स्वास्थ्य

घुर्ने बानीका कारण मुटु उच्च रक्तचाप र चिनी रोगलाई नराम्रो असर पार्छ डा.निर्मला

भक्तपुर , नाक, कान, घाँटी विशेषज्ञ डा.निर्मला तामाङका अनुसार धेरैको निद्रामा घुर्ने बानी हुन्छ, वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको छु भन्ने आफैँलाई थाहा हुन्न । उनले निद्रामा घुर्ने बानी मोटोपना भएका र ज्येष्ठ नागरिकमा धेरै हुने जानकारी दिइन् ।

घुर्ने बानी पनि एक प्रकारको रोग हो भनेर थाहा नभएको हुनसक्छ तर यो घातक रोग भएको प्रस्ट पार्दै डा. तामाङले भने, “घुर्ने बानीका कारण मुटु, उच्च रक्तचाप र चिनी रोगलाई नराम्रो असर पार्छ, त्यसकारण यसलाई समयमा नै उपचार गर्नुपर्छ ।”

 

डा. तामाङले घुर्ने बानी भएको मानिस राति सुत्न सकेको हुँदैन, त्यसैले दिउँसो बढी निद्रा लाग्ने, गाडी, कार्यालय वा विद्यालयमा पनि एकैछिन बस्दा पनि निदाउने जानकारी दिइन् । सानो बच्चालाई घुर्ने समस्या हुनसक्ने जानकारी दिँदै चिकित्सकको सल्लाह लिनुपर्ने धारणा व्यक्त गरे ।

यसलाई धेरैले रोगभन्दा पनि सामान्य समस्याका रूपमा हेर्दै आइरहेका छन् । “मेरो निद्रामा घुर्ने बानी छ, यो रोग हो रु भनेर अस्पताल जाने व्यक्तिको सङ्ख्या निकै कम पाउँछौँ,” उनले थपे, “निद्रामा घुर्ने बानी कुनै रोगकै कारणले पनि हुने गरेको हुन्छ ।”

उपचार र बच्ने उपायका बारेमा डा. तामाङ भन्छिन्, “साधारण घुराइ मोटोपन हुनेहरू अथवा अन्य स्वस्थ मानिसलाई हुनसक्छ तर यसमा ‘स्लिप एप्निया’मा जस्तो श्वास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन । ‘स्लिप एप्निया’ हुनेहरूलाई निदाएको बेला गर्धनभित्रको श्वासनली साँघुरो भई केही बेरका लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ ।
अल्पकालीन परिणाममा मुटुको चाल गडबड हुने तथा हृदयाघात हार्ट अट्याकदेखि लिएर दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक असरहरू हुन सक्ने भएकाले शङ्का लाग्नेबित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

You may also like