दमक/ कृषिलाई प्राथमिकता राखेर यस वर्षदेखि अध्यक्षसंग कृषक कार्यक्रम ल्याएको झापाको कमल गाउँपालिकाले तोरी खेतीमा किसानहरुको आकर्षण बढाएको छ । बजारमा अघिल्लो वर्ष तोरी र तोरीबाट उत्पादित तेलको मूल्य अचाक्ली बढेको थियो । बजारमा तोरीको मूल्य आकाशिएको र आप्mनै बारीमा उत्पादन भएको तोरीको खानेतेल स्वास्थ्यका दृष्टिकोणबाट समेत स्वस्थ्यकर हुने भएकाले गाउँपालिकालाई तोरी तेलमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम कार्यान्वयन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कृषि शाखा प्राविधिक प्रेम पोखरेलले यस वर्ष गाउँपालिकाले किसानलाई तोरी खेतीमा आकर्षित गर्न कम्तीमा हरेक वडाको एक ÷एक टोलमा उन्नती र मोरङ २ प्रजातिको तोरीको बिउ उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पालिकाको ७ वटै वडामा कूल ४ सय केजी बीउ तोरी अनुदानमा उपलब्ध गराएपछि किसानले लगाएको तोरी खेती अहिले लोभलाग्दो देखिएको हो । पोखरेलका अनुसार यो बर्ष कमल गाउँपालिकाका सबै वडा मध्ये वडा नं १ मा सबैभन्दा धेरै खेती गरिएको छ । यो वर्ष सबै वडामा गरी करिव ५ सय हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको उनले जानकारी दिए । तोरी फुलेको दृश्यले अहिले कमल गाउँपालिका क्षेत्रनै आकर्षक देखिएको छ । बाटो हिंडनेहरु कैंयौंले आफनो मोबाइलमा तोरी फुलेको दृश्य फोटो कैद गर्न भ्याउने गरेको कमल २ का वडाअध्यक्ष अशोक लिम्बूले बताए ।
कृषि प्राविधिक पोखरेलका अनुसार तोरी खेतीतर्फ किसानलाई व्यवसायिक रुपमा आर्कषण गराउन वडा–वडाबाट एक÷एक वटा टोललाई छनौट गरेर ७ केजीका दरले बीउ तोरी उपलब्ध गरिएको छ । अनुदानमा तोरीको वीउँ पाएपछि किसानले नगदे बालीका रुपमा विस्तारै यो खेती गर्न थालेको उनको भनाई छ । सबै वडाका घरैपिच्छे तोरी खेती गर्न थालिएपछि घरायसी उपभोगमात्र नभएर धेरै भएका तोरी विक्री गरेर आम्दानी लिन समेत थालेको हुन् । गाउँपालिकाबाट मूल बिउ तोरी लिएर खेती लगाएका किसान सुरेन्द्र राय यसबर्ष तोरी खेतीको उत्पादन राम्रो हुने आशा गरेको बताउँछन् । गाउँपालिकाले यस पटक वितरण गरेको बीउ तोरीको उत्पादन अर्को बर्ष बीउका रुपमा अन्य किसानहरुले पनि खेतीका रुपमा लगाएका छन्, यसले अर्को बर्ष कमलमा अझै तोरी खेती बढने अनुमान कृषि शाखाको छ । कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले कमलका किसानहरु विस्तारै तेलहनका लागि तोरीको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएको बताउँछन् । तोरी खेती हराईसकेको तथा किनेर खाँदैआएका तेलको उपभोग्य दृष्टिले स्वस्थ्यकर समेत नहुने हुँदा तेलका लागि भएपनि कमलका किसानहरुलाई आत्मनिर्भर बनाउन तोरी खेती प्रवद्र्धनमा जोड दिएको उनको भनाई छ । गत वर्ष बजारमा तोरीको मूल्य प्रतिमन रु ७ हजार रुपैयाँसम्म पुगेको थियो । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले कमल गाउँपालिकालाई तोरी खेतीतर्फ आत्मनिर्भर बनाउन यसको व्यवसायिक खेतीमा सहयोग पु¥याउँदैआएको बताए । उनले भने, –‘सबैलाई तोरी खेतीमा आकर्षित गरेर तोरीको तेलमा गाउँपालिकालाई मात्रै होइन, तेलहनको आयातलाई समेत प्रतिस्थापन गर्न पनि यसले मद्दत पु¥याउने विश्वास गरेका छौं ।’