देश–समाज मुख्य

उर्लाबारीमा ५५ प्रतिशत उपभोक्ताले तिर्छन् अनलाइनबाटै महसुल

घनश्याम भण्डारी
-उर्लाबारी ÷ सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था पनि क्रमशः डिजिटलाइज हुँदै गएको छ ।
केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरण राखेर सेवा प्रदान गरिरहेको संस्था अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएको छ । उर्लाबारी खानेपानीले मिटर रिडिङ, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणालीलगायतका प्रणाली तथा प्रविधिको विकास गरेको कार्यालय प्रमुख राजु बुढाथोकीले बताए ।
सन् २०२७ भित्र सबै उर्लाबारीवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम अघि बढाइरहेको उर्लाबारी खानेपानीका ५५ प्रतिशत उपभोक्ताले अनलाइनबाट महसुल तिर्दै आएको प्रमुख बुढाथोकील जानकारी दिए । प्रविधिको प्रयोगले उपभोक्तालाई निकै सहजता भएको छ । उपभोक्ताले आफ्नो खानेपानीको महसुलको बिल पनि आफ्नो मोबाइलबाटै जानकारी पाएका छन् । महसुल मोबाइलबाटै भुक्तानी गरिरहेका छन् । जसले गर्दा उनीहरूको समय र खर्च दुवै वचत भइरहेको छ । उर्लाबारीमा गत असार मसान्तसम्म ७ हजार २ सय ६८ धारा वितरण गरिएकोमा करीब ४ हजारले अनलाइनबाटै महसुल भुक्तानी गर्दै आएको बुढाथोकीले बताए ।
प्रविधिको प्रयोगले खानेपानी संस्था परदर्शी र उपभोक्ताप्रति जवाफदेही समेत हँुदै गएको संस्थाका अध्यक्ष चिन्तामणि पौड्यालले बताए । प्रविधिको प्रयोग गर्दा ढड्डा, फाराम, रसिदजस्ता कागजी वस्तुको प्रयोग गर्दा जस्तो समस्या नआउने उनको बुझाई छ ।
उर्लाबारी खानेपानीले मिटर रिडिङ मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । यसले मिटर रिडिङ मेसिनमार्फत घरघरमै पुगेर थर्मल पेपरमा ग्राहकले तिर्नुपर्ने रकम प्रिन्ट गरेर दिन्छ । मिटर रिडिङ गरेको र रकम भुक्तानी लिएको विवरण कुनै पनि स्थानबाट सिधै सफ्टवेयरमा अपडेट हुन्छ । यस सुविधाबाट मिटर रिडिङ र महसुल संकलनको कामलाई पारदर्शी बनाएको अध्यक्ष पौडेल बताउँछन् । ‘यसअघि कागजी बिल प्रयोग गर्दा बिल हराउने, कार्यालयको ढड्डामा अपडेट गर्न बिर्सिनेजस्ता समस्या आउने गरेका थिए’ उनले भने, ‘सिधै सफ्टवेयरमा अपडेट हुने हुँदा यसबाट ग्राहक र संस्था दुवैलाई काम गर्न सहज भएको छ ।’

Author

You may also like