समाचार

उर्लाबारीका महिलाहरु नौमती बाजा बजाउँदै

उर्लाबारी, ७ असोज-
नौमती बाजा नेपालीको पुरानो मौलिक बाजा हो । यसलाई खास एक जातिले मात्र बजाउनु पर्छ भन्ने मान्यताका कारण पछिल्लो समय यो लोप हुने अवस्थामा पुगेको कुरालाई मध्यनजर गर्दै यसबेला उर्लाबारीका महिलाहरु नौमती बाजा संरक्षणमा जुटेका छन् ।
उर्लाबारी-४ आइतबारेको ज्ञानोदय हरि किर्तन मण्डलीमा आवद्ध महिलाहरुले ज्ञानोदय नौमती बाजा समूह बनाएका छन् । बाजा बजाउने मानिसको अभावका कारण पछिल्लो समय गाउँघरबाट बाजा नै लोप हँुदै गएकोले आफूहरु बाजा संरक्षणमा जुटेको समूहकी संयोजक रेनुका डाँगीले बताइन् ।
समूहमा आवद्ध ११ जना महिलाले स्थानीय रतन नेपाली र मनबहादुर महराबाट बाजा बजाउने १५ दिने तालिम लिएर बाजा पनि खरिद गरेका छन् । नेपाली कला संस्कृतिको जगेर्ना गर्ने तथा नौमती बाजा संरक्षण गर्ने उद्देश्य अनुरूप आफूहरुले बाजा बजाउन सिकेको संयोजक डाँगीको भनाइ छ ।
समूहले खरिद गरेको नयाँ बाजा एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले बाजा उद्घाटन गर्दै लोप हुन लागेको संस्कृति संरक्षणमा महिलाहरु लागेकोमा प्रशंसा सहित खुसी व्यक्त गरिन् । पहिले चुलाचौकामा मात्र सीमित पारिने महिलाहरु अहिले यो अवस्थासम्म आइपुग्नु गर्वको कुरा भएको उनको बुझाइ छ । नौमती बाजा समूहलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने समेत उनले वचन दिएकी छन् ।
यस्तै, कार्यक्रममा बोल्दै ४ नम्बर वडाध्यक्ष कल्याणकुमार राईले हिजो एउटा जाति विशेषले बजाउने गरेको नौमती बाजा अहिले महिलाहरुले सुरु गरेर सामाजिक क्रान्ति ल्याएको ठहर गरेका छन् ।
बाजा खरिदका लागि उर्लाबारी-४ वडा कार्यालय र नगरपालिकाले सहयोग गरेका छन् । उनीहरुलाई बाजा खरिद र तालिम लिँदा २ लाख २० हजार रुपैयाँ खर्च भएको छ । जसमा वडा कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट ८० हजार रुपैयाँ दिएको छ भने थप रकम उर्लाबारी नगरपालिकासँग माग गरेका छन् ।
बाजा समूहको संयोजकमा रेनुका डाँगी, सहसंयोजकमा तुलसा ओझासहित विमला तिम्सिना, कविता घोर्साने, सुनिता पौडेल, तारा भण्डारी, अम्बिका खड्का, कणर्कुमारी राई, हिमा घोर्साने, निर्मला कार्की र हेमन्ता खतिवडा रहेका छन् । उनीहरुले बाजा बजाउन सिकेका छन् । ‘नौमती बाजा बजाउन सिक्यौँ, अब विवाहलगायत शुभकार्यमा कसैले निमन्त्रणा गर्नुभयो भने हामी बजाउन जान्छौँ’ संयोजक डाँगीले भनिन् ‘अब हामी नौमती बाजालाई मर्न दिँदैनौँ । यसलाई अरु लोकप्रिय बनाएर जनजनमा झन् स्थापित गराएर लान्छौँ ।’

Author

You may also like