स्वास्थ्य

किन र कसरी हुन्छ नाक, कान र घाँटीमा एलर्जी ?

मानिसका संवेदनशील अङ्गहरुमा नाक, कान र घाँटी पनि पर्दछन् । बाहिरी वातावरणसँग प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहने यी अङ्गहरुले विभिन्न प्रकारका वातवरणीय प्रभावको सामना गर्नु पर्दछ । दुषित वातावरणका कारण विभिन्न खाले सरुवा रोग यिनै नाक, मुख आदिबाट सर्ने हुन्छ भने शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्दै जाँदा विभिन्न रोग र एलर्जीबाट नाक, कान, घाँटी असरग्रस्त हुने क्रम वढेर गएको विभिन्न अध्ययनले देखाएको छ । अझ वातावरणमा देखिएको उच्च प्रदुषणले त झनै भयावह अवस्था नआउला भन्न सकिन्न ।

वातावरणमा फैलिने सरुवा रोगहरु धेरै प्रकारका र केही समयमै उपचार नपाए ज्यान लिने पनि हुन्छन् । जस्तै, क्षयरोग, निमोनिया आदि आदि । विरामी व्यक्तिले खोक्दा या हाँच्छिउ गर्दा नजिकमा रहेको व्यक्तिमा हावा या थुक, खकारको माध्यमबाट सर्ने गर्छ । यो रोगको उपचार समयमा हुन नसके मुत्यु हुनसक्छ । यस्ता धेरै रोगका किटाणुहरुसँग बच्न या आफ्रनाे सुरक्षा गर्न जान्नु पहिलो महत्वको कुरा हो । दोस्रो, वातावरणको धुलो, धुँवा, अस्वस्थ वातावरण र खानपानबाट कसरी बच्ने भन्ने कुराको पनि जानकारी लिएर धेरै प्रकारका सरुवा रोगबाट बच्न सकिन्छ । या नसर्ने तर शरीरमा रहेको रोगलाई वढावा दिन प्रत्यक्ष सहयोग गर्ने कारण (एलर्जन्स) हरुको ज्ञान लिएर पनि विभिन्न रोगबाट वच्न सकिन्छ ।

मानिसको शरीरमा विशेष गरेर २ प्रकारका रोगहरुको अवस्था या सम्भावना रहन्छ । एउटा नयाँ र अर्को पुरानो । नयाँ रोग केही दिनकालागि शरीरमा देखापर्छ । जसको उपचार पनि चाँडो र प्रभावकारी रुपमा हुनुपर्छ, नभए ज्यान पनि जान सक्छ । धेरैजसो यस्ता रोग केही दिनको आराम र औषधीको सेवनबाट निको हुन्छन् । जसको मुख्य कारण संक्रमण हो । यिनै रोगमध्ये केही रोगहरु पटक पटक देखा पर्ने गर्छन् । या शरीरको कुनै एउटा अङ्गमा स्थायी रुपमा बसेर सामान्य जीवनमा असर देखाउँछन् । नयाँ रुपमा आएका रोग निको नभएर लामो समयसम्म शरीरमा रहिरहन्छ भने त्यस्ता रोगलाई पुरानो रोग (क्रोनिक डिजिज) या केही रोगलाई ‘एलर्जी’ भनिन्छ । नाक, कान, घाँटीको उदाहरण लिने हो भने पुरानो घाटी दुख्ने, पिनास, रुघामर्की लागिरहने, कान पाकिरहने या चिलाउने, बन्द भएको जस्तो भइरहने, नाकमा ऐजेरु (पोलीप) पलाउने, बन्द हुने, टन्सिल वढ्ने, घाँटी रातो हुने र दुखिरहने (एलर्जिक फ्याररिन्जाइटिस) मुख्य हुन् ।

आजकल धेरैजसो महिलाहरुमा देखा पर्ने रोग हो थाइराइड । समयमा थाहा नहुँदा यो रोगका कारण धेरै माहिलाहरुले अनावश्यक औषधी खानु परेको छ भने विभिन्न पीडाबाट गुज्रिनु परिरहेको छ । थाइराइड रोग पनि शरीरलाई सामान्य अवस्थामा राख्ने शक्तिको कमीले हुने या देखापर्ने गर्छ । जसले थाइराइड हर्मोनलाई अनियन्त्रित गर्दछ ।

