समाचार

सिंहदेवी विद्यालयमा अक्षयकोष स्थापना

दमक/ झापाको कमल गाउँपालिका ७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफ्ना पिृतको स्मृतिमा १ लाख ५० हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । स्थानीय शान्ता केरुङ लिम्बूकी आमा स्व. गौमाया लिम्बू र दिदी स्व.हेमकुमारी लिम्बूको स्मृतिमा उनका परिवारजनले विद्यालयमा उक्त कोष स्थापना गरेका हुन् ।
विद्यालयमा बुधबार एक कार्यक्रम गरी दाता परिवारले उक्त कोषको रकम विद्यालयकी प्रधानाध्यापक इन्दिरादेवी खनाललाई हस्तान्तरण गरेको हो । दाता शान्तासहित उनका बुबा गणेश बहादुर, छोराहरु भिम, आइत, मोहन, ओमप्रकाश, विरहाङ र चेसुङ लिम्बूले आफ्नी आमा र छोरीको स्मृतिमा उक्त कोष राखेका हुन् ।
अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका पूर्व प्रअ सुरेन्द्र राईले विद्यालयमा सञ्चालनमा रहेका अक्षयकोषका बारेमा प्रकाश पारेका थिए । सहभागी वक्ताहरुले ५० वर्ष पुग्न लागेको यस विद्यालयको शैक्षिक विकासमा सकारात्मक सुधारका काम हुँदै गएको औँल्याएका थिए । उनीहरुले कक्षा ६ सम्म अंग्रेजी र नेपाली दुवै विषयमा पठन–पाठन हुँदैआएको यस विद्यालयको जग्गाधनीपूर्जा, घेराबाराको काम गर्न आवश्यक भएको समेत जनाएका थिए ।
विद्यालयकी शिक्षिका रुपा सुनुवारले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालय समन्वय समितिका सचिव सन्तोष राईले गरेका थिए । विद्यालयकी प्रअ खनालको अध्यक्षतामा भएको कार्यक्रममा विष्णुकठ्ठा टोल विकास संस्थाका अध्यक्ष अक्कलबहादुर गुरुङ, दाता परिवारका तर्फबाट विष्णु सुब्बालगायतले विद्यालयको सुधारका लागि यस्ता अक्षयकोषको महत्व हुने बताएका थिए । हालसम्म विद्यालयमा विभिन्न दाताले आठ वटा अक्षयकोष राखेको जनाईएको छ ।

 

Author

You may also like