मुख्य

बाबुको काजकिरियामा छोरी

दमक/ नेपाली हिन्दु समाजमा प्रायःजसो कसैको मृत्यु हुँदा छोराले काजकिरिया गर्ने चलन छ । तर पछिल्ला वर्षहरुमा कतिपय परिवारमा छोरा नभएको अवस्थामा छोरीहरुले पनि आफ्ना माता पिता स्वर्गवास हुँदा काजकिरिया गर्ने क्रम बढेको छ । यसैक्रममा यही साउन १२ गते दिवंगत भएका झापाको दमक नगरपालिका–६ का अशोक गुरुङ (श्रेष्ठ) को हकमा पनि यस्तै नयाँ कार्य भइरहेको छ ।
सामाजिक व्यक्तित्वका रुपमा दमकमा चिनिएका श्रेष्ठका तीन छोरीहरुले उनको आत्माको चिरशान्तिको कामना गर्दै काजकिरिया गरिरहेका छन् । अशोकका छोरा थिएनन्, त्यसैले विवाहित रहेका जेठी छोरी भिषा र माहिली सोफियाले ५ दिनसम्म सेतो लुगा लगाएर बरखी बारे भने कान्छी युनिका अविवाहित रहेकाले आज आइतबार १० औं दिन सम्म पनि सेतो वस्त्रमै कोरामा बसिरहेकी छन् । उनले १२ औं दिनसम्मनै सेतो वस्त्रमा काजकिरिया गर्ने भएकी छन् । अशोककी श्रीमती फुलमाया पनि दिवंगत पति अशोकको काजकिरियामा छिन् ।
बाँचुन्जेलसम्म पनि अशोकले आफ्ना छोरीहरुलाई छोराकै व्यवहार गरेको र बोलाउँदा पनि ‘बेटा’ भनेर बोलाउने गरेकाले अहिले आएर किन आफैँ काजकिरिया नगर्ने भनेर छोरीहरुनै अघि सरेको बताइएको छ । ‘बाबाले हामीलाई सँधै छोराको व्यवहार गर्नुभयो, अनि अहिले आएर चाहीँ हामी किन पन्छिने, स्वेच्छाले आफँै कोरामा बस्यौँ ।’ कान्छी छोरी युनिकाले थप प्रष्ट पारिन् । उनीहरुले हिन्दु संस्कार अनुसारनै काजकिरिया गरिरहेका छन् । पण्डित पनि बाहुननै राखेका छन् । अशोककी जेठी छोरी भिषा अष्ट्रेलियामा रहेर हाल दमकमा आएकी हुन् भने माईली सोफिया नर्स र कान्छी युनिका सामाजिक कार्यमा स्नातक गरेर राजधानी काठमाडौंमा सेवा कार्य गरिरहेकी छन् । स्वर्गीय अशोकले गुरुङ लेख्नुमा भने रोचक कहानी छ, उनका बुवा स्वर्गीय मिरबहादुर श्रेष्ठले भारतमा नोकरी गर्न जाँदा आफ्नो थर गुरुङ लेखाएका थिए । वास्तवमा उनी नेवार जातिका श्रेष्ठ थरी हुन् । मिरबहादुर र उनकी श्रीमती कलावती दमकमा कहलिएका सामाजिक व्यक्ति थिए । मिरबहादुर दमक थानाका थानेदार पनि थिए । भारतमा नोकरीमा लाग्न सजिलो हुन्छ भनेर आफ्नो थर गुरुङ लेखाएका मिरबहादुरले नेपालमा पनि नागरिकताको थर गुरुङनै लेखाए, त्यसपछि त उनी र उनको परिवारलाई सबैले गुरुङनै भन्ने थाले । तर वास्तविकतामा भने उनीहरु नेवार जातिका श्रेष्ठ हुन्  । उनीहरुको धर्म र संस्कार भने नेवार जातिकै छ । मिरबहादुरका दुई छोरामध्ये अशोक जेठा थिए भने कान्छा संजय छन् । अशोकको भने ब्रेन ह्यामरेजका कारण असामयिक निधन भएको परिवारले बताएको छ । उनी २०२५ साल पुष २५ गते बाबु मिरबहादुर र आमा कलावतीका जेठा छोराका रुपमा जन्मिएका थिए ।

Author

You may also like