काठमाडौँ/ पत्रकारहरु प्रेस काउन्सिल विरुद्ध संघर्ष समिति बनाएर आन्दोलित भएका छन् । काउन्सिलले हालै जारी गरेको २०७४÷७५ को पत्रिका वर्गीकरणको नतिजा भेद्भावपूर्ण र पूर्वाग्राही भएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।
निष्पक्ष ढंगले पुनर्वर्गीकरणको माग राख्दै देशैंभरका पत्रकार सङ्घर्षमा उत्रिएका हुन् । सङ्घर्ष समिति, पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले सोमबार प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएर कमजोरी नसच्याइए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
केन्द्रीय सङ्घर्ष समितिका संयोजक दीपक पाण्डे, काठमाडौँ शाखाका अध्यक्ष शान्तराम विडारी, ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति अध्यक्ष श्रेष्ठलाई बुझाएका हुन् । पत्रपत्रिकाको वार्षिक वर्गीकरण गर्ने सम्परीक्षण समिति र स्वयं प्रेस काउन्सिलको भूमिकाप्रति सरोकारवाला पक्षबाट निरन्तर प्रश्न उठ्नुले यसको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको विज्ञप्तिमा जनाइएको छ ।
‘यस पटकको नतिजा व्यक्ति केन्द्रित, पक्षपातपूर्ण, अपारदर्शी र पूर्वाग्रपूर्ण रहेको भन्ने व्यापक गुनासा नेपाल पत्रकार महासङ्घका देशैभरका शाखा कार्यालयमा प्राप्त भएका छन्’ विज्ञप्तिमा भनिएको छ । समयमै माग पूरा नगरे काउन्सिलका बेथितिविरुद्ध सङ्घर्षमा जान बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।
काठमाडौँ शाखाका अध्यक्ष विडारीले प्रेस काउन्सिलको यो निर्णयले धेरै संख्यामा पत्रकार र पत्रिका विस्थापित हुने खतरा रहेको बताए । ‘सानो त्रुटिलाई आधार बनाएर केहीलाई
हुबहु र केहीको दुई तहसम्म ग्रेड घटाइदिनाले पत्रकारको भावनामा चोट पुगेको छ’ उनले भने, ‘प्रेस काउन्सिलले सबै पत्रकार र मिडियालाई समान दृष्टिले हेर्न सक्नुपर्छ ।’
सङ्घर्ष समितिका संयोजक पाण्डेले प्रेस काउन्सिलका बोर्डमा रहेका व्यक्तिले सञ्चालन गरेका पत्रपत्रिका हुबहुमा परेका प्रमाण फेला परे पनि ग्रेड नघटाइएको बताए । ‘काउन्सिलले यो निर्णयलाई बदर नगरे देशैभरका पत्रकारलाई काठमाडौँ उतार्छौँ’, उनले भने, ‘अन्यायमा परेका पत्रकार आन्दोलनका लागि तयार छन् ।’
प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठले पुनरावलोकनका लागि बाटो खुला भएको भन्दै अपारदर्शीताको कुनै प्रमाण फेला परे लिखित रुपमा पेश गर्न आग्रह गरे । सङ्घर्ष समिति र शाखाले सूचना विभागका महानिर्देशक कृष्णमुरारी न्यौपाने र पत्रकार महाङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पनि ध्यानाकर्षण गराएका छन् । आचार्यले महासङ्घ केन्द्र सधैँ श्रमजीवी पत्रकारका पक्षमा रहेको भन्दै पत्रकारलाई परेको यो समस्यालाई सुल्झाउन आफू लागिपर्ने बताए ।