समाचार

निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल

दमक/ झापामा मंगलबार देखि मानिसहरुको चहलपहल बढेको छ । चाडपर्व पनि नजिकिएसंगै खुकुलो पारिएको यो निषेधाज्ञामा दुई सिफ्टमा बजार खुला गरिएको छ । बिहान ६ देखि १० सम्म र १० बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खुला गर्न अनुमति दिएपछि झापाका प्रमुख बजारहरुमा मात्र होइन, भित्री बजारहरुमा समेत मानिसहरुको आवतजावत बढेको छ भने जनजीवन सामान्य बन्दै गएको पाइएको छ ।
दमक, विर्तामोड, सुरुङ्गा, काँकडभिट्टा, गौरादह लगायतका बजारमा सबै खाले सवारी साधनहरु गुड्न थालेका छन् भने ति सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको संख्या पनि बढेको छ । व्यापार व्यवसाय खुलेपछि व्यापारीहरु पनि केही मात्रमा हर्षित भएका छन् भने उपभोक्तालाई पनि आवश्यक बस्तु तथा सामानहरु खरिद गर्नमा सजिलो भएको छ । बजारमा धेरै भीडभाड नहुने गरी स्थानीय प्रशासनले फरक फरक समयमा व्यापार व्यवसाय खोल्न दिएकोमा व्यापारीहरु पनि केही खुशी देखिएका छन् । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले झापा प्रशासनले गरेको निर्णयको स्वागत गर्दै आगामी दिनमा निषेधाज्ञा पूर्णरुपले खुलाउनु पर्ने बताए । उनले व्यापार व्यवसाय गर्दा सतर्कतापूर्वक गर्नुपर्ने र उपभोक्तालाई पनि सचेत रहन आग्रह गनुर््पर्ने बताए । केही समयको बन्दाबन्दी पछि खुकुलो पारिएको निषेधाज्ञाबाट सम्बन्धित सबैले सहज जीवनयापनका लागि लाभ लिन सक्नुपर्ने उनको भनाई छ ।
तर निषेधाज्ञा खुकुलो भयो भन्दैमा सावधानी नअपनाउने र लापरवाहीपूर्वक हिंड्डुल गर्न नहुने तर्फ उनले सबैलाई सचेत गराएका छन् । मास्क लागउने, सेनिटाइजर प्रयोग गर्ने या साबुनपानीले हात धुने र सामाजिक दूरी कायम गर्ने कुरामा पनि सबैले जोड दिनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । अहिले मुख्य गरी कोरोनाको संक्रमणबाट बच्नका लागि खोप लगाउनुपर्ने र त्यसको व्यवस्था सरकार र मातहतका स्थानीय तहहरुले गर्नुपर्ने उनको आग्रह छ ।
यता पूर्वसन्देश दैनिकले गरेको दमक बजार अवलोकनका क्रममा जिल्ला प्रशासनले तोकिएका व्यापार व्यवसायहरु खुलेको पाइयो भने बैंक तथा वित्तीय संस्थाहरुमा पनि सेवा प्रवाह भएको पाइएको छ । तर निषेधाज्ञा खुकुलो भएको पहिलो दिन भएकाले मानिसहरुको चहलपहल बढेपनि सामान्य अवस्थाको जस्तो भएको भने देखिएन ।

Author

You may also like