१६ साउन, दमक । कोशी प्रदेशको मुख्यमन्त्रीमा ह्याट्रिक गरेका हिक्मत कुमार कार्की तेस्रो पटक मुख्यमन्त्री हुने वित्तिकै केन्द्रीय राजनीति परिवर्तन भयो ।
७ प्रदेशमध्ये अस्थिर बनेको कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री पदमा रहेकै बेला प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरी नेकपा एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि सत्तापक्ष र विपक्षी दलहरू आ–आफ्ना ’राजनीतिक दाउपेच’मा लागे ।
आमनिर्वाचन भएको करिब डेढ वर्षभित्रै कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तन भएको यो छैटौँ पटक हो । हिक्मत कुमार कार्की ३ पटक, उद्धव थापा २ पटक र केदार कार्कीसहित ६ पटक मुख्यमन्त्री भईसकेका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी मुख्यमन्त्री भएपछि केन्द्रीय राजनीतिमा समेत फेरबदल भयो । काग्रेस–एमालेको गठबन्धनमा नयाँ सरकार बन्ने भए पछि माओवादी सरकारमा रहने वा नरहने अनिश्चित भयो तर सरकारबाट माओवादी पनि बाहिरए पछि कोशी प्रदेश सरकार गठन हुन सकिरहेको छैन । नेपाली कांग्रेसलाई एमालेको भन्दा १ सिट कम दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री कार्कीले बताइरहे पछि नेपाली कांग्रेसभित्रको आफ्नो आन्तरिक किचलोको कारणले सरकारले पूर्णता पाउन नसकिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग सोमबार संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा कांग्रेस गठबन्धन सरकार बन्न थप एक दुई दिन लाग्ने समेत बताएका छन् । मुख्यमन्त्री कार्कीले अब सरकारको गठनको बल कांग्रेसको कोर्टमा रहेको पनि उल्लेख गरे । कांग्रेसले नाम दिए पछि सरकार बन्न कुनै समस्या नरहेको उनले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको सहमति र भागवण्डा अनुसार प्रदेशमा अघि बढ्ने प्रस्ट्याए । प्रदेशमा कांग्रेससंग सहकार्यबारे मुख्यमन्त्री कार्कीले भने, ‘यहाँको सन्दर्भमा माथि केन्द्रबाट जे टुंगिन्छ, त्यसमा हामी जानेछाँै । सरकार आलोपालो भन्ने राजनीतिक कुरा हो । केन्द्रले जे टुङ्ग्याउने छ त्यसमै अघि बढ्ने हो ।’
मन्त्रालय भागवण्डाको विषयमा मुख्यमन्त्री कार्कीले ९ वटा मन्त्रालयबाट संख्याको आधारमा बाँडफाँड गर्दा चार र पाँच हुने सहमति भएको पनि बताए । उनका अनुसार मुख्यमन्त्रीसहित एमालेले एक मन्त्रालय बढि लिने र कांग्रेसले एक सिट कम लिनेमा सहमति भएको प्रष्ट्याए ।
कांग्रेसमा किचलो उस्तै
एमालेसँग सरकारमा चार मन्त्रालय लिने सहमति गरेपछि सोमबार विराटनगरमा काँग्रेसको प्रदेश कार्यसम्पादन समितिको बैठक बसेको थियो । तर, बैठकले कुनै ठोस निर्णय गर्न सकेन । जसको कारण सरकार विस्तार कहिले हुन्छ भन्नेबारे नेता उद्धव थापासँग पनि प्रष्ट जवाफ छैन । ’निर्णय आइसकेको छैन, अझै केहि दिन लाग्ला’ उनले भने । दलका नेता थापाले भने मन्त्रीको नाम पार्टी सभापतिले दिएपछि मात्र सरकार विस्तार हुने अवस्था रहेको बताएका छन् । ’मन्त्री को बन्ने भन्ने निर्णय हामीले गर्ने अवस्था छैन’ उनले भने, ’त्यो निर्णय पार्टी केन्द्र र सभापतिले गर्ने हो । सभापतिले नाम दिएपछि सरकार विस्तार हुन्छ ।’
काँग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले केन्द्रीय नेताहरुमा देखिएको समस्याकै कारण प्रदेश सरकारमा सरकारमा जान ढिलाई भएको बताएका छन् । ’माथि नै समस्या देखियो । हाम्रो तलको समस्या होइन,’ उनले भने, ’नेताहरुले मन्त्रीको नामावली दिएपछि मन्त्रीमण्डलमा सहभागीता हुन्छ । अझै एक हप्ता लाग्नसक्छ ।’ आफू मन्त्रीको दौडमा नरहेपनि पार्टीका २९ सांसदमध्ये २ जना पूर्वमुख्यमन्त्रीबाहेक २७ जना नै आकांक्षी रहेको उनले सुनाए । काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट २ जना, डाक्टर शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला समूहबाट १ जना मन्त्री हुने चर्चा छ । देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गामको नाम चर्चामा छन् ।
उता, शेखर कोइराला समूहबाट मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरीमध्येबाट मन्त्री बन्ने चर्चा छ । सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई छन् ।
काँग्रेसमा सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठलगायत पनि मन्त्री बन्ने लविङमा रहेका छन् । उनीहरुमध्येबाट राज्यमन्त्री बन्ने संभावना रहेको बताइन्छ ।