दमक/ होटल ब्यवसायी संघ दमकको आयोजनामा बिहीबारदेखि दमकमा नवौं फुड फेष्टिबल शुरु भएको छ । पशुहाट छेउमा शुरु भएको फेष्टिबलको दमक नगरपालिका प्रमुख राम कुमार थापाले उदघाटन गरे । उदघाटन कार्यक्रममा नगर प्रमुख थापाले होटल ब्यवसायीहरुलाई दमकको पर्यटन विकासका लागि दीर्घकालीन खाकासहित अघि बढ्न सुझाव दिए ।
उनले ब्यवसायीहरुले ल्याएको खाकामा स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भूमिका निभाउन तयार रहेको बताए । एक अर्को प्रसंगमा थापाले दमक नगरपालिकाले लक्ष्य अनुसार आन्तरिक आम्दानी गर्न नसकेको र केन्द्रबाट समेत प्रक्षेपण गरिए अनुसार बजेट प्राप्त नभएको उल्लेख गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, होटल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रविन गौतम, सचिव राजु अधिकारी, नाटाका अध्यक्ष उदय श्रेष्ठ, होटल ब्यवसायी संघका प्रदेश अध्यक्ष राजेन्द्र दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका दमक अध्यक्ष योगराज दंगालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य राज कुमार गौतम र कार्यक्रम संचालन भुपेन्द्र न्यौपानेले गरेका थिए । फेस्टीबलमा विभिन्न जातजातिको खानाका परिकारसहित कुल ३५ ब्यावसायिक स्टल रहेका छन् । फेष्टिबल यही फागुन १९ गतेसम्म संचालन हुने छ । फेष्टिबलमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।