दमक/झापाको दमक अस्पताल जिल्लाको माईपश्चिमको स्वास्थ्य बीमाको कार्यक्रम लागु भएको एकमात्र सरकारी अस्पताल हो । यो अस्पतालमा प्रथम विन्दुको अस्पताल भएकाले दैनिक ८ सयभन्दा बढी विरामीहरु उपचारका लागि आउने गर्दछन् । तर विरामीको चाप धान्न भौतिक संरचना अर्थात् ठाउँ अभाव हुँदा अहिले उपचारार्थ आउनेहरुले सास्ती खेप्नु परिरहेको छ ।
सो अस्पतालमा झापाको माईपश्चिमका पालिकाहरु शिवसताक्षी, कमल, गौरादह र दमक तथा इलामको चुलाचुली गाउँपालिकाबाट विरामीहरु आउने गर्दछन् । स्वास्थ्य बीमाको सेवा तथा सुविधा उपभोग गर्न बिरामीहरुले दमक अस्पतालनै आउनुपर्ने व्यवस्था गरिएको छ । यसो हुँदा उल्लिखित संख्यामा विरामीहरु आउने गरेको सो अस्पतालकी सूचना अधिकारी देवकुमारी दंगाल जानकारी गराउँछिन् । अस्पतालमा अहिले १६ जना विशेषज्ञ र ७ जना एमबीबीएस डाक्टर गरी जम्मा २३ जना चिकित्सकहरु कार्यरत छन् । तर पनि उपचारका लागि तीन दिन धाउँदा पनि पालो नआएको दमक–१ की देवी विश्वकर्माले गुनासो गरिन् । ‘म तीन दिनदेखि अस्पताल आएको आयै छु, तर पनि अझै पालो आएको छैन ।’ उनले आफ्नो पत्थरियाको समस्या भएको तर पनि अस्पताल धाउँदा बेलामा चिकित्सकलाई जँचाउन नपाएको बताइन् । अर्की कमल–५ कि रिता गौतमले पनि अस्पतालमा अत्याधिक भीड हुने गरेको र बेलामा भनेको समयमा उपचार गर्न नपाइएको गुनासो गरिन् ।
हुन पनि अस्पतालमा ज्येष्ठ नागरिकहरुले पनि धेरै समय कुर्नुपरेको उनीहरुलाई ल्याउनेहरुले बताए । अहिले अस्पतालमा विहान ७ देखि ११ बजेसम्म नयाँ भर्नाको टिकटका लागि चार वटा काउण्टरहरु राखिएका छन् । तर विभिन्न परीक्षणका लागि बिल काट्न भने एउटा मात्र काउण्टर राखिएकाले विरामीको पालो ढिलो आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । नयाँ भवनमा सरेपछि विभिन्न परीक्षणका लागि बिल काट्ने काउण्टरको संख्या पनि बढाइने र त्यसपछि भने विरामीले सास्ती भोग्नु नपर्ने सूचना अधिकारी दंगालले प्रष्ट पारिन् । त्यसका लागि नयाँ भवनमा यही बैशाख महिना भित्र सर्ने र ठाउँ अभावको समस्या हट्ने उनको भनाई छ । नयाँ भवनमा सरेपछि अस्पतालको स्तरोन्नति गरी ५० बेडको अस्पताल बनाउने गरी तयारी भइरहेको पनि जानकारी गराइएको छ । त्यसका लागि प्रदेश नम्वर १ को सामाजिक विकास मन्त्रालयमा प्रस्ताव पेश भएको तर कहिले स्वीकृति आउँछ भनेर अहिल्यै भन्न सकिने स्थिति नरहेको अस्पताल प्रशासनले जनाएको छ । हाल सो अस्पताल १५ बेडको मात्र रहेको छ ।
सो अस्पतालमा रगत, एक्स–रे, लगायतका सबै प्रकारका जाँचहरु हुने गरेको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र प्रसाद भट्टराईले बताए । त्यस्तै ७२ प्रकारका औषधिहरु सहित स्वास्थ्य बीमा बोर्डले तोकेका धेरैजसो औषधिहरु पनि निःशुल्क प्रदान गरिने गरेको जानकारी गराइएको छ । अस्पतालमा हाड जोर्नी तथा नशा, स्त्री रोग, छाला तथा यौन रोग, फिजिसियन, दन्त रोग, बेहोस पार्ने (एनस्थेसिया), महिनामा एकपटक मानसिक रोग लगायतको सेवा उपलब्ध हुने गरेको छ । त्यस्तै रेडियोलोजिष्ट (भिडियो एक्स–रे) सेवा पनि रहेको छ ।
यसका साथै अस्पतालले अहिले विरामीको मागअनुसार दमकका स्थानीय निजी तथा मोरङको विराटनगर र सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यकताअनुसार रिफर गरिरहेको छ । सो अस्पतालमा उपचार संभव नभए अन्य स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालहरुमा रिफर गर्ने काम नरोकिएको पनि सूचना अधिकारी दंगालले स्पष्ट पारिन् । रिफर दिने कुरामा कुनै समस्या छैन । तर यहाँ उपलब्ध भएको सेवा र विशेषज्ञ डाक्टरहरु जसमा सर्जन पनि हुनुहुन्छ, उहाँहरुले सकेसम्म यहीँ उपचार सेवा दिँदा विरामीहरुलाई पनि सहज भएको बताइएको छ । रोगको निदान यहीँबाट हुने कुराले आफूहरुलाई ढुक्क बनाएपनि व्यवस्थापनमा सुधार गरेर सास्ती नहुने अवस्था सिर्जना गर्ने हो भने त्यसको सबैले स्वागत गर्ने कतिपय सेवाग्राहीको भनाई रहेको छ । तर उपचार र जाँचमा ढिलासुस्ती हुने कुरामा भने अस्पताल प्रशासनले ध्यान पु¥याउनु पर्ने उनीहरुको सुझाव पनि छ ।