दमक/ इलाम र पाँचथरका ग्रामीण बस्तीलाई तराईसँग जोड्ने छोटो दूरीको बहुप्रतिक्षित सडकले अब भने सार्थकता पाउने भएको छ । झापाको दमकदेखि सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक स्तरोन्नती भएपछि स्थानीय हर्षित भएका छन् ।
सडक निर्माणको कार्यले तिव्रता पाएसँगै अब आवागमनमा सहज हुनेमा स्थानीय आशावादी देखिएका छन् । वषौंदेखि सडकको समस्या झेल्दै आएका स्थानीयले अब भने आवागमनमा सहज हुने संकेत मिलेको बताए । बाँझोका स्थानीय विशाल राईले भने– ‘वर्षौंदेखिको समस्या अब समाधान हुने भएको छ, इलाम र पाँचथर जिल्लाका बासिन्दाले पाउँदै आएको सास्ती हटेर जानेमा हामी विश्वस्त छौं ।’ सडक बनेपछि पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दसँगै इलामको माङ्सेबुङ, फाकफोकथुम र चुलाचुली गाउँपालिकाबासीले प्रत्यक्ष लाभ लिन थालेका छन् । सडक पूरा हुनासाथ यस क्षेत्रका बासिन्दा बिरामी पर्दा झापा लैजान र वर्षायाममा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने इलाम फाकफोकथुम–३ का गणेश रेग्मी बताउँछन् ।
सडक निर्माण कार्यले हालसम्म ट्रयाक खोल्ने र पुल नभएका स्थानमा पुल, नाली र ग्रेडिङको काम अन्तिम चरणमा भइहेको उपभोक्ता समितिका अध्यक्ष रेवतराज (गगन) कपुरीले बताए । उनले भने–‘अब खोलाको बाटो हिंड्नु पर्ने बाध्यता अन्त्य भइसकेको छ, थप निर्माणकार्यलाई गुणस्तर बनाउँदै अघि बढ्नेछौं । निमाण कार्य सम्झौता अवधी अगावै सम्पन्न गर्ने र आगामी फागुन सम्ममा दमकदेखि चिसोपानीसम्म नै कालोपत्रे गरिसक्ने गरी काममा लागेका छौं, अहिले कालोपत्रेको पूर्व तयारीको कार्य धमाधम भइरहेको छ ।’
दुई अर्ब बढीको योजना रहेको सो सडकको पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर कालोपत्र गर्ने भनिएपनि २ किलोमिटर मात्रै सम्पन्न भएको छ । २२ करोड ५९ लाख रुपैयाँको लागतमा पहिलो खण्डमा, दोस्रो खण्डको १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख रुपैयाँमा र तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर ५९ करोड १५ लाख रुपैयाँमा कालोपत्रेका लागि ठेक्का भएको थियो । ठेक्का लागेबाहेक १४ किलोमिटर सडक क्षेत्रको भने स्तरोन्नति अन्तिम चरणमा पुगेको र स्तरोन्नतीको कार्य सकिए लगत्तै कालोपत्रेको कार्य अघि बढ्ने अध्यक्ष पुरीले बताए ।
सडक डिभिजन कार्यालय दमकले यो सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाएका कारण सफलता हाँसिल गर्न सकेको प्रतिक्रिया दिएको छ । झापाको दमकबाट इलामको चिसोपानीसम्म पुग्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्यको अनुगमन गर्ने क्रममा गुणस्तरलाई कायम राख्दै निमाणकार्यलाई तिव्रता दिने सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।
महाभारत पर्वतको दायाँबायाँ पर्ने इलाम र पाँचथरका बासिन्दाको तराई आवागमन सहज बनाउन २०४७ सालमा निर्माण सुरु गरिएको भएपनि सडक निर्माणको कामलाई तिब्रता दिन नसकेपछि सडक बन्न सकेको थिएन । पाँचथरको उत्तर दक्षिणी क्षेत्रका नागरिकले झापा आउजाउका लागि २०१५ सालदेखि नै गोरेटोका रूपमा प्रयोग गर्दै आएका थिए तर सरकारी तवरबाट सर्वेक्षण भने २०४७ सालमा मात्रै गरिएको हो ।
दमक–चिसोपानी–रवि नामक उक्त सडक तीन खण्डमा विभाजन गरेर स्तरोन्नतीको काम भइरहेको भएपनि दमकदेखि चिसोपानीसम्मको सडकमात्र यो योजनामा रहेको उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष सुशील राईले बताए ।
निर्माणाधिन सडकको योजना अनुसार काम नभएको र गुणस्तरीय सामग्री प्रयोग नगरेको स्थानीय जनगुनासो आएपछि सडक डिभिजन कार्यालय दमकको टोली, राजनीतिक दलका प्रतिनिधीहरु, पत्रकार र उपभोक्तासहितको टोलीले बुधवार निर्माण गुणस्तर र मापदण्ड अनुसार काम भए नभएकोबारे अनुगमन गरेको थियो । जनस्तरबाट यस्तो गुनासो आएपनि निर्माण कार्यमा प्रयोग भएका सबै सामग्री ल्याब टेष्ट गरेरमात्र प्रयोग गरिएकाले गुणस्तर निर्माणमा कुनै शंका नगर्न डिभिजन कार्यालय प्रमुख पौडेलले आग्रह गरेका छन् । निर्माण कार्य भइरहेका ठाउँमा पनि उपभोक्ताले प्रत्यक्ष निगरानी गरिरहेका छन् ।