त्यसैले हरेक मानिसले स्वस्थ सम्बन्धी जानकारी लिनु र केही समस्या भए बेलैमा चिकित्सकसँग आफुलाई भएको समस्या र हुन सक्ने अन्य समस्याका बारेका जानकारी लिनु अत्यन्तै जरुरी हुन्छ । नाक, कान र घाँटीमा हुने केही रोग र तिनको उपचार विधिका बारेमा तल वर्णन गरिएको छ ।

विषेश गरेर केटाकेटीमा कान पाक्ने समस्या धेरै हुन्छ । यसको उचित जानकारी र उपचार विधि नअपनाएमा बुढो हुन्जेलसम्म पनि कान पाक्ने र कान नसुन्ने समस्या रहिरहन्छ । यसको निदानका लागि कि त नाक, कान, घाँटी रोग विषेशज्ञसँग जचाउने नभए होयिोप्याथिक चिकित्सा अपनाउने । यो विधिबाट कान पाक्ने समस्याबाट सदाकालागि छुटकारा मिल्छ । नाकमा ऐजेरु पलाएमा, नाक बन्द हुने गरेमा धुँवा धुलोले असर गरेमा रोग प्रतिरोधात्मक क्षमता वढाउने ओषधी या अग्र्यानिक खाद्य पदार्थको सेवन गर्ने र योग अभ्यासमा जोड दिने । एेंजेरुको उपचार एलोप्याथिकमा अप्रेशन भएकाले बल्जिने सम्भावना धेरै हुन्छ । यसमा पनि होमियाप्याथिक उपचार धेरै प्रभावकारी रहेको छ । यसरी नै पिनास अर्को समस्या हो आम मानिसमा । समयमै सही उपचार नभएमा यसले पनि जीवनभर सताउने गर्छ । नाक बन्द हुनु, मध्यान्नतिर धेरै टाउको दुख्नु, विभिन्न प्रकारका खाद्य पदार्थको सेवनबाट पीडा बल्जिनु जस्तै चिसो खाना या चिसोमा जानु र नुहाउनु । अर्को धेरै मानिसमा देख परिरहेको समस्या हो घाँटी दुख्नु, चिलाउनु, रातो हुनु टन्सिल सुन्निनु, निल्न असजिलो हुनु । पटक पटक घाँटी सम्बन्धी यस्ता समस्या देखिएमा रगतमा एउटा जाँच गराउनु आवश्यक हुन्छ । त्यो जाँच हो एएसओ टाइटर । यो भनेको एक प्रकारको किटाणुको पटक पटकको आक्रमण हो । जसले मुटुलाई पनि असर गर्ने हुँदा लामो समयदेखि या केही समयको अन्तरालमा कडा घाँटी दुखेमा माथि भनिएको जाँच चिकित्सकको सल्लाहमा गराउनु उचित हुन्छ । आन्तिरिक शक्तिको कमी भएका विशेष गरेर बालबच्चाहरु घाँटी दुख्ने समस्याका कारण मुटु सम्बन्धी रोगबाट पीडित हुन पुग्छन् । समयमै घाँटी दुख्ने रोगको सही उपचार नपाएमा । यस्तै माथि भनिएको थाइराइड सम्बन्धी समस्या धेरै देखिन थालेको छ आजकाल । यो रोगका बारे सर्वसाधारणमा जानकारी हुने सार्वजनिक कार्यक्रम हुनु र गराउनु जरुरी छ । यसको रक्त परीक्षण पनि केही महंगो, समय लाग्ने र सबै ठाउँमा नहुने हँुदा विरामीमा नकारात्मक प्रभाव परेको देखिन्छ । यसको उपचारका बारेमा अन्य (होमियोप्याथिक र आयुर्बेद) चिकित्सा विधामा पनि चासो राख्नु उपयुक्त हुन्छ । किनभने त्यहाँ पनि उपचार हुन्छ भन्ने जानकारी हुनुपर्छ । यो भनेको विरामीको स्वतन्त्रता हो ।
