलाई धन्य बनाउन लाखौं विदेशी पर्यटकहरु नेपाल आउँछन् । सबैभन्दा लामो र पुरानो इतिहास बोकेको नेवारी संस्कृति परम्परादेखि आजपर्यन्त यथावत् छ । पुस्तान्तरण हुँदै परिभाजित तथा परिष्कृत रुपमा निर्वाह भइरहेको छ ।
यस्तै नेवारी समुदायको अभिन्न अंगका रुपमा रहेको गुठी उनीहरुको जन्मदेखि मृत्युसम्म जोडिएको संस्कृति हो । त्यही संस्कृतिले नेवार समुदायलाई ज्यूँदो राखेको छ । यसले नेवार समुदायलाई सामुहिकताको सूत्रमा बाँधेको छ, जुन विशेषता विश्व समुदायकै लागि उदाहरणीय बनेको छ । ब्राह्मण, क्षत्री, बैश्य, सूद्रमा विभाजित वर्ण व्यवस्था अनुसार आ–आफ्नो परम्परालाई जीवित राख्ने यो समुदायको अभ्यासलाई सबै भूगोलमा रहेका नेपालीले अनुशरण गर्दै पर्यटन प्रवद्र्धनमा मौलिक संस्कृतिको उपादेयता देखाउनुपर्दछ ।