युध्दमा बहादुरी प्रदर्शन गरी भिक्टेरियाक्रस पाउने ज्यूदा नेपाली इतिहास रामबहादुर बेघा

पूर्वसन्देश

बेलायती सेनामा भर्ना भएर पाउने सर्वोच्च पद ‘भिक्टोरीया क्रस–भिसी’ पाउने वीर नेपालीमध्ये जिउँदा इतिहास हुन्, दमकका रामबहादुर बेघा लिम्बू । उनले पाएको वीरताको प्रतीकको सम्मानकै कारण उनी भिसी रामबहादुर बेघाको नामले परिचित छन् । वि.सं. १९९२ साल साउन २१ गते पाँचथरको च्याङ्थापुमा जन्मिएका उनी सन् १९५७ को नाभेम्बरमा बेलायती सेनामा भर्ना भएका थिए । त्यस बेलाको सम्झना गर्दै उनले सुनाए– ‘त्यस बेला गाउँघरमा गल्ला छिर्न सक्दैन थिए, परिवारका मान्छेले फौजीमा भर्ती हुन दिँदैनथे, त्यसैले गल्लावालाहरु गोठालो गएका बेला, बजार गएका बेला, हाट बजारमा केटाहरुलाई भेटेर फकाउने गर्थे ।’ उनी पनि त्यसै गरी गोठालोबाट फर्कँदै गरेका बेला गल्लावालाको नजरमा परे । तर उमेर २२ वर्ष पुगिसकेको थियो । त्यस बेला १९ वर्ष सम्मका जवानहरुलाई भर्ती लिने चलन थियो । ८ दशक पार गरेका भिसी बेघाले भर्ती हुँदाका दिन सुनाए, ‘एउटा गल्लावालाले २२ जना भेला पार्नु पथ्र्यो । पछि कुरा बुझ्दा उसका २२ जना पुगेनछन् । त्यसैले अलिक छिप्पिएको भए पनि मलाई लान खोजेको रहेछ ।’ घरमा थाहै नदिई उनी गल्लावालको पछि लागेर भर्ती हुन दार्जिलिङतर्फ लागे । दार्जिलिङबाट सानो रेलमा चढाएर सिलगुडी र सिलगुडीबाट ठुलो रेल हुँदै नौतनवामा रहेको भर्ती केन्द्र पु¥याए । तर उनीसँगै पुगेका २२ मध्ये उनीसहित ७ जना मात्र भर्ती लाग्न सफल भएको सुनाउँदा उनी उही उमेरको युवा जस्तै जोसिए ।
तीन वर्षपछि छुट्टीमा घर
घरमा थाहै नदिई गोर्खा सैनिकमा भर्ती हुँदै सिँगापुर तालिम केन्द्र पुगेका उनी ३ वर्षपछि छुट्टिमा घर आए । घर आउँदा साथमा २२ सय रुपैयाँ भारु बोकेर ल्याएका थिए । केही समय त गाउँमा मस्तीमै बित्यो । छुट्टीका दिन सुनाउँदै उनी रौसिए, ‘पैसा ल्याएकै थियो, ऊ बेला कति नै खर्च हुन्थ्यो र २ आना बोत्तलमा रक्सी पाइन्थ्यो । हाट–मेला गयो, धान नाच्यो, रमाइलो ग¥यो त्यस्तै त हो नि रमाइलो । एक रुपैयाँ लिएर बजार गयो भने खाई नसकेर फर्काइन्थ्यो, पैसाको भ्यालु थियो नि त्यस बेला ।’ त्यसपछि पाँचथर थर्पूकी टीकामाया इम्बुङसँग अर्कोसाल लगनगाँठो कसियो, एक वर्षपछि वि.सं. २०१८ सालमा छोरा जन्मिए । अनि सुरु भयो, फौजी जीवनसँगै पारिवारिक जिम्मेवारी पनि ।
काललाई जितेको त्यो दिन
