दमक÷ झापाको दमकमा सरकारी दमक अस्पतालमा पहिलो पटक थाइराइडको सफल अप्रेसन भएको छ । अस्पतालका घाँटी रोग विशेषज्ञ डा. अरुण सापकोटा सहितको टिमले यो अप्रेसन गरेको दमक अस्पतालकी सूचना अधिकारी देवी दङ्गालले जानकारी दिइन् ।
इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ की ५२ वर्षीय रनमती फागोको घाँटीमा नदुख्ने खालको मासु पलाएको र त्यो परीक्षण गर्दा थाइराइड देखिएको थियो । झापाका विभिन्न अस्पतालमा जाँदा अप्रेसन नभएको र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समय कुर्नुपर्ने भएपछि बिरामीले यहीँ उपचार गर्ने बताएपछि अप्रेसन भएको हो ।
अस्पतालका विभिन्न सेवालाई थप व्यवस्थित गर्न नयाँ भवनमा मोडुलर अप्रेसन कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा थाइराइडको अप्रेसन यही सफल भएको अस्पताल विकास समितिका संयोजक समेत रहनुभएका दमक नगरपालिका प्रमुख रामकुमार थापाले बताए । “हामी अस्पतालका सेवालाई थप व्यवस्थित गर्दै लैजादैछौं र यो एउटा नयाँ सेवाको पनि सुरुवात हो”, थापाले भने ।
यस प्रकारको थाइराइडको अप्रेसन दमकमै पहिलो पटक गरिएको पनि उनले वताए । “सरकारी अस्पतालमा यो सेवा सुरु गर्न पाउँदा हामी खुसी छौँ,” उनले भनिन् । नगर अस्पतालको रूपमा रहेको दमक अस्पतालले आफ्नो सेवा विस्तार सहित यस प्रकारका सेवा दिन सुरु गरेको जनाइएको छ ।
सरकारी दमक अस्पतालमा दैनिक एक हजारदेखि १५ सयसम्म बिरामीहरू आउने गरेका छन् ।