दमक/ नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सो पार्टीका तर्फबाट प्रदेश नं. १ को सांसदमा निर्वाचित हिक्मतकुमार कार्कीले वर्तमान अवस्थामा देशको अर्थतन्त्र चुनौतीपूर्ण र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । झापाको कमल गाउँपालिका–३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा समापन कार्यक्रमको उद्घाटन गरेपश्चात् प्रमुख अतिथिका रुपमा शुभकामना मन्तव्य राख्दै नेता कार्कीले सो कुरा बताएका हुन् ।
उनले विगतको एमाले सरकारले बैंकिङ क्षेत्रमा लिएको मर्जरको नीतिका कारण हाल सो क्षेत्र केही बलियो बनेको तर सहकारी क्षेत्र भने आफ्नो मूल्य, मान्यता र उद्देश्यभन्दा बाहिर गएर चल्नखोज्दा समस्या देखापरेको बताए । सहकारी क्षेत्रमा पनि मर्जरको नीतिलाई अघि बढाइरहेको अवस्थामा केही ठूला सहकारीहरुमा देखिएको संकटले शेयर सदस्य र सर्वसाधारणलाई अन्यौलमा पारेको उनको भनाई छ । आफ्नो हैसियतभन्दा माथिको काम गर्दा र घाँटी हेरेर हाड निल्ुनपर्छ भनेअनुसार काम नगर्दा र सहकारीका संचालकहरुबाटै भनेअनुसार कामकारवाही नहुँदा समस्या आएको आफ्नो जानकारीमा आएको उनले सुनाए । तर अब आगामी पुषको पहिलो साताभित्र संभवत ः केन्द्र र प्रदेश सरकार बन्ने र त्यो एमालेको नेतृत्वमा बने सहकारी क्षेत्रका समस्या समाधान गर्न र ट्«याकमा ल्याउन सोही अनुसारका कानुनहरु निर्माण गर्ने प्रतिवद्धता जाहेर गरे ।
सहकारीहरुले कृषि क्षेत्रको उत्पादकत्व बढाउन, बजारीकरणको व्यवस्था गर्न, रोजगारी सिर्जना गर्न, आयात घटाउन र स्वदेशमै प्राप्त हुने कच्चा पदार्थको प्रयोग गरी चल्ले उद्योगधन्दा चलाए देशको अर्थतन्त्र सुध्रिने समेत उनले बताए । उनले तर अहिले अनुत्पादक क्षेत्र र विदेशी बस्तुहरुमा बढी लगानी भइरहेको र त्यसबाट देश क्रमशः दुर्घटनातर्फ जाने चेतावनी समेत दिए । कार्यक्रममा झापा जिल्ला सहकारी संघका लेखा तथा सुपरिवेक्षण समितिको संयोजक चूडामणि ओझाले सहकारीका सिद्धान्तअनुसार नचल्दा समस्या आएको र सहकारीको कतिपय मान्यताहरुमा पुनर्विचार गर्नुपर्ने खाँचो समेत रहेको आवश्यकता औंल्याए । उनले सहकारीबाट ऋण लिने तर बचत नगर्ने बानीले पनि सहकारीहरु समस्यामा परेको उनले गुनासो गरे । तरपनि उनले समस्यामा परेका सहकारी संस्थाहरुलाई पहिलेकै स्थितिमा फर्काउन जिल्ला संघले सहयोग र समन्वयकारी भूमिका खेलिरहेको समेत खुलाए । पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले आफूहरुको संस्था हाल संकटमा परेपनि स्थिर सम्पत्ति र केही सहकारी संस्थाहरुको सहयोगका कारण पूर्ववत अवस्थामा फर्किने विश्वास व्यक्त गरे । कमल गाउँपालिका–३ का वडाध्यक्ष अग्नीप्रसाद कोइरालाले हाल केही ठूला सहकारी संस्थाहरु समस्यामा परेको देखिएपनि त्यसको समाधान खोज्ने र संरक्षण गर्ने दायित्व सबै सरोकारवालाहरुको भएको मन्तव्य राखे ।
कार्यक्रममा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले वार्षिक प्रतिवेदन पेश गर्दै हाल संस्थामा १७ हजार ६६६ जना शेयर सदस्य रहेको, गत आवको शेयर पुँजी १३ करोड ४६ लाख ४ हजार ४ सय, निक्षेप ४७ करोड १९ लाख ६६ हजार १४३, कर्जा लगानी १ अर्व १ करोड ६९ लाख ८ हजार ६३ र खुद आम्दानी २१ करोड ६८ लाख ३ हजार ३६३ रुपैयाँ रहेको जानकारी गराए । २७ जना शेयर सदस्यबाट २०५५ साल साउन १ गतेबाट शुरु गरिएको सो सहकारीका हाल झापाको केर्खा, दमक, सुरुङ्गा, शिवगञ्ज, विर्तामोड, बुधबारे, धुलाबारी, ग्वालडुब्बा र बनियानी तथा मोरङको मधुमल्ला र उर्लाबारीमा गरी जम्मा ११ वटा सेवा केन्द्रहरु रहेका छन् । सो सहकारीले लघुवित्त सेवा समेत प्रदान गर्दै आएको छ । संचालक सदस्य शान्तादेवी बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष बलराम गजुरेलले गरेका थिए । नवोदयले ११ वटै सेवा केन्द्रमा इकाइगत साधारण सभा गरी आइतबार कमल–५ को पाडाजुँगीस्थित रोड स्टार पार्टी प्यालेसमा साधारणसभाको समापन गरेको हो । कार्यक्रममा वडाध्यक्षहरु क्रमशः कमल–५ का लालबहादुर विष्ट र कमल–६ का नरेन्द्र प्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।