विन्दु दहाल मुकदर्शक-
खान्छन् मात्र सधैँ प्रशस्त यिनले मान्छे कतै मार्दछ्न् ।
सक्छन् अन्नभण्डार शून्य जहिले अत्यास नै पार्दछन् ।।
पस्दा गाउँ डराउँछन् सब जना कस्तो भयो रौरव ।
यस्ता राक्षस खन्चुवा गजहरू पाल्दै नपालौँ अब ।।
हान्छन् मात्र सधैँ निरीह जनता बाली सबै चर्दछन् ।
बाच्छी मात्र लघार्दछन् हरघडी डङ्का कडा गर्दछन् ।।
जे जे गर्न हुँदैन कार्य विधिले थाल्दै नथालौँ सब ।
भो भो पाल्न सकिन्न मित्र बुझ लौ साँढे नपालौँ अब ।।
राँगा गोरुहरू अझै कति यहाँ नार्दा सधैँ सुत्दछन् ।
बोका छन् मसिना तथापि विधिमै मौका परे मुत्दछन् ।।
जे जे पाल्न सकिन्न आज सब यी सम्झेर खेदौं सब ।
मान्दैनन् विधि ऐन कानुनहरू राँगा नपालौँ अब ।।
खान्छन् आँसु बगाउँछन्न् मनखुसी गर्छन् ठूलो नाटक ।
गौंडा ढुक्न सिपालु छन् गजबले मान्दै नमानी धक ।।
यो आफ्नै घर जो डढाँउन सखे राँको नबालौं अब ।
पारे ध्वस्त सबै अझै मुलुक यो गोही नपालौँ अब ।।
ल्याई पाल्नु हुँदैन सिंह घरमा आफ्ना हुँदैनन् कवै ।
खेदौं स्याल जुका र श्वेत धमिरा लोर्भा बिराला सबै ।।
जे जे पाल्न सकिन्न आज घरमा सम्झेर खेदौँ पर ।
खेद्ने काम छिटो गरौं सुजन हो भो भो नमानौँ डर ।।
ः दमक, झापा
……………………………