दमक, ३० भदौ-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार काण्डमा जोडिएका कांग्रेसकै नेता भए पनि कारबाही हुनु पर्ने बताएका छन् ।
शुक्रबार झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले दमकमा आयोजना गरेको क्षेत्रीय सम्मेलनका प्रमुख अतिथि शर्माले सो कुरा बताएका हुन् । यस अघि चर्चामा आएका सबै भ्रष्टाचार काण्डका घटनाहरु निश्पक्ष छानविन गरी दोषी देखिएका सबैलाई कारबाही हुनु पर्नेमा नेपाली कांग्रेस स्पष्ट रहेको भन्दै उनले भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही हुनै पर्ने बताए । उनले भने ‘भ्रष्टाचारमा संलग्न जो सुकै भए पनि उनीहरुको राजनैतिक पक्षधरता नहेरी कारबाही गर्नुपर्छ ।’
अहिले नेपालमा केहि भएन भनेर नागरिकलाई निराशाको ब्यापार भइरहेको भन्दै उनले कांग्रेसले आशाको सञ्चार गराउनु पर्ने बताए । ‘नेपालमा केहि भएको र धेरै हुनबाँकी रहेकोले हामीले नै बनाउने हो ।’– उनले भने । नागरिकमा आशाको सञ्चार गराउनु पर्ने बेला आएकाले कांग्रेस कार्यकर्ताले चुनावलाई प्राथमिकतामा राखेर भन्दा पनि समाजलाई सकारात्मक बनाउने दिशामा काम गर्नु पर्ने उनले सुझाव दिए । चुनाव हार जित सामान्य कुरा भएको भन्दै उनले हार्दिकता, प्रेम, सद््भावको समाज निर्माण गर्नु पर्नेमा जोड दिए ।
कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य द्वय गोमा भट्टराई र सुशीला ढकाल, कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो, झापा जिल्ला सभापति देउकुमार थेवे लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका छन् । सो अवसरमा सामुहिक दर खाने कार्यक्रम समेत भएको थियो ।