समाचार

झापामा तीन गुणाले बढ्यो हात्तीको संख्या

२९ साउन, दमक । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको संख्या बृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा १०–१२ संख्यामा हात्ती रहेकोमा हाल उक्त संख्या ३० भन्दा धेरै छ ।
‘भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको संख्या बढ्दै गएको छ’, उनले भने, ‘आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।’
गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको संख्या बृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।
जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उनको भनाइ छ । ‘यसअघि कहिलै नपुग्ने ठाउँमा हात्ती पुगिरहेको छ’, उनले भने, ‘महिनैपिच्छे फल्नेगरी मकैखेती हुन थालेको छ, यसले गर्दा हात्तीको उपद्र बढेको छ ।’
हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ। हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताए ।
मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उनले जोड दिए । ‘मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ’, उनले भने, ‘हात्ती नियन्त्रणका लागि गुरुयोजना छैन, तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ ।’ हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उनले बताए। हात्ती समस्या कम गर्नका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै उनले भने, ‘हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयवासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने थियो।’
हात्तीले छावा जन्माउने, हुर्काउने कार्य गरिरहेको पनि जिल्लामा परम्परागत हात्तीको संख्या वृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले बताए। गत वर्ष तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सञ्चालन गरेको हात्ती प्रभावित क्षेत्रमा गरेको पदयात्राका क्रममा स्थानीयवासीले हात्तीले बच्चा जन्माएको, छावासहित हिँडिरहेको बताएको उनले सुनाए ।
हात्तीलाई जंगलभित्रै राख्ने प्रयास
हात्तीलाई वनजंगलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन्। जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जंगलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ । वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिए । वनमा केराका बिरुवासमेत रोपिएको छ ।
जिल्लामा आर्थिक वर्ष २०६७/६८ देखि आव २०८०/८१ सम्म ६७ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छभने २१ हात्तीको मरेका छन् । मृत्यु भएका मानिसमध्ये सातजना गैरनेपाली छन्। सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।
हात्तीमध्ये १० को नामकरण
जिल्लामा रहेका परम्परागत हात्तीमध्ये १० को नामकरण गरिएको छ। जिल्लामा रहेका हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रंगे गज नामकरण गरिएको छ ।
पर्यटन विकासमा प्रयोग गर्ने प्रयास
झापासहित पूर्वी नेपालमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुँदै गएपछि यसको न्यूनीकरणसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले हात्ती पर्यटन विकासका लागि प्रयास हुन थालेको छ । मानव र हात्तीबिचको सहअस्तित्व हात्ती पाइने क्षेत्रका प्रायजसो सबैको चासोको विषय भए पनि ठोस रुपमा काम अघि बढ्न सकेको छैन । फागुनको पहिलोसाता कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदारकार्कीले हात्ती हिँड्ने बाटोको अवलोकन र भ्रमण गरेपछि यस विषयले निक्कै चर्चा पाएको थियो ।
उनले झापाको बाहुनडाँगीदेखि उदयपुरको बेलटारसम्म जङ्गलनै जङ्गल सरोकारवाला निकायसहित २५० किलोमिटर पैदलयात्रा गर्नुभएको थियो । यसको उद्देश्य हात्ती पर्यटनको सम्भावाना खोज्नु रहेको बताइएको थियो । हात्ती करिडोर निर्माण तथा हात्तीको पुरानो जैविक बाटोको पहिचान गर्ने भनेर यो यात्रा भएको थियो । झापादेखि उदयपुरसम्मको हात्तीमैत्री पदयात्रा सरकारको तवरबाट पूर्वमा पहिलो पटक भएको भन्दै हात्ती संरक्षणकर्मीहरुले औपचारिकतामामात्र यात्रा सिमित नरहोस् भनेर सचेत पनि गराएका थिए । यो यात्राले हात्तीको संरक्षणमा जुट्नुपर्छ भन्ने सन्देश दिएको छ, तर अब काम कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी छ, मेचीनगर नगरपालिका वडा नं. ४ वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

Author

You may also like