दमक/ झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले खेलकूद सप्ताह बिहीबार समापन गरेको छ । खेलकूद सप्ताहमा कक्षा १ देखि १० सम्म ३ दिन र कक्षा ११ र १२ सम्म चार दिन गरी जम्मा सात दिन विभिन्न खालका प्रतियोगितात्मक खेलहरु आयोजना गरिएका थिए ।
सो सप्ताहको कार्यक्रम विद्यार्थीहरुको शारीरिक एवं मानसिक विकासका लागि सहयोग पुग्नेगरी आयोजना गरिएको विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले जानकारी गराए । गत मंसिर २० गतेदेखि शुरु भएको सो प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, छेलो, कपर्दी, लङजम्प, दौड, टेबल टेनिस, हण्डिफोर, चेस, म्युजिकल चियर लगायतका खेलहरु खेलाइएको जानकारी गराइएको छ । खेलकुद प्रतियोगिता कक्षा ५ देखि १० सम्म दमक–३ स्थित हंसेदुम्सेको खेल मैदानमा, कक्षा १ देखि ४ सम्म विद्यालय प्राङ्गणमा तथा कक्षा ११ र १२ को कमल–५ स्थित आदिवासी रंगशालामा गराइएको निम्न माध्यमिक इन्चार्ज शिक्षक दुर्गा आचार्यले जानकारी गराए । कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई चम्ची रेस, विस्कुट रेस, फ्रग जम्प, म्याथ रेस, निडल थ्रेड लगायतका खेलहरु खेलाइएको प्राथमिक तहका इन्चार्ज कमला पौडेलले जानकारी गराइन् । खेलकुद प्रतियोगितका सबै कार्यक्रमहरु सहायक प्रधानाध्यापक कृष्ण प्रसाद गुरागाई र खेल शिक्षक भानुप्रताप न्यौपानेको नेतृत्वमा गराइएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी नगद र ट्रफी, प्रमाण पत्र सहितले पुरस्कृत गरिने सोही विद्यालयका शिक्षक केपी शिवाकोटीले जानकारी गराए ।