थाइराइड आफंै रोग होइन यो एउटा ग्रन्थी हो जो घाटीको बिचमा पुतली आकारमा रहेको हुन्छ । यसले निष्काशन गर्ने रसरागले खाना पचाउने, शक्ति प्रदान गर्ने, शरीरको वृद्धि विकासमा भूमिका खेलेको हुन्छ । यदि विभिन्न कारणबाट यो ग्रन्थीले भनेजस्तो र आवश्यकता अनुसार काम गर्न सकेन या धेरै रसराग उत्पन्न गर्न थाल्यो भने थाइराइड समस्याका रुपमा व्याख्या गरिन्छ । हाइपर या हाइपो थाइराइडिजम नामले यसलाई चिनिन्छ । हाइपरको अवस्थामा धेरै रसराग उत्पन्न भएर शरीरको मेटाबोलिजम उच्च हुने जसका कारण शरीर सुक्दै जाने, गर्मी धेरै हुने, मुटुको गति तीब्र हुने, पसिना धेरै आउने, आँखाका दाना विस्तारै बाहिर निस्कने आदि लक्षण देखा पर्छन् भने हाइपोमा ज्यान मोटो हुँदै जाने, पसिना कम आउने, जाँगर नलाग्ने, कमजोरी वढ्ने, खाना नरुच्ने, जीउ सुन्निने, आदि समस्या देखिन्छन् । समयमै जाँच र उपचार भएमा ठिक हुन्छ ।
अन्त्यमा, हाम्रो शरीर नै धेरैजसो रोगको नियन्त्रण गर्ने शक्ति हो । शरीरमै रोग प्रतिरोधात्मक क्षमता बन्ने गर्छ । विभिन्न बाहिरी र भित्री कारणले जब शरीर कमजोर हुन पुग्छ । यो अवस्थामा ती बाहिरी तत्वहरु एलर्जीको रुपमा या कुनै रोगको रुपमा शरीरमा विभिन्न भागमा देखा पर्न थाल्छन् । विशेष गरेर नाक र घाँटीमा हुने एलर्जी जस्तै नाक चिलाउने, धेरै पटक हाँच्छिउ आउने, पातलो पानी जस्तो सिगान बग्ने, अलिकति चिसो हावा या धुलोधुवा सहन नसक्ने, बारबार कान पाक्ने, घाँटी दुख्ने, अचानक सास फेर्न असहज हुने, जिउ चिलाउने, डाबर आउने जस्ता लक्षणहरु एलर्जी हुन् । यस्ता लक्षणहरुको उपचार गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता वढाउने खालको उपचार गर्दा रोग निको हुन्छ । यसकालागि चिकित्सकले अन्य चिकित्सा विधिको वारेमा जान्नु जरुरी हुन्छ । यो अवस्थामा शरीरमा रोग प्रतिरोधी क्षमता वढाउने औषधी चाहिन्छ, जो होमियोप्याथिक औषधीमा हुन्छ । हुन त एउटा विधाको चिकित्सकले आप्mनो विधामात्र राम्रो र हामीमात्र सफल उपचार दिन सक्छौ भन्ने भान भएपनि आजसम्म कुनै पनि विधा पूर्ण रुपमा सफल नभएको घाम जस्तै छर्लङ छ । त्यसैले हरेक चिकित्सा विज्ञानको पढाई हुँदा अन्य चिकित्सा विज्ञानका बारेमा पनि साराशंमा पढाइनु उचित हुन्छ । यसको फाइदा चिकित्सक र विरामी दुबैमा देखिन्छ । यसको पूर्ति गर्न हरेक कक्षामा स्वास्थ सम्बन्धी जानकारीमुलक पाठ्य सामग्री राख्नु जरुरी देखिन्छ भने औषधी विज्ञान अध्ययन गर्ने हरेक विद्यार्थीलाई अन्य विधाका बारेमा अध्ययन गराउन पाठ्यक्रमको परिवर्तन र जानकारीमूलक सामग्री राख्नु जरुरी हुन्छ । र, एउटा विधाको चिकित्सकले अर्को विधाको चिकित्साकसँग गर्ने व्यवहार र विरामी पठाउने सौहाद्र्रता हुनु विरामीका लागि राम्रो हो भने चिकित्सकको मानवीय गुण पनि हो ।

(डा न्यौपाने रीता होमियो क्लिनिक सेन्टर दमकका संचालक पनि हुन् ।)

Author

You may also like