दमक/ झापाको दमकमा दमक गोल्डकप फुटबल प्रतियोगिता–२०७८ हुने भएको छ । सो गोल्डकप यही चैत्र ९ देखि १८ गतेसम्म दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । गोल्डकपको आयोजना दमक नगरपालिकाको सहयोगमा दमक नगर खेलकुद विकास समितिले गर्न लागेको हो । मंगलबार सो समितिले पत्रकार मञ्च दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार सो प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा १० वटा टिमबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी हुने टिमहरुमा मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मानेभञ्ज्याङ दार्जिलिङ, महेन्द्र पुलिस क्लब, बागमती युवा क्लब, मनाङ–मस्र्याङ्दी क्लब, दुर्गापुर स्टील क्लब कोलकाता, क्यामरुन अफ्रिका फुटबल क्लब, फ्रेण्ड्स क्लब र आयोजक टिम दमक–११ रहनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई १३ लाख ११ हजार र दोस्रो हुने टिमलाई ६ लाख ११ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने दमक नगर खेलकुद विकास समितिको अध्यक्ष भिमराज केसी चौंलागाईले जानकारी गराए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिने पनि त्यसअवसरमा जानकारी गराइयो । कार्यक्रममा समितिका पूर्वअध्यक्ष केन्द्र प्रसाई र सदस्य सचिव डम्बरराज बरालले पनि बोलेका थिए । प्रतियोगिताका लागि अहिले खेल मैदान सम्याउने, प्याराफिट निर्माणलगायतको काम भइरहेको खेल संयोजक मिन मगरले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आर्थिक संयोजक चन्द्र खत्रीले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १ करोड २३ लाख बजेट खर्च हुने अनुमान गरिएको छ ।