मुख्य

अन्तरधार्मिक संस्थाबीच आत्मीय सम्बन्ध जरुरी

दमक/ समाजमा शान्ति र सद्भावका लागि अन्तरधार्मिक संघसंस्थाहरुबीचमा आत्मीय सम्बन्ध र सामाजिक जिम्मेवारी हुन आवश्यक रहेको बुधबार दमकमा आयोजित धार्मिक अगुवाहरुले बताएका छन् । अन्तरधार्मिक सञ्जाल (सिडिएफ) मोरङको आयोजना र दमक नगर इसाई समाजको व्यवस्थापनमा दमकस्थित होटल फाइनमा आयोजित कार्यक्रममा सहभागि धार्मिक अगुवाहरुले यस्तो बताएका हुन् । अन्तरधार्मिक प्रवचन कार्यक्रममा इस्लाम धर्मका अगुवा मौलना महमदले मानव अधिकारको सम्मान र हिंसा रहित समाज निर्माणमा धर्मशास्त्र कुरानमा उल्लेख भएका विषयलाई जोड दिए । उनले जीवन र मृत्यूमा आधारित अनेकौं प्रकारका अनुशासन, प्रेम, करुणा, जिम्मेवारी, समानता, सदभावका निम्ति इस्लाम धर्मशास्त्र कु्रानले मानव जातिलाई निर्देशित गरिरहेको बताए ।  इसाई समाजका अगुवा पाष्टर राजकुमार राईले धर्मशास्त्र बाइबलमा हाम्रो जीवनदेखि मृत्युबीचमा समाज र राष्ट्रका निम्ति असल कर्म, अनुशासन, जिम्मेवारी, कतव्र्यबोध, प्रेम, समानता र सदभावका निम्ति धेरै खालका दर्शनहरु रहेको बताए  । उनले बाइबलमा जाति, लिङ्ग र वर्गको कारण कसैलाई भेदभाव नगरिएको प्रष्ट पारे । बाइबलमा सबै मानव जाति वा समुदाय बराबार र बराबर अधिकारको कुरालाई उल्लेख गरेको छ, पाष्टर राईले भने–हामी सवै जात, धर्म, लिङ्ग वा बर्गबीचमा पनि बराबर प्रेम र सदभाव हुन आवश्यक छ ।
किराँत धर्मका तर्फबाट अगुवा बालकुमारी लिम्बूले किरात धर्मशास्त्र मुन्धुममा प्रकृति र जीवन दर्शनसंग आधारित संस्कार र संस्कृतिलाई पालना गरिआएको बताइन् । उनले किराँत धर्ममा महिला र पुरुष बराबर अधिकार भएको स्मरण गराइन् ।   बौद्ध धर्मका तर्फबाट लामा सोनम थोकरले शान्ति र सद्भावका लागि हामी मानव जातिमा मैत्री, करुणा, आनन्द र समानता हुन जरुरी रहेको बताए ।  हिन्दु धर्मका तर्फबाट अगुवा राजेन्द्रप्रसाद ढकालले आदिम समय र समाजदेखि अहिलेको आधुनिक समाज निर्माणमा अनेकौ भाषा, धर्म र संस्कार–संस्कृतिमा आस्था राख्नेहरुको योगदान भएको भन्दै अबको समाजमा पनि तिनै सद्भावलाई कायम राखेर अघि बढ्न आवश्यक रहेको बताए ।
 अन्तर धार्मिक शान्ति सञ्जाल मोरङका अध्यक्ष रामचन्द्र बुढाथोकीको अध्यक्षतामा सो प्रवचन कार्यक्रम भएको हो । सो कार्यक्रमको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गरेकी थिइन् ।  कार्यक्रमको उद्घाटनपछि नगर उपप्रमुख भट्टराईले जात वा धर्मका कारणले कोही पनि सानो वा ठूलो हुन नसक्ने भन्दैं धार्मिक संघसंस्थाहरुबीच अगुवाहरुको सामूहिक छलफलले समाजलाई सकारात्मक दिशातर्फ लैजानेमा आशावादी रहेको बताइन् ।
त्यस्तैं, कार्यक्रममा दमक–५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ, अन्तरधार्मिक शान्ति महासंघ केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, अन्तर धार्मिक शान्ति सञ्जाल प्रदेश १ का अध्यक्ष शम्भु अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न धार्मिक संघसंस्था, जातीय संघसंस्था र पत्रकारहरुको सहभागिता थियो । दमक नगर इसाई समाजका अध्यक्ष समेत रहेका अन्तरधार्मिक प्रवचन कार्यक्रमको व्यवस्थापनका संयोजक पाष्टर आकाश थुलुङ राईले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सिडिएफका कार्यालय प्रमुख नरबहादुर लिम्बूले सञ्चालन गरेका थिए  ।
 

Author

You may also like