उनको जीवनमा दुस्मनले बममा पोको पारेर फालेको काललाई जितेको दिन थियो, सन् १९६५ को नोभेम्बर २१ । तत्कालीन मलाया र इन्डोनेसिया बीच ‘सर्वाक’ भूमिको विषयलाई लिएर भीषण युद्ध भयो । रामबहादुर बेघा त्यहीँ युद्धमोर्चामा थिए बेलायती सेनाका तर्फबाट । त्यहाँको युद्धमा बेलायती सेनातर्फ ३ जनाको मृत्यु भयो र दुईजना घाइते भए । आफ्नै आँखा अगाडि सहकर्मीहरु ढलिरहँदा पनि उनको साहस र हिम्मत ढलेन । आफ्ना घाइते साथीहरुको उद्धार गर्दै उनी दुश्मनसँग लगातार लडिरहे । काललाई जितेको त्यो दिनको सम्झना सुनाए उनले, ‘त्यस बेला त लगातार दुस्मनले आक्रमण गरिरहेको थियो, लड्नु र मर्नुबाहेक अरु केही थिएन तर आफ्नै साथीहरु पनि केही मरेको र घाइते भएकाले उनीहरुलाई जोगाउनु पनि परेको थियो । त्यसै बेला त इन्डो सेना कति मरे केही थाए भएन तर पनि सुन्दा उतातिर २४ जना मरेको सुनियो ।’
गर्वले छाती फुल्दा
मलाया–इन्डो युद्धमा लडिरहँदा केही साथी जोगाउन र आफू पनि जोगिन पाउनु नै उनको लागि सर्वोपरि थियो । तर भीषण युद्धहरुमा बहादुरी प्रदर्शन गर्नेहरुलाई बेलायती महारानीले उच्च पदक दिने चलन पनि थियो । उनले चाँहि त्यो पदक पाउने कुनै आशा पनि गरेका थिएनन् । पदक पाउने आशाले नभई एउटा जिम्मेवारीले गर्दा दुस्मनसामु डटेको सुनाउने उनको नाम जब बेलायती सेनाको सर्वोच्च सम्मान सहितको पदक भिक्टोरिया क्रस पाउनेका सूचीमा रहेको थाह पाए तब गर्वले छाती फुलेको थियो । त्यो क्षण सुनाउँदा उनी अझै पनि उस्तै ऊर्जा देखाउँछन् । त्यही युद्धमा सहासका साथ दुस्मनको सामना गरेर युद्ध नायक बनेकै कारण उनलाई बेलायती महारानी द्वितीय एलिजावेथले सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस प्रदान गरिन्, १२ जुलाइ सन् १९६६ मा । त्यही दिनबाट लन्स कप्रोल बेला भिसी बेघाको रुपमा स्थापित भए । सन् १९८५ को मार्चमा बेलायती सेनाबाट निवृत्त भएर उनी गाउँ फर्किए । त्यसको केही समय पछि उनी ब्रुनाई सुल्तानको सुरक्षाकर्मीका रुपमा सेवा गर्न त्यसतर्फ लागे । ब्रुनाईमा ७ वर्षको सेवापछि नेपाल फर्किएर उनी पारिवारिक र सामाजिक जीवनमा सक्रिय रहँदै आएका छन् ।
सामाजिक काममा सक्रिय
बहादुरीपूर्ण फौजी जीवन र ब्रुनाईको सेवा अवधिसमेत सकेर नेपाल आएका उनी हालसम्म अविछिन्न रुपमा सामाजिक काममा सक्रिय छन् । उनकै अगुवाइ र साथ सहयोगले विभिन्न स्थानमा बाटो, माङ्हिम, विद्यालय लगायतका पूर्वाधारहरु निर्माण भएका छन् । भिक्टोरिया क्रस जस्ता उच्च सम्मान पाउने व्यक्तिलाई बेलायतले सबै प्रकारको सहयोग गरेर आफ्नै देशमा राख्न सक्ने भए पनि उनलाई मातृभूमि प्रतिको मायाले त्यता रहिरहन दिएन । उनी अझै पनि नेपाली गौरवपूर्ण वीरताको जिउँदो इतिहास बनेर प्रेरणा दिइरहेका छन् ।
उनै व्यक्तिको यही मङ्सिर ४ र ५ गते दुईदिन जन्मवर्ष ८४ पुगेको अवसरमा परिवारहरुबाट दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै विविध कार्यक्रमको